समूह चरणमा प्रवेश गर्न चर्च बोइजलाई पारोको चुनौती, जितेमा १ करोड ३४ लाख पाउने



बिजमाण्डू
२०८१ साउन २९ गते ०८:३१ | Aug 13, 2024
समूह चरणमा प्रवेश गर्न चर्च बोइजलाई पारोको चुनौती, जितेमा १ करोड ३४ लाख पाउने
शहीद स्मारक ए डिभिजन लिगका क्रममा चर्च बोइजका खेलाडीको सेलिब्रेसन। फाइल फोटो

काठमाडौं । एसियन फुटबल कन्फिडरेसन (एएफसी) च्यालेन्ज लिगको प्लेअफमा आज नेपाली लिग च्याम्पियन चर्च बोइज युनाइटेड र भुटानी च्याम्पियन पारो एफसीबीच प्रतिष्पर्धा हुँदैछ। दशरथ रंगशालामा आज साँझ ६ बजे खेल सुरु हुनेछ।

Tata
GBIME
Zonsen

आजको खेलमा विजयी हुने टोलीले प्रतियोगिताको समूह चरणमा स्थान बनाउनेछ। समूह चरणमा पुग्ने टोलीलाई एएफसीले १ लाख अमेरिकी डलर (१ करोड ३४ लाख रुपैयाँ) प्रदान गर्नेछ।

चर्च बोइज राष्ट्रिय टोलीका लगभग सबैजसो मुख्य खेलाडीलाई लिएर घरेलु मैदानको फाइदा उठाउने ध्येयमा छ। राष्ट्रिय टोलीमा प्रभावशाली प्रदर्शन गरिरहेका अनन्त तामाङसँगै अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, लाकेन लिम्बू, सनिस श्रेष्ठ लगायत प्रभावशाली खेलाडी चर्च बोइजमा छन्। चर्च बोइजले त्रिभुवन आर्मी क्लब र यू-२० टोलीसँग अभ्यास खेल खेलेको थियो।

अर्कोतर्फ ११ जना विदेशी खेलाडी लिएर नेपाल आएको पारो एफसीलाई पनि जितको धेरै दबाब छ। हाल लिग खेलिरहेको चार पटकको भुटानी लिग च्याम्पियन पारोसँग तीन पटक विश्वकपसमेत खेलेका जापानी धुरन्धर खेलाडी केइसुके होण्डालगायतका नेपालमा खेलिसकेका विदेशी खेलाडीको बलियो साथ छ।

इटलीको एसी मिलानलगायत ठूला क्लबहरुमा करियरको लामो समय बिताएका ३८ वर्षे होण्डाको अनुभव भुटानी टोलीका लागि बलियो पक्ष हुने देखिन्छ। यद्यपि, चर्च बोइजका कप्तान अनन्त तामाङले खेलाडी प्रोफाइलबाट नभएर मैदानमा डटेर सामना गर्ने बताएका छन्।  

जापानी स्टार केइसुके होण्डा। तस्बिर: एन्फा

पारोले तीन पटक एएफसी कपमा सहभागिता जनाए पनि समूह चरणमा पुग्न भने सकेको थिएन। अघिल्लो संस्करणको एएफसी कपमा पारो नेपालकै मछिन्द्र क्लबसँग दशरथ रंगशालामा ३-२ गोलअन्तरले पराजित भएको थियो।

पुष्पलाल शर्माको प्रशिक्षणमा रहेको पारोको आक्रमण पंक्ती सदाबाहर जापानी स्टार अट्याकिङ मिडफिल्डर केइसुके होण्डासँगै घानाका खेलाडी विलियम ओपोकु र रिचार्ड गेड्जमा निर्भर हुनेछ।

अर्कोतर्फ नेपाली क्लब चर्च बोइजले पहिलो पटक कन्टिनेन्टल फुटबलमा कदम राख्दैछ। अघिल्लो वर्षको लिग च्याम्पियन चर्च बोइजसँग नेपालको सफल प्रशिक्षक बालगोपाल महर्जन छन्। त्यस्तै, अघिल्लो ए डिभिजन लिगमा चर्च बोइज र नेपाल सुपर लिगमा ललितपुरलाई च्याम्पियन बनाएका अनन्त तामाङ नै कप्तानमा निरन्तर छन्। उनको उपस्थितिले चर्चको डिफेन्स लाइनलाई बलियो बनाउनेछ।

चर्च बोइजको विदेशी खेलाडीमा नाइजेरियाका ओमोलाजा नुरेइन करिम, जाम्बियाका पिटर बान्दा र घानाका मोसेस ग्याबा टुम छन्।

खेलको टिकट खल्ती डिजिटल वालेट मार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ। दशरथ रंगशालामा खेल हेर्न ‘जेनरल’तर्फको टिकट २०० र ‘भिआइपी’को टिकेट ५०० रुपैयाँ आयोजकले निर्धारण गरेको छ। खेलको लागि केल्मीको फिफाद्वारा स्वीकृत बल प्रयोग हुनेछ। नेपालको लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङ कम्पनीले बल प्रायोजन गरेको हो।

दशरथ रंगशालाको कमब्याक

आजको खेल दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता फिर्ता पाएपछिको पहिलो खेल हुनेछ। सुरक्षा, फर्ड लाइटको स्तर, पिचको स्थिति लगायत कारण देखाउँदै एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले अन्तर्राष्ट्रिय खेल गराउन योग्य नरहेको निष्कर्ष निकाल्दै मान्यता रद्द गरेको थियो।

दशरथ रंगशालाको फाइल फोटो ।

जस कारण नेपालले विश्वकप र एसिया कप छनोटका घरेलु मैदानमा खेल्नु पर्ने खेलहरू पनि विदेशमा गएर खेल्नु परेको थियो।नेपालमा हुनुपर्ने खेल विदेशमा गएपछि राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकअर्कालाई दोषारोपण गरेका थिए। यसमा युवा तथा खेलकुद मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको थियो।

अन्तर्राष्ट्रिय मान्यता गुमेपछि राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशालाको संरक्षण गर्न थालेको थियो। मापदण्ड पूरा गरेसँगै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघले अनुमति दिएको हो।

सम्बन्धित समाचार: दशरथ रंगशालाले पुन: पायो अन्तर्राष्ट्रिय मान्यता, एएफसी च्यालेन्ज लिगको खेल हुने पक्का

के हो एएफसी च्यालेन्ज लिग?

एएफसी च्यालेन्ज लिग एफएफसीको तेस्रो तहको प्रतियोगिता हो। यसको समूह चरणमा कुवेतको अल अरबी, तुर्किमेनिस्तानको एफसी अर्काडाक र लेबननको क्लबले समूह चरणमा सोझै स्थान बनाएका छन्। नेपाल लगायत १५ देशका क्लबले प्लेअफ खेल्दैछन्।

समूह चरणका लागि आधिकारिक ड्र अगस्ट २२ मा हुनेछ। समूह चरणबाट ८ टोली क्वाटरफाइनलमा पुग्नेछन्। जहाँ २०२५ को मार्च ५ देखि १३ सम्म डबल लेगमा खेल हुनेछ।

त्यस्तै अप्रिल ९ देखि १७ सम्म डबल लेगमै सेमिफाइनल हुनेछ। फाइनल म्याच मे १० मा हुनेछ। च्यालेन्ज लिगको विजेताले पुरस्कार रकम १७ करोड ४५ लाख रुपैयाँ हात पार्नेछ।

चर्च बोइजको टिम:

अनन्त तामाङ (कप्तान), एरिक विष्ट (उप कप्तान), अञ्जन विष्ट, आयुष घलान, लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बो कुमार चौधरी, सञ्जीव बिष्ट, छिरिङ्ग लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की, विवेक पौडेल, निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनिष कुमार जर्गा, आदित्य शाक्य, ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया), मोजेस ग्याबा त्वाम (घाना)