ब्रोकर कमिसन १० प्रतिशत घटाउने सेबोनको निर्णय, जेठदेखि कार्यान्वयनमा आउने

बिजमाण्डू
२०८१ बैशाख २४ गते १३:३९ | May 6, 2024
ब्रोकर कमिसन १० प्रतिशत घटाउने सेबोनको निर्णय, जेठदेखि कार्यान्वयनमा आउने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ। आइतबार बसेको बोर्ड सञ्चालक समिति बैठकले जेठ १ देखि लागू हुनेगरी ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

ब्रोकर कमिसन घटाउन सेबोनले गरेको प्रस्तावमा गत साता अर्थमन्त्रालयले सहमति दिएको थियो। मन्त्रालयले बोर्डलाई कमिसन घटाउन सहमति दिएपछि बोर्ड सञ्चालक समितिले निर्णय गरेको बोर्डका एक कर्मचारीले बताए।

बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले जेठ १ देखि बोकर कमिसन घटाउने निर्णय गरे पनि सबै सञ्चालकले हस्ताक्षर गर्न बाँकी रहेको बताए। ‘अर्थमन्त्रालयको सहमतिपछि ब्रोकर कमिसन घटाउने विषयमा बोर्डले निर्णय गरेको छ। हस्ताक्षर गर्न बाँकी छ,’ उनले भने।

अहिले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन छ। १० प्रतिशत घटाउने बोर्डको निर्णयपछि ०.३६ प्रतिशत कायम हुनेछ। हाल ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३६ प्रतिशत शुल्क लिँदै आएकोमा अब ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत कायम हुनेछ।

त्यस्तै अहिले ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत रहेकोमा अब ०.३१ प्रतिशत, अहिले २० लाखदेखि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत रहेकोमा अब ०.२७ प्रतिशत कमिसन शुल्क कायम हुनेछ।

त्यस्तै १ करोड रुपैयाँ बढीको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन लाग्दै आएकोमा अब ०.२४ प्रतिशत कायम हुनेछ।