नेपालगञ्जस्थित आईसीपी उद्‍घाटनको ११ महिनापछि सञ्चालनमा, ढिलाइको कारण यस्तो

बिजमाण्डू
२०८१ बैशाख २४ गते १८:२८ | May 6, 2024
नेपालगञ्जस्थित आईसीपी उद्‍घाटनको ११ महिनापछि सञ्चालनमा, ढिलाइको कारण यस्तो
नेपालगंजस्थित आईसीपी सञ्चालनको शुभारम्भ गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी

काठमाडौं। नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) औपचारिक रुपमा सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार आईसीपी सञ्चालनको शुभारम्भ गरे।

Tata
GBIME
Nepal Life

शुभारम्भमा नेपालबाट प्लाइउड बोकेको दुई वटा ट्रक भारत पठाइएको छ भने प्लाइ एस लिएर आएको एउटा ट्रकलाई नेपालमा स्वागत गरिएको छ।

दुई देशका प्रधानमन्त्रीले उद्‍घाटन गरेको ११ महिनापछि आईसीपी औपचारिक रुपमा सञ्चालनमा आएको हो। गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्‍घाटन गरेको आईसीपीको निर्माण भने गत फागुनमा सम्पन्न भएको हो।

करिब २ अर्ब भारुमा निर्माण गरिएको आईसीपी भारत सरकारले यही वैशाख ९ गते शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई बाँकेलाई हस्तान्तरण गरेकामा इकाईले नेपाल इन्टरमोडल यातायात विकास समितिको जिम्मा लगाएको हो।

आईसीपी सञ्चालन तथा व्यवस्थापनको जिम्मा ५ वर्षका लागि टीआरएस एटलस लोजिपार्क प्रालिलाई दिइएको छ।

कुल ४५.८१ हेक्टर क्षेत्रफलमा फैलिएको आईसीपीमा पहिलो चरणमा १८.०५ हेक्टरमा संरचना निर्माण गरिएको छ। आईसीपीमा आयाततर्फ २०० वटा र निर्याततर्फ ७५ वटा ट्रकका लागि पार्किङ क्षेत्र तथा भन्सार, अध्यागमन, क्वारेन्टिन, सुरक्षा, अपरेटर कम्पनी, बैंक लगायतका लागि भवन छन्।

नेपालगंजस्थित आईसीपी सञ्चालनको शुभारम्भ गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी

आईसीपी सञ्चालनको शुभारम्भ कार्यक्रममा उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य तथा आपूर्ति सचिव दिनेश कुमार घिमिरे, भन्सार विभागमा महानिर्देशक ढुण्डी प्रसाद निरौला, नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, नेपाल फ्रेट फरवार्डर्स एसोसियसनका अध्यक्ष मनोज अधिकारी, नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल लगायत उपस्थित थिए।

मन्त्री भण्डारीले आईसीपी सञ्चालनमा आएसँगै मध्यपश्चिम क्षेत्रको व्यापारमा बढोत्तरी भइ देशको अर्थतन्त्र उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सचिव घिमिरेले आईसीपी सञ्चालनले निर्यात प्रवर्धनका साथै आयात निर्यातलाई सहज बनाउने बताए। भन्सार विभागका महानिर्देशक निरौलाले चोरी निकासीमा नियन्त्रण भई राजस्व बढ्ने विश्वास व्यक्त गरे।

आईसीपी वीरगंज र विराटनगरमा यसअघि नै सञ्चालनमा आइसकेका छन्।