विश्वकपमा श्रीलंकालाई हराएर ‘रेकर्ड ब्रेक’ गर्ने दाउमा नेपाल, एकअर्का विरुद्ध कस्तो छ तयारी ?

बिजमाण्डू
२०८१ जेठ २९ गते १५:३७ | Jun 11, 2024
विश्वकपमा श्रीलंकालाई हराएर ‘रेकर्ड ब्रेक’ गर्ने दाउमा नेपाल, एकअर्का विरुद्ध कस्तो छ तयारी ?
प्रिम्याच कन्फ्रेन्समा रोहितकुमार पौडेल। तस्बिर: आईसीसी/ गिट्टी इमेजेज


काठमाडौं। आईसीसी टी-२० विश्वकपमा नेपालले बुधबार बिहान आफ्नो दोस्रो खेल खेल्दैछ। अमेरिकाको लाउडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा बिहान सवा ५ बजे श्रीलंकाविरुद्ध नेपाल मैदान उत्रनेछ।

Tata
GBIME
NLIC

समूह ‘डी’ को खेलमा यी दुवै टोली आफ्नो पहिलो जितको खोजीमा हुनेछन्। नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजय व्यहोरेको थियो भने श्रीलंकाले दक्षिण अफ्रिका र बंगलादेशसँग हारेको थियो।

टी-२० अन्तर्राष्ट्रियमा यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन्। यद्यपि, यो खेल वर्षाले प्रभावित गर्न सक्ने प्रवल सम्भावना रहेको प्रक्षेपण छ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल यो खेलमा नेपाललाई भन्दा श्रीलंकालाई बढी दबाब हुने मान्छन्।

‘हामीलाई भन्दा बढी श्रीलंकालाई छ जस्तो लाग्छ। प्रतियोगितामा डट बल धेरै भइरहेको छ,’ नेपाली टोलीका कप्तान पौडलले खेलको प्रिम्याच कन्फ्रेन्समा भने, ‘१४० रन बनाउने हो राम्रो स्कोर जस्तो देखिइरहेको छ यो प्रतियोगितामा। पहिलो खेल सोचेजस्तो भएन तर अर्को खेल जित्छौँ भन्ने टिमको विश्वास छ।’

पहिलो खेल खेलेर दोस्रो खेलका लागि लामो ग्याप हुनु तयारीका हिसाबले राम्रो भएको पौडेल बताउँछन्। त्यस्तै, एसोसिएट टोलीले जारी विश्वकपमा ‘हेभिवेट’ मानिएका टोलीलाई हराउँदा नेपाली टोली पनि उत्साहीत भइरहेको उनको भनाइ छ।

‘यो विश्वकपमा एसोसिएट टोलीले टेस्ट टोलीलाई हराइरहेका छन्। यसले हामीलाई मोटिभेसन दिएको छ। हामी टिमको रुपमा जित निकाल्ने विश्वासमा छौँ।’ उनले भने, ‘यहाँ रन स्कोर गर्न कठिन भइरहेको छ। न्युयोर्क र फ्लोरिडाको कन्डिसन फरक छ। विकेटहरु राम्रो छ। आफ्नो स्किलहरु देखाउन सक्यौं भने हामीले जित निकाल्न सक्छौं।’

नेपाली टोलीले यो बीचमा श्रीलंकाको अध्ययन गर्ने लामो मौका पायो। पौडेल श्रीलंकासँग राम्रो स्पीनरहरु भएकाले त्यसलाई ट्याकल गर्न सके खेल आफ्नो पक्षमा आउन सक्ने मान्छन्।

‘श्रीलंकासँग राम्रा स्पीनरहरु छन्। विश्वभरी खेलिरहेका छन्। बलिङ युनिट राम्रो भएकाले हामीले ट्याकल गर्नुपर्ने हुन्छ,’ उनले भने।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल। फाइल फोटो एसीसी

‘श्रीलंका टिमको रुपमा धेरै राम्रो छ। इतिहास हेर्ने हो भने उनीहरुको रेकर्ड धेरै राम्रो छ। उनीहरुले विश्वकप जितिसकेका छन्। यसर्थ हामी उनीहरुलाई हल्का रुपमा लिनै सक्दैनौँ,’ पौडेलले भने, ‘यो प्रतियोगितामा सोचेजस्तो खेलेरहनु भएको छैन। ब्याटिङमा दबाब बनाएर हामीले बलिङमा राम्रो गर्‍यौं भने भोलि चाहीँ रेकर्ड ब्रेक हुन्छ। अहिलेसम्म हामीले टेस्ट राष्ट्रलाई हराएका छैनौं। भोलि त्यो दिन हुन सक्छ।’

त्यस्तै, श्रीलंकाका फास्ट बलिङ कोच अक्विब जाभेद विश्वकपमा कुनै पनि टोलीलाई हल्कामा लिन नसकिने भएको बताउँछन्। उनले यही प्रतियोगितामा एसोसिएटले उत्कृष्ट नतिजाहरु ल्याएको भन्दै अत्यन्त सावधान भएको खेल्नुपर्ने अवस्था भएको बताए।

‘अन्तर्राष्ट्रिय खेल खेल्दै गर्दा सँधै दबाब हुने नै गर्छ। तर, अब ब्याटर र बलरले यो पिचले धेरै गर्नु नपर्ने भन्ने बुझिसकेका छन्। ‘बेसिक गेम’ नै यहाँ पर्याप्त हुनेछ। एक्सपेरिमेन्टहरु आवश्यक छैनन्,’ उनले भने।

समूह ‘डी’ मा लगातार तीन खेल जित्दै ६ अंक बनाएको दक्षिण अफ्रिका शीर्ष स्थानमा छ। त्यस्तै २ खेल खेलेर समान २ अंक बनाएका बंगलादेश र नेदरल्याण्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। अंकविहीन नेपाल र श्रीलंका चौथो र पाँचौँ स्थानमा छन्।  

photo : getty images

यो खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीमाथि नजर रहनेछ। पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङमा सबैभन्दा ठूलो योगदान गरेका पौडेलको लय पछिल्ला केही महिनायता राम्रो गतिमा गइरहेको छ। त्यस्तै नेदरल्याण्ड्सविरुद्ध प्रभावकारी हुन नसके पनि ऐरी कुनै पनि बेला खेलको मोमेन्टम बदल्न सक्ने क्षमता राख्छन्। बलिङ, फिल्डिङ र ब्याटिङ कुनै पनि फिल्डबाट उनले योगदान दिन सक्छ।

अर्कोतर्फ श्रीलंकाका नुवान तुषारा श्रीलंकाका लागि पछिल्ला खेलहरुमा प्रभावशाली बलिङ गर्दै आएका छन्। मथिसा पथिराना पनि नेपाली ब्याटरका लागि घातक बन्न सक्छन्। पछिल्लो समयमा नेपालको शीर्षक्रमको ब्याटिङ कमजोर चलिरहँदा बलिङमा अब्बल श्रीलंकाले फाइदा उठाउन सक्छ।