आन्तरिक उडानमा मुख्य बजार पोखरा, जहाज संख्यामा दोस्रो श्री एयरलाइन्स उडानमा किन तेस्रो?

वसन्तराज उप्रेती
२०८१ साउन ६ गते १३:०१ | Jul 21, 2024
आन्तरिक उडानमा मुख्य बजार पोखरा, जहाज संख्यामा दोस्रो  श्री एयरलाइन्स उडानमा किन तेस्रो?


काठमाडौं। वायुसेवा प्रदायक निजी कम्पनीले आन्तरिकतर्फ एक दर्जन गन्तव्यमा गर्दै आएको उडानमा पोखरा मुख्य बजार देखिएको छ। वायुसेवा प्रदायक कम्पनीहरुका लागि पोखरापछिको ठूलो बजार विराटनगर हो।

Tata
GBIME
NLIC

विभिन्न कम्पनीबाट प्राप्त विवरण अनुसार काठमाडौं बेस रही पोखरामा सबैभन्दा बढी उडान हुँदै आएको छ। यो गन्तव्यमा दैनिक २९ उडान हुने गरेको छ। त्यसमध्ये आधाभन्दा बढी उडान बुद्ध एयरको हो।

बुद्धले पोखरामा १७ वटा उडान गर्दै आएको छ। बुद्धलाई यती एयरलाइन्सले पछ्याएको छ। यतीले पोखरामा दैनिक १० वटा उडान गर्ने गरेको छ। श्री एयरलाइन्सले भने दैनिक २ वटा मात्र उडान गर्दै आएको छ। तर सौर्य एयरलाइन्सले भने पोखरामा उडान गर्ने गरेको छैन।

वायुसेवा प्रदायक कम्पनीहरुका लागि व्यापार धेरै हुने दोस्रो गन्तव्य विराटनगर हो। यो गन्तव्यमा दैनिक २२ वटा उडान हुँदै आएको छ। विराटनगर मात्र निजी क्षेत्रका चार वटै कम्पनीले उडान गर्ने गन्तव्य हो। यहाँ बुद्धले ९, यतीले ६, श्रीले ४ र सौर्यले ३ वटा उडान गर्दै आएका छन्।

भैरहवामा तेस्रो ठूलो गन्तव्य हो जहाँ दैनिक २१ वटा उडान हुँदै आएको छ। यो गन्तव्यमा पनि बुद्धले नै सबैभन्दा बढी उडान गर्दै आएको छ। भैरहवामा बुद्धले दैनिक ११, यतीले ६ र श्रीले ४ वटा उडान गर्दै आएका छन्।

राजविराजमा भने सबैभन्दा कम दैनिक एउटा उडान हुने गरेको छ। त्यहाँ बुद्ध एयरले मात्र उडान गर्ने गरेको हो।

वायुसेवा प्रदायक कम्पनीले विभिन्न १२ वटा गन्तव्यमा उडान गर्दै आएका छन्। बुद्ध एयरले ती सबै गन्तव्यमा जहाज लाने गरेकामा अरु कम्पनीको उपस्थिति भने सबैतिर छैन। उसको प्रतिस्पर्धी यती एयरलाइन्सले ७ र श्री एयरलाइन्सले ६ वटा गन्तव्यमा उडान गर्दै आएका छन्।

सौर्य एयरलाइन्सको सेवा दुई वटा गन्तव्यमा सीमित छ। सौर्यले विराटनगर र भद्रपुरमा मात्र उडान गर्ने गरेको हो। ती दुवै गन्तव्यमा उसले ३/३ उडान गर्दै आएको छ। सौर्यले यात्रुको ओहोरदोहोरका लागि प्रयोग गर्ने जहाज बम्बार्डियरको सीआरजे-२०० हो।

बुद्ध एयरसँग एटीआर-७२ जहाज १५ वटा र एटीआर-४२ सिरिजका जहाज ३ वटा छन्। एटीआर-४२ सिरिजको एउटा जहाज फेजआउट हुने चरणमा रहेका कारण ग्राउण्डेड छ। कम्पनीले हाल १२ गन्तव्यमा दैनिक ७३ वटा उडान गर्दै आएको छ।

एटीआर-७२ जहाज ७ वटा रहेको यती एयरलाइन्सले दैनिक ३३ वटा उडान गर्दै आएको छ। कम्पनीले पोखरा, विराटनगर, भैरहवा, भद्रपुर, नेपालगंज, सिमरा र जनकपुर बाहेकका गन्तव्यमा भने उडान गर्ने गरेको छैन। यतीले कुनै पनि गन्तव्यमा बुद्ध एयरले जतिको संख्यामा उडान गर्ने गरेको छैन।

बरु धनगढीमा हुने उडानमा बुद्धलाई श्री एयरलाइन्सले पछि पारेको छ। धनगढीमा बुद्धले ३ र श्रीले ४ वटा उडान गर्दै आएका छन्। 

तर, बुद्ध पछि धेरै जहाज भएको श्रीले दैनिक २१ वटा मात्र उडान गर्ने गरेको छ। बम्बार्डियर कम्पनीको दुई वटा सीआरजे-२००, दुईवटा सीआरजे-७०० र ७ वटा टर्बोप्रोप क्यु-४०० जहाज भएको कम्पनीले पोखरा, भैरहवा, विराटनगर, नेपालगंज, सुर्खेत र धनगढीमा मात्र उडान गर्ने गरेको छ।

श्री एयरलाइन्सका लागि भने व्यापारको मुख्य गन्तव्य नेपालगंज हो। उसले यो गन्तव्यमा बुद्धकै सरह दैनिक ५ वटा उडान गर्ने गरेको छ।

विभिन्न गन्तव्यमा ८० सिट क्षमताको टर्बोप्रोपमार्फत उडान गर्दै आएको कम्पनीले जेट इन्जिन जहाज भने माउन्टेन फ्लाइटका लागि मात्र प्रयोग गर्ने गरेको छ।

आन्तरिक उडानतर्फ अहिले दैनिक १३ हजार हाराहारी यात्रु ओहोरदोहोर गर्ने गरेका छन्। त्यसमा सबैभन्दा धेरैले बुद्ध एयरको जहाज प्रयोग गर्ने गरेका छन्। बुद्धले ८ हजार यात्रुलाई सेवा दिने गरेको छ।

यती एयरलाइन्सले ३ हजार र श्रीले २ हजार यात्रुलाई ओहोरदोहोर गराउँदै आएका छन्। यो संख्या काठमाडौंबाट हुने उडानको मात्र होइन। विभिन्न गन्तव्यबाट काठमाडौं आउने यात्रुको संख्या पनि यसमा समावेश छ। सौर्यको यात्रु संख्या निकै कम छ।