देशको आर्थिक संकट : विष्णु पौडेल अर्थमन्त्रीका रुपमा उपयुक्त पात्र हुन् ?

सुदर्शन सापकोटा
२०८१ असार २८ गते १६:३५ | Jul 12, 2024
देशको आर्थिक संकट : विष्णु पौडेल अर्थमन्त्रीका रुपमा उपयुक्त पात्र हुन् ?
विष्णु पौडेल


काठमाडौं। राजनीतिक घडीको काँटा फेरि घुमेको छ र पुन: अर्थ मन्त्रालयको नेतृत्वमा विष्णु पौडेल आसिन हुने सम्भावना बढेको छ। तर, के नेपालको धरमराएको अर्थतन्त्रका लागि पौडेल आशाको किरण हुन्? वा अर्को आर्थिक विपत्तिको सुरुवात?

Tata
GBIME
NLIC

पौडेल नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय छन्। एमाले उपाध्यक्ष पौडेल यसअघि तीन पटक अर्थमन्त्रीको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन्। उनी अर्थतन्त्रका बारेमा धेरै जानकार छैनन्। आर्थिक विज्ञताभन्दा दलीय राजनीतिमा उनको बढी अनुभव छ।

पौडेलले आफ्नो पालामा ल्याएका बजेट मूलतः लोकप्रिय र वितरणमुखी प्रकृतिका थिए। उनको कार्यकालमा सेयर बजारमा वृद्धि देखियो, जसले केही वर्गमा उनको लोकप्रियता बढायो। तर, यो वृद्धि वास्तविक अर्थतन्त्रको प्रतिबिम्ब थियो कि अस्थायी उछाल? घरजग्गा कारोबारमा समेत त्यही खालको उछाल आयो र त्यसले मुलुकलाई मन्दीतर्फ घचेड्यो। त्यसैले उनका बजेटहरूले अनुत्पादक क्षेत्रमा लगानीलाई बढावा दियो।

आफूले ल्याएको बजेटको दुष्परिणाम अर्थतन्त्रमा पर्दा नपर्दै पौडेल अर्थमन्त्रीको कुर्सीमा रहेनन्, उनी बाहिरिसकेका हुन्थे- त्यसैले त्यसको अपजस उनले भोग्नु परेको छैन। उनले अगाडि सारेका वितरणमुखी कार्यक्रमले चालु खर्चमा पारेको भारले आर्थिक स्थिरतामा प्रश्न उठाएको छ। यसले पौडेलको आर्थिक दूरदृष्टि र योजना क्षमतामाथि प्रश्न उठाउँछ।

नेपालको अर्थतन्त्रले अहिले गम्भीर चुनौती सामना गरिरहेको छ। सार्वजनिक वित्त बिग्रिएको छ, वित्तीय क्षेत्रमा अत्यधिक तरलता छ, ऋणको ब्याजदर घटेको छ तैपनि व्यावसायिक वातावरण निराशाजनक छ। ऋणको मागमा कमी आएको छ जुन मन्दीको संकेत हो।

यी समस्या समाधान गर्न गहन आर्थिक समझ, नवीन सोच र कठोर निर्णय लिने क्षमताको आवश्यकता पर्छ। तर, विगतको कार्यशैली र नीतिगत दृष्टिकोणले उनी यस्ता गुणहरूबाट टाढा रहेको देखाउँछ।

उनको नेतृत्व शैली बढी राजनीतिक समीकरण र लोकप्रियतामा आधारित देखिन्छ जुन जटिल आर्थिक समस्या समाधान गर्न कामयावी हुने छैन। योग्यता र विगतको कार्यसम्पादनले उनी गम्भीर आर्थिक संकट समाधान गर्न उपयुक्त व्यक्ति हुन् भन्ने देखाउँदैन। उनको राजनीतिक दृष्टिकोण र लोकप्रिय हुन चाहने नीतिले छोटो अवधिमा केही सकारात्मक प्रभाव देखाउन सक्छ। तर, आर्थिक स्थिरता र विकासका लागि आवश्यक कठोर निर्णय लिन दिँदैन।

अर्थतन्त्रलाई पुनर्जीवित गर्न र देशलाई विकासको दीर्घकालीन बाटोमा लैजान आर्थिक विशेषज्ञता, नवीन सोच र राजनीतिक साहसको आवश्यकता छ जुन पौडेलबाट अपेक्षा गर्न सकिंदैन। उनले नियुक्ति पाएमा त्यो पुरानै शैली र सोचको निरन्तरता हुनेछ। आर्थिक नीति निर्माणमा आमूल परिवर्तनको खाँचो भएपनि उनीबाट अपेक्षा गर्न नसकिने जानकारहरु बताउँछन्।

देशले अहिले आर्थिक रूपान्तरणको नेतृत्व गर्न र कठोर निर्णय लिन सक्ने तथा दीर्घकालीन सोच भएको अर्थमन्त्री चाहेको छ। त्यसैले आगामी सरकारको नेतृत्व गर्न लागेका एमाले अध्यक्ष केपी शर्मा ओली र उनलाई साथ दिन लागेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थतन्त्रबारे गम्भिर भएर अर्थ मन्त्रालयको नेतृत्वका बारेमा ‘रि-थिङ्क’ गर्न जरुरी छ।