
विराटनगर। हवाई टिकटमा भ्याटको व्यवस्था नहटाए उडान नै रोक्ने चिनियाँ राजदूतावासको चेतावनीले परराष्ट्र मन्त्रालय र आन्तरिक राजस्व विभागमा पराकम्प गएको छ।
चिनियाँ दूवावासको पत्रपछि चिनियाँ वायु सेवा प्रदायक कम्पनीले पनि उडान कुनैपनि बेला बन्द गर्ने बताएपछि मन्त्रालय र विभागका अधिकारी त्यो स्थिति आउन नदिने भन्दै छलफलमा जुटेका छन्।
दुई दिनअघि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अधिकारीलाई बोलाएर छलफल गरेकामा यसै विषयमा विभागले मंगलबार अर्को बैठक गरेको छ।
दुवै बैठकमा सहभागी विभागका निर्देशक अर्जुन ढकालले छलफलको प्रक्रियामा भएका विषय भन्न नमिल्ने बताए।
विभागका महानिर्देशक शिवलाल तिवारीले भने चिनियाँ हवाई कम्पनीबाट भ्याटको अनुपालनमा समस्या आइरहेको स्वीकार गर्दै यस सम्बन्धमा छलफल भइरहेको बताए। ‘हाम्रो काम नै बैठक गरेर निष्कर्षमा पुग्ने हो। त्यसैले बैठक त भई नै रहन्छ’, तिवारीले भने।
परराष्ट्र मन्त्रालयमा भएको बैठकले उडान रोक्ने स्थिति नआउने गरी अध्ययन गर्न अर्थ मन्त्रालय र विभागलाई जिम्मेवारी दिएको थियो। सोही अनुसार विभागले छलफल राखेको हो। ‘चिनियाँ दूतावासले दुई देशको व्यापार र लगानी नै प्रभावित हुनसक्ने चेतावनीसहित पत्र पठाएका कारण गम्भीररुपमा नै छलफल भइरहेको छ,’ विभाग स्रोतले भन्यो।
सरकारले गत वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्ने क्रममा हवाई टिकटमा भ्याट लगाउने घोषणा गरेको थियो। तर, प्राविधिक तयारी गर्नुपरेको कारण देखाएर २०८० असोज १० देखि मात्र कार्यान्वयनमा ल्याइएको थियो। त्यसयता हवाई टिकटमा भ्याटबाट साढे ७ अर्ब रुपैयाँ संकलन भइसकेको छ।
चीनले भने दुई पटक भ्याट हटाउन भनिसकेको छ। चिनियाँ दूतावासले गत वैशाख २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र क्यानलाई बोधार्थ दिइ परराष्ट्र मन्त्रालयलाई पत्र लेखि भ्याट नहटाए नेपालमा उडान रोक्ने चेतावनी दिनुका साथै दुई देशको व्यापार र लगानी नै प्रभावित हुने बताएको थियो।
चीनका विभिन्न ४ वटा वायु सेवा प्रदायक कम्पनीले विभिन्न गन्तव्यबाट काठमाडौंमा सातामा आधा दर्जनभन्दा बढी उडान गर्दै आएका छन्। तर, नेपालमा उडान गर्ने एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न र सिचुआन एयरले अहिलेसम्म हवाई टिकटमा भ्याट तिर्न मानेका छैनन्। ती कम्पनीको करसम्बन्धी कारोबार पुतलीसडक र टंगालस्थित राजस्व कार्यालयले हेर्छन्।
करविज्ञहरू हवाई टिकटमा भ्याटलाई निरन्तरता दिन त्यति आवश्यक ठान्दैनन्। हवाई टिकटमा लगाइएको भ्याटबाट सरकारले खासै केही नपाउने उनीहरुको भनाइ छ।
वायुसेवा कम्पनीले यात्रुसँग संकलन गरेको भ्याट रकम क्रेडिट पाउने व्यवस्था छ। कम्पनीले जहाज वा जहाजका स्पेयर पार्टस आयात गर्दा, इन्धन खरिद गर्दा, पार्किङ चार्ज बुझाउँदा र क्यानलाई तिर्नुपर्ने अन्य दस्तुरमा लाग्ने भ्याट रकम यात्रुसँग संकलन गरेको भ्याट रकम समायोजन गर्न पाउँछन्। त्यसैले यात्रुले बुझाएको भ्याट रकमको खासै प्रयोजन देखिएको छैन।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ कोशी प्रदेशका पूर्वअध्यक्ष मनोज अधिकारीले हवाई टिकटमा लगाइएको भ्याटले सर्वसाधारणलाई सास्ती मात्र थपेको बताए। ‘यसबाट वायुसेवा कम्पनीलाई खासै असर पर्दैन। यात्रुले भने टिकटमा महँगो खर्च गर्नुपरिरहेको छ,’ उनले भने।