सञ्चार मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न गुरुङको निर्देशन, ‘हिरो मिसन’ प्राथमिकतामा



बिजमाण्डू
२०८१ साउन २८ गते १७:०६ | Aug 12, 2024
सञ्चार मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न गुरुङको निर्देशन, ‘हिरो मिसन’ प्राथमिकतामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन्। 

Tata
GBIME
Zonsen

आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा गुरुङले विषयगत मन्त्रालयको पुँजीगत खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेको बताएका थिए।

‘जुन देशमा पुँजीगत खर्च गर्न सकिँदैन, त्यस्तो देशमा विकासको सम्भावना कम हुन्छ. यो वर्ष हामीले खर्च गर्ने सामर्थ्य बढाउँछौं,’ उनले भने।

त्यसक्रममा उनले विकासका अवरोधका रुपमा पुराना ऐन, कानुन र नीति रहेको उल्लेख गरे। आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नुले पनि कार्यप्रगतिमा अवरोध भएको उनको भनाइ थियो । सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने र अनावश्यक निकाय कटौती गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रस्तुत प्रगति विवरण सुनेपछि मन्त्रालयअन्तर्गतका निकाय र विभागीय प्रतिनिधिसँग मन्त्री गुरुङले राजस्व बढाउनेतर्फ ध्यान दिन निर्देशन दिएका थिए।

राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, रेडियोे नेपाल, गोरखापत्रलगायत संस्थानका आफ्नै चलअचल सम्पत्तिको संरक्षण र परिचालन गर्न उनले निर्देशन दिए।

‘हामीले हाम्रै सम्पत्तिको संरक्षण र परिचालन गर्न नसकिरहेको अवस्था छ। चलअचल सम्पत्तिको भरपुर सदुपयोग गरेर राजस्व बढाउनेतर्फ ध्यान दिउँ,’ उनले भने।

राष्ट्र गौरवका योजनाहरुमध्ये ‘डिजिटल नेपाल’, ‘स्याटेलाइट’ र ‘सुरक्षण मुद्रण केन्द्र’ मा पनि उनको जोड थियो।

‘अबको विकास सूचना प्रविधिको हो। हामीले यी विषयलाई हिरो मिसन मानेका छौं,’ उनले भने। 

त्यसक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले समस्यामा अल्झिएर नभई समाधानसहितको बैठक बस्न आवश्यक रहेको बताएका थिए। उनले प्रविधि र रोजगारका विकासको सन्दर्भमा मन्त्रालयसँग आयोगले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा मन्त्रालयले हालसम्म गरेका नीतिगत तथा कानुनी सुधारसहित प्रविधिमा भएका उपलब्धिबारे समीक्षा गरिएको थियो। आमसञ्चार अन्तर्गत उपलब्धिहरुमा राष्ट्रिय समाचार समिति (रासस) ले अवधि भाषामा समाचर सेवा प्रारम्भ गरेको, एफटिपीमार्फत राससको श्रव्यदृश्य सेवा सम्प्रेषण सुरु भएको, रासस र कतार न्युज एजेन्सी (क्युएनए) बीच समाचार सामग्री आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको जानकारी दिइएको थियो।

यस्तै, कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको डिजिटल दशक बनाउने लक्ष्य पूरा गर्न सबै कर्मचारीबीच सहकार्यको अपेक्षा रहेको बताएकी थिइन्।