स्मार्टफोनमा भारतीय नीतिको सिधा असर नेपालमा, ‘अन्त:शुल्क नहटाए अवैध फोनले बजार ढाक्छ’



उन्नत सापकोटा
२०८१ साउन २० गते ०६:२५ | Aug 4, 2024
स्मार्टफोनमा भारतीय नीतिको सिधा असर नेपालमा, ‘अन्त:शुल्क नहटाए अवैध फोनले बजार ढाक्छ’

काठमाडौं। भारत सरकारले मोबाइल फोन आयातमा भन्सार शुल्क घटाएसँगै नेपालतर्फ अवैध पैठारी बढेको छ। भारतमा उसैपनि नेपालको भन्दा सस्तो मूल्यमा फोन पाइने भएकाले अधिक मात्रामा भन्सार छलेर स्मार्टफोन नेपाली बजारमा आइरहेको छ। नेपाल भारतबीचको खुला सीमा र दरिलो बजार अनुगमन नहुँदा बजारमा अवैध फोनको बिगबिगी छ। 

Tata
GBIME
Zonsen

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले भारत र नेपालमा अब मोबाइलको कर तथा भन्सार दर एउटै बनाउन ढिलो गर्न नहुने बताउँछन्। भारतमा बढ्दा बढाउने र घट्दा घटाउनुपर्ने मल्होत्राको भनाइ छ।

‘स्वचालित कर नीति अवलम्बन गरिएन भने ब्यालेन्स मिल्दैन। नेपालमा दर सस्तो हुँदा तस्करी भएर भारत जान्छ, भारतमा सस्तो भयो भने नेपालतर्फ तस्करी हुन्छ। अब यस्ता किसिमका सामानहरुको भन्सार दर नेपाल र भारतमा मोटामोटी बराबर हुनुपर्छ,’ मल्होत्राले बिजमाण्डूसँग भने।

अरु देशबाट मोबाइल फोन तस्करी भएर आइरहेको अवस्थामा भारतले भन्सार दर घटाउने निर्णय गरेपछि अब भारतबाट तस्करी बढ्ने अवस्था सिर्जना भएको उनले बताए।

‘नेपाल सरकारले यस विषयमा तुरुन्तै केही कदम चाल्नुपर्छ। नभए अवैध फोनले बैध बजारको हिस्सा धेरै खोस्छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको भए त केही गर्नै पर्दैनथ्यो। त्यो लागू हुनै सकेन। बजार अनुगमन ज्यादै फितलो छ। त्यसैले नेपाल सरकारले मोबाइल फोनमा लाग्दै आएको भन्सार दर हटाउनुको विकल्प छैन। त्यसो नगरे अवैध फोनले सबै बजार ढाक्छ,’ मल्होत्राले भने।

नेपाल सरकारले अहिले मोबाइल फोनमा १८.६५ प्रतिशत कर लगाएको छ। मोबाइल फोन आयात गर्दा ५ प्रतिशत अन्त: शुल्क र त्यसैमा थप १३ प्रतिशत भ्याट लाग्छ। अर्थात्, एक लाख रुपैयाँ मूल्य पर्ने स्मार्टफोन आयात गर्दा अन्त:शुल्क र भ्याट गरेर १८ हजार ६ सय ५० रुपैयाँ जोडिन्छ।

त्यसमा रिटेलर, डिलर/डिस्ट्रिब्यूटरको मार्जिनका लागि करिब १५ प्रतिशत छुट्याइएको हुन्छ। नेपाली उपभोक्ताहरुले १ लाख रुपैयाँ मूल्य पर्ने फोनका लागि १ लाख ३५ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ।

त्यसैगरी, भारतमा १ लाख रुपैयाँ पर्ने स्मार्टफोन नेपालमा १ लाख २५ हजार रुपैयाँ पर्छ। डिलरहरुलाई छुट्याएको मार्जिनबाहेक नेपालमा थप १० महँगो परिरहेको व्यवसायी बताउँछन्। भारत सरकारले बजेटमार्फत भन्सार दर घटाएपछि त्यहाँ स्मार्टफोन अझै सस्तो पर्नेछ।  

नेपाली बजारमा भारतको तुलनामा स्मार्टफोन महँगो भएपछि ग्रे मार्केटको हिस्सा ६०-६५ प्रतिशतसम्म पुग्ने चेतावनी मल्होत्राले दिए।

व्यवसायी दीपक मल्होत्रा

मल्होत्रा एमडीएमएस अलपत्र परेको अवस्थामा भारतबाट हुने मोबाइल फोनको अवैध आयात रोक्न ५ प्रतिशत अन्त:शुल्क खारेज गर्नुपर्ने माग गर्छन्। कुनै समय स्मार्टफोनमा व्यवसायीले पाउँदै आएको भ्याट रिफन्डसमेत सरकारले हटाएकामा व्यवासयी रुष्ट बनेका थिए। व्यवसायीहरुले भ्याट रिफन्डको साटो मोबाइल फोनमा जबर्जस्ती लगाइएको अन्त:शुल्क हटाउन माग गर्दै आएका छन्। 

नेपाली बजारमा भारतको तुलनामा स्मार्टफोन महँगो भएपछि ग्रे मार्केटको हिस्सा ६०-६५ प्रतिशतसम्म पुग्ने चेतावनी मल्होत्राले दिए।

भारतले आफ्नो केन्द्रीय बजेटमार्फत मोबाइल फोन आयातमा लाग्ने भन्सार दर कटौती गर्ने घोषणा गरेको छ। भारतभित्रै पछिल्लो समय स्मार्टफोन उत्पादन बढे पनि प्रिमियम स्मार्टफोन भने आयात गर्दै आएको छ। भन्सार दर घटाउने निर्णयपछि भारतमा सबैभन्दा लाभान्वित एप्पल बनेको छ।

भारतीय वित्तमन्त्री निर्मला सितारमणले सन् २०२४ को केन्द्रीय बजेटमार्फत स्मार्टफोनसँगै प्रिन्टेड सर्किट बोर्ड एसेम्ब्ली (पीसीबीए) र मोबाइल चार्जरको भन्सार दर घटाएकी हुन्।

हरेक वर्ष एप्पलका करिब १०-१२ प्रतिशत आइफोन भारत आयात हुँदै आएको छ। बजेटमार्फत ५ प्रतिशत भन्सार दर कटौती भएपछि एप्पललाई वार्षिक ३ करोड ५० लाखदेखि ५ करोड अमेरिकी डलर (हालको विनिमय दरअनुसार ४.६९ देखि ६.७० अर्ब रुपैयाँ) फाइदा पुग्ने अनुमान गरिएको छ।

भारतीय वित्तमन्त्री निर्मला सितारमण

आयातमा सहुलियत पाए पनि एप्पलले भारतमा आफ्नो स्थानीय उत्पादन भने बढाउँदै गइरहेको छ। टाटा समूहसँगको सहकार्यमा एप्पलले भारतमा आफ्ना प्रडक्ट उत्पादन गरिरहेको छ। एप्पलले आइफोनका हाइ एन्ड प्रो र प्रो म्यास मोडल मात्रै भारतमा आयात गरिरहेको छ।

भारत सरकारको सो नीतिले एप्पललाई मात्रै नभएर सामसङलाई पनि केही फाइदा पुग्ने अनुमान गरिएको छ। तर, सामसङले भारतमै आफ्ना प्रडक्ट उत्पादन गरिरहेकाले फाइदाको दर त्यति ठूलो भने नहुने विश्लेषण भइरहेको छ।

उसैपनि भारतमा स्थानीयस्तमै स्मार्टफोन उत्पादन गर्न टेक जायन्ट एप्पल, सामसङलगायत आक्रमक बनेपछि प्रतिस्पर्धा र सरकारी सहुलियतका कारण मूल्य घट्दो छ। भन्सार महसुलसमेत घट्दै गएपछि भारतीय बजारमा स्मार्टफोनको दाम क्रमश: ओरालो लाग्ने निश्चित छ। जसका कारण नेपालको स्मार्टफोन बजार भने प्रभावित बन्ने जोखिम बढ्दै गएको व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन्। 

गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वर्ष २०७९/८० को तुलनामा ४ अर्ब २६ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष २८ अर्ब ६६ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ। २०७९/८० मा २४ अर्ब ३९ करोड रुपैयाँको फोन आयात भएको थियो। २०७९/८० मा १५ लाख ६९ हजार थान स्मार्टफोन भित्रिएकामा गत वर्ष १८ लाख ३९ हजार थान आयात भएको विभागले जनाएको छ।