लाँकुरीभञ्ज्याङको गराहरुमा टेन्ट गाडेपछि मासिएको त्यो मकैबारी, जहाँ ४० वर्षमा बन्यो प्रिमियम रिसोर्ट

भावना शर्मा
२०८० चैत्र ३० गते ०९:०५ | Apr 12, 2024
लाँकुरीभञ्ज्याङको गराहरुमा टेन्ट गाडेपछि मासिएको त्यो मकैबारी, जहाँ ४० वर्षमा बन्यो प्रिमियम रिसोर्ट

चारैतिर जंगलले घेरिएको ‘टेरेसेस’मा छ ४२ रोपनी निजी जग्गा, जहाँबाट एकसाथ काठमाडौं उपत्यकाका तीनै सहर काठमाडौं, भक्तपुर र ललितपुरको पूरा रुप देखिन्छ। अनि त्यहींबाट देखिन्छ हिमालहरुको मनोरम परिदृश्य।

Tata
GBIME
Nepal Life

४० वर्षअघि आङछिरिङ शेर्पाले खरिद गरेको त्यो मकैबारीमा अहिले बनेको छ, लग्जरी रिसोर्ट द टेरेसेस। यो काठमाडौं उपत्यकाको त्यस्तो ठाउँ हो जहाँबाट निर्वाध र एकैसाथ परको हिमाल र तलको सहर मात्रै देखिंदैन, शान्त समय र आध्यात्मिक आनन्द पनि भोग्न पाइन्छ।

लाँकुरीभञ्ज्याङका तरेली परेका गराहरुमा बनेको रिसोर्टमा खुलेर हिमाल नदेखिएको दिन टेरेसेसकै छानाहरुमा बादलको प्रतिबिम्ब ओर्लिएको दृश्य पनि कम मनमोहक हुँदैन।

फेवातालमा माछापुच्छ्रेको छाँया जसरी देखिन्छ त्यसरी नै हिमाल र बादलहरु देखिने गरि रिसोर्टका हरेक भवनको छानामा पानी जमाइएको छ। वरपरको घना जंगलबीच लुकेको द टेरेसेस यस्तो ठाउँ हो जहाँ पुग्ने व्यक्तिले प्रकृतिसँगको निकटता, अध्यात्मिक चिन्तनका लागि शान्त परिवेश र आतिथ्यताको आत्मसन्तुष्टी एकैपटक प्राप्त गर्न सक्छन्।

पछिल्लो समय एयरपोर्टबाट सिधै लाँकुरीभञ्ज्याङको ‘द टेरेसेस’ गएर बस्ने र त्यहीँको हेलिप्याडबाटै हिमाली भेगका अन्य पर्यटकीय गन्तव्यसम्म टुर गरेर फर्किने विदेशी पर्यटकको संख्या बढ्दो छ। कोरोनाकालमै सुरुवात भएको यो रिसोर्ट ठूला कर्पोरेट रि-ट्रिट तथा सेमिनारहरुका साथै प्रिमियम वेडिङ डेस्टिनेसनका रुपमा पनि प्रयोग हुन थालेको छ।

बस्तीहरुभन्दा पर जंगलको बीचमा बनेको द टेरेसेस पुग्न जो कोही लालायित हुन्छन्। तर, यहाँ सहजै प्रवेश पाइँदैन। झट्ट पुगौं, घुमौं र केही खाएर फर्किहालौं भन्नेहरुका लागि भन्दा पनि जीवनको भागदौड बिर्सिएर केही समय प्रकृति निकट भएर बिताऔं भन्नेहरुका लागि यो ठाउँ तयार पारिएको हो। त्यसैले ‘वाक-इन-कस्टमर’लाई यहाँ प्रवेश छैन।

मकैबारी रहेको यो स्थान एकैचोटी लग्जरी रिसोर्टमा बदलिएको होइन। पर्वतारोहण र होटल क्षेत्रमा दरिएका आङछिरिङ शेर्पाको भिजनले मूर्त रुप लिन करिब चार दशक कुर्नुपर्‍यो।

प्रि-बुकिङ गरेर मात्र जान पाइने द टेरेसेस विकेन्डमा मात्र होइन साताका अरु दिनपनि उत्तिकै भीडभाड किन छ त?

‘गुम्बाहरुमा पुग्दाको जस्तो शान्ति र अध्यात्मिकता, प्राकृतिक हावापानी र जंगलको शीतलतपनका साथै रिसोर्टको एम्बियन्सकै कारण यहाँ आउनेले नयाँ उर्जा पाउनुहुन्छ। फेरि हाम्रो हस्पिटालिटीले पनि जो कोहीलाई तानिरहेको छ,’ रिसोर्टका प्रबन्ध निर्देशक तेन्जिङ डेभिड शेर्पाले भने।  

विक्रम संवत् २०४२ अघिसम्म मकैबारी रहेको यो स्थान एकैचोटी लग्जरी रिसोर्टमा बदलिएको भने होइन। पर्वतारोहण र होटल क्षेत्रमा दरिएका व्यवसायी आङछिरिङ शेर्पाको भिजनले मूर्त रुप लिन करिब चार दशक कुर्नुपर्‍यो। उनकै छोरा तेन्जिङले टेरेसेसलाई स्थापित र विस्तार गर्ने जिम्मेवारी लिएका छन्।

आङछिरिङ लाँकुरीभञ्ज्याङ पुग्दा त्यो तरेली परेको डाँडामा स्थानीय किसानहरु मकै छरिरहेका थिए। उच्च हिमाली क्षेत्र खुम्बुमा पर्यटनका पर्याय बनेर होटल र ट्रेकिङ एजेन्सी चलाइरहेकाले त्यो डाँडा भविष्यका लागि सम्भावना बोकेको ठाउँ हो भनेर चिन्न आङछिरिङलाई बेरै लागेन। त्यो डाँडा यस्तो उचाईमा थियो जहाँबाट हिमाल, जंगल र काठमाडौं उपत्यकाका तीनैवटा सहरहरु निर्वाध नियाल्न सकिन्थ्यो। त्यहाँका स्थानीयहरुसँग कुरा गरेर उनले त्यहाँ ४० रोपनी जग्गा किनेर छोडेका थिए।

द टेरेसेसको ड्रोन भ्यू

जतिबेला आङछिरिङले सम्भावना देखेर त्यो जग्गा जोडे त्यति नै बेला त्यहाँ होटल वा रिसोर्ट बनाइहाल्ने अवस्था भने थिएन। न त्यहाँसम्म पुग्न बाटो सहज थियो, न त डाँडोमा बिजुली र इन्टरनेट जस्ता सुविधा नै पुगेको थियो।

गर्न त आङछिरिङले केही समय त्यहाँ टेन्टेड क्याम्पको थिममा होटल संचालन पनि गरे। १२ वटा टेन्ट राखेर सुरु भएको उनको व्यवसाय त्यसबेला फस्टाउने मौकै पाएन। पिकनिक स्पट जसरी त्यो ठाउँलाई प्रयोग पनि गरियो। तर, देशमा द्वन्द्वको समय थियो। तत्कालीन परिस्थितीमा त्यहाँ पूर्वाधार विकास र व्यवसाय गर्ने अवस्था भएन। समय अनुकूल नबन्दा सपनालाई त्यसै थाती राखेर उनले त्यो परियोजना बन्द गरे।

१० वर्ष बन्द भएको प्रोपर्टीमा बिस्तारै आङछिरिङको सपनाले मूर्त रुप पाउँदै गयो। ४० रोपनी आफ्नो जमीन अनि वरिपरि भएको ८०० रोपनी सामुदायिक वनलाई लिजमा लिएपछि सन् २०१४ देखि यहाँ गुम्बाको शैलीलाई थिम बनाएर रिसोर्टको निर्माण सुरु भयो।

आङछिरिङको एस्ट्रेक ग्रुप र अग्नि ग्रुपको संयुक्त लगानीमा संचालन भैरहेको टेरेसेस मकैबारीबाट हालको अवस्थासम्म आइपुग्न करिब १ अर्ब रुपैयाँ लगानी भइसकेको रिसोर्टका प्रबन्ध निर्देशक तेन्जिङले जानकारी दिए। धेरै लामो अवधि र ठूलो रकम लगानी गरेपछि यो प्रिमियम रिसोर्ट तयार भएको हो।

बेल्जियमबाट फर्किएर पारिवारिक व्यवसायमै सघाउने निधो गरेका दिन तेन्जिङको काँधमा आइपुगेको जिम्मेवारी हो ‘द टेरेसेस’ रिसोर्ट।

रिसोर्टका प्रबन्ध निर्देशक तेन्जिङ डेभिड शेर्पा

पढाइ सकेपछि नेपाल फर्किनुपर्छ भन्ने तेन्जिङलाई पहिल्यै थाहा थियो। बुवा आङछिरिङ नेपालमै व्यवसाय विस्तार गरिरहन चाहन्थे। सन्तानले उच्च शिक्षा बाहिर लिए पनि देशमै आएर सघाउन् भन्ने बुवाको चाहना अनि तेन्जिङका लागि ‘नेपाल नै सँधैको लागि मेरो घर हो’ भन्ने भावले उनीभित्र विदेश बस्ने सोचको विकास नै हुन दिएन।

बेल्जियमबाट फर्किएर उनले पारिवारिक व्यवसायमै सघाउने निधो गरेका दिन उनको काँधमा आइपुगेको जिम्मेवारी हो ‘द टेरेसेस’ रिसोर्ट। बुवाले व्यवसायभन्दा समाजसेवामा बढी समय बिताउने इच्छा गरेसँगै छोराहरुले बुवाको व्यवसायको भारलाई हलुका बनाइदिए। माइला छोरा तेन्जिङले ‘द टेरेसेस’को रणनीतिक विस्तारको जिम्मा लिए।

उनी भन्छन् -‘बुवाको भिजनअनुसारको संरचना तयार भइसक्यो। यहाँ थप पूर्वाधार बनाउनु छैन। अबको समय बजार एक्स्पान्डको हो।’

यो प्रोपर्टीलाई तयार पार्न केवल सपना मात्रै भएर पुग्दैनथ्यो। लामो समयको पसिना, पैसा र उत्तिकै धेरै प्यासन पनि चाहिन्थ्यो। त्यसैले लाँकुरीभञ्ज्याङमा बितेका ४० वर्षहरुमा के के मात्र भएन। बत्ती, पानी, बाटो सबै आयो। रिसोर्टका लागि इन्टरनेट ल्याउँदा तलका पूरै गाउँलाई समेत हुने गरि आयो।

खेतका तरेलीहरु अर्थात टेरेस। नाम जुराउन यसै कुरालाई ध्यानमा राखियो। फेरि यहाँ संरचना बनाउँदा प्रत्येक कोठाबाहिर एउटा बार्दली अर्थात टेरेस तयार भयो जहाँ बसेर प्रकृति नियाल्न सकियोस्। जंगलको बीचमा टेरेसेस यसरी बनाइएको छ जहाँ झट्ट हेर्दा मुख्य बिल्डिङबाहेक अरु संचरना झ्वाट्ट देखिँदैन। कोठाहरु पनि एकले अर्कोलाई नछेक्ने गरि तयार पारिएको छ। अनि हरेक कोठाको बार्दलीमै बसेर वरपरको हिमाल, सहर र जंगल एकैसाथ हेर्न पाइन्छ।

टेरेसेसको डिजाइन लामो समय नेपाल बसेका अष्ट्रेलियन आर्किटेक्ट टिम लिंकन्सले बनाएका हुन्। हिमाली भेगको संस्कृति र कन्टेम्पोररी डिजाइनको फ्यूजन गरेर यो प्रोपर्टी तयार भएको हो।

‘पर्यटन क्षेत्रमा नयाँ र एक्सेसेबल आर्किटेक्चर दिउँ भन्ने सोच थियो। नेपालका गुम्बाहरु जसरी बन्छन् यहाँको संरचनाहरु त्यही थिममा बनाइएको छ,’ उनले भने।

यहाँ भ्यू छेकिन्छ भनेर अग्लो बिल्डिङ बनाउनै पर्दैन। किनभने यहाँ वरिपरि नै सामुदायिक वन छ। सबै बिल्डिङ जंगलभित्रै लुक्छन् र केवल प्रकृति मात्र देखिन्छ।

द टेरेसेसबाट देखिने उपत्यकाको दृश्य

गुम्बाको मुख्य बिल्डिङ सबैभन्दा माथि हुन्छ जहाँ पूजा कोठा र डाइनिङ हल हुन्छन्। अनि विस्तारै डाँडाको लेआउट फलो गर्दै कोठाहरु बन्छन्। गुम्बामा बस्ने लामाहरुका लागि कोठाहरु तल तल स्टेप स्टेप गर्दै बनाइएका हुन्छन्। जसरी तरेलीहरुमा खेती हुन्छ त्यसरी नै कोठाहरु पनि तरेली परेर बसेका हुन्छन् जहाँ एकले अर्कोलाई छेकिँदैन। ठ्याक्कै यही थिममा टेरेसेस बनेको छ। इन्टेरियर डिजाइनिङमा पनि गुम्बाको झल्को आउने गरि मन्त्रहरु र हिमालका बुट्टाहरु कुँदिएका छन् जसले यसको ‘एस्थेटिक भ्यालु’लाई झनै बढाइदिएको छ।

टेरेसेसलाई यस रुपमा तयार पार्नु सानो चुनौतीको काम थिएन। निर्माणका क्रममा बाटो यति खराब थियो कि यहाँसम्म ठूला कन्टेनर ल्याउनै समस्या हुन्थ्यो। बाटोकै कारण समयमा निर्माण सामाग्री ल्याउन उस्तै कठिन। पूर्वाधार विकासको महत्व बुझ्न उनीहरुलाई यहीँको सिकाइ काफी छ। तर, त्यो सबै दु:ख बिर्साउने गरि अहिले टेरेसेसको गेटैसम्म दुई लेनको बाटो बनिसकेको छ। त्यो पनि अब थोरै मात्र बाटो कालोपत्रे हुन बाँकी छ जुन अबको बर्खाअघि नै माथिसम्मै कालोपत्रे हुनेमा तेन्जिङ ढुक्क छन्। 

टेरेसेसलाई यसको लोकेसनले साथ दिएकोमा तेन्जिङ उत्साहित सुनिन्छन्। उनले भने, ‘धुलिखेल र नगरकोटमा भन्दा यहाँ के फरक छ भने हाम्रो यहाँ भ्यू छेकिन्छ भनेर अग्लो बिल्डिङ बनाउनै पर्दैन। किनभने यहाँ वरिपरि नै सामुदायिक वन छ। हामीले जिल्ला बन कार्यालयसँग लिजमा लिएर ८०० रोपनी जंगल संरक्षणको जिम्मा पनि लिएका छौं। यहाँ सबै बिल्डिङ जंगलभित्रै लुक्छन् र केवल प्रकृति मात्र देखिन्छ।’

कोभिड-१९ महामारीले थिलोथिलो भएको समयमा सुरु भएको थियो यो रिसोर्ट। बनाउने क्रममा यसले हरेक किसिमका मन्दी झेल्यो। नाकाबन्दी, भूकम्प अनि फेरि कोरोना महामारी। अनेकौं विषम परिस्थितीहरुका बीच ठडिएको हो यो संरचना जसले पर्यटन विकासको क्षेत्रलाई उत्साहित हुन सक्ने गरि वातावरण पनि जगाउन सक्यो। 

सन् २०२१ को अक्टोबर अर्थात दसैंको मेसो पारेर सुरु गर्दै गर्दा रिसोर्टले धेरै किसिमका प्रतिबन्धहरुको मार खेप्नुपर्‍यो। विश्वका धेरै देशहरुमा यात्रामा प्रतिबन्ध छँदै थियो सँगै विभिन्न स्वास्थ्य प्रोटोकलहरु पालना गर्नुपर्ने जटिलता। टेरेसेसले पनि त्यो बेला विकेन्डमा खोल्ने अरुबेला बन्द गरेर स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु पालना गर्दै बन्द गर्ने नीति लियो।

 सुरुवातका ६ महिना त्यसरी नै चल्यो। बाहिरबाट पर्यटक ल्याउन सक्ने अवस्था थिएन। काठमाडौंकै एउटा वर्ग जो नियमित ‘ट्राभल’ गर्थ्यो, उनीहरु पनि कतै जान सक्ने अवस्था नहुँदा छटपटाइरहेका थिए। उनीहरु कतै शान्तिपूर्वक समय बिताउने ठाउँ खोजिरहेका थिए। त्यही वर्गको छटपटीलाई ‘क्यास’ गर्दै टेरेसेसलाई सुरुवाती समयमा ‘स्ट्याब्लिस’ गरेको तेन्जिङ बताउँछन्।

‘सुरुवातमा हामीलाई हाम्रो आन्तरिक बजारले मात्र धानेको हो। क्वारेन्टिन र पिसिआरको झण्झटले मानिसहरु कतै जान मन गरिरहेका थिएनन्। सहरबाट निस्कौं भन्नेहरुका लागि हामीले यो थलो दियौं। २०२३ को मध्यदेखि मात्र हामी फूल फ्लेजमा गएका हौं,’ उनले भने। 

टेरेसेस रिसोर्टमा २८ वटा स्ट्याण्डर्ड रुम, १६ वटा डिलक्स रुम र दुईवटा सुइट रुम छन्। यहाँ सेमिनार हल, बैंक्वेट, स्पा, जीमखाना र स्विमिङ पुल पनि छ।

नजिकैका डाँडाहरुमा हिँड्नका लागि ५० वटा रुट तय गरि ट्रेलहरु पनि बनाइएका छन् जहाँ मानिसहरुले आफ्नो अनुकूलता हेरर कति समयको वाक गर्ने हो त्यो अनुसारको ट्रेल प्रयोग गर्न सक्छन्।

हरेक कोठाहरुका लागि फरक फरक दर तोकिएको छ। नयाँ वर्षका लागि स्ट्याण्डर्ड रुमका लागि डिनर र ब्रेकफास्टसहित २५ हजारको प्याकेज तयार गरिएको रिसोर्टका महाप्रबन्धक सुमन श्रेष्ठले जानकारी दिए। यो प्याकेजमा दुई जनाले मनोरञ्जन लिन सक्नेछन्। प्राइभेट ज्याकुजी सहितको सुइट रुमको भने एक रातको ६१ हजार रुपैयाँ पर्छ।

रिसोर्टका महाप्रबन्धक सुमन श्रेष्ठ

यहाँ डेस्टिनेसन वेडिङका लागि आउनेहरु पनि बढिरहेका छन्। रिसोर्टले विवाह समारोहका लागि सिंगै रिसोर्ट बुक गर्ने प्याकेज पनि ल्याएको छ।

यस्तै बिहानै योगा गर्न चाहनेहरुका लागि ‘जंगल भित्रै छु’ भन्ने आभाष हुनेगरिको सत्तल तयार पारिएको छ।

योगा गर्ने ठाउँ नजिकै छ नेपाली किचेन जहाँ हरेक बिहान सेलरोटी पाक्छ। नेपाली चुलोमा दाउरा बालेर तयार पारिने नेपाली परिकार यहाँको अर्को विशेषता हो। योगाभ्यास सकेपछि नेपाली किचेनतिर जानु र तात्तातो सेल तरकारी खानु कति रिफ्रेसिङ अनुभव होला!

‘टेरेसेसको भिजन भनेकै लाइफ टाइम मेमोरिज् हो। जुन हरेक व्यक्तिका लागि फरक फरक हुन्छ। कोही एक्लै आउँछन् जसले यहाँ प्रकृति र आफैंसँग कनेक्ट हुन सकुन्। कपल आउनेहरु एकअर्कासँग राम्रो समय बिताउन सकुन्। अनि सेलिब्रेसन मुडमा आउनेहरुले जे चाहन्छन् त्यो यहाँको सेटिङले अनुभूति दिलाउँछ,’-चुल्हो छेवैमा तेन्जिङले भने।  

तेन्जिङको आँखा अब एभरेष्टतर्फ छन् जहाँ यही समूहले अर्को प्रोपर्टी बनाइरहेको छ जुन आकारमा सानो भएपनि लेआउट लाँकुरीभञ्ज्याङकै टेरेसेस जस्तै हुनेछ।

टेरेसेसमा रहेको नेपाली किचेनमा तेन्जिङ

टेरेसेसका ५० प्रतिशत गेस्ट आन्तरिक बजारकै हुन् जसलाई जोगाउनु र थप हिस्सा विस्तार गर्नु महत्वपूर्ण रहेको उनले देखेका छन्। तेन्जिङकै शब्द सापटी लिने हो भने टेरेसेसले यतिबेला डाइभर्स सेक्टरका गेस्ट ल्याउनका लागि ‘वाइड रेन्ज’को मार्केटिङ गरिरहेको छ। सामाजिक संजालमार्फत ‘इन्फ्लुयन्सर मार्केटिङ’को पनि प्रयोग गरिरहेको छ। फेयरहरुमार्फत विदेशी बजारमा पनि टेरेसेसले नियमित उपस्थिती जनाउने तथा वेडिङ प्लानर र ट्राभल एजेन्टहरुसँग पनि डाइरेक्ट कनेक्सनमा काम गरिरहेको छ।

उनी भन्छन्, ‘यहाँ हाम्रो विस्तार पूर्वाधारमा होइन। यो साइज पर्फेक्ट छ। हामीसँग पूर्ण क्षमता छ। अब हामी डाइभर्स सेक्टरका ग्राहक चाहन्छौं। हामी वाइड प्लानमा छौं। पर्यटन भन्ने कुनै मौसम विशेषमा मात्र हुन्छ भन्ने न्यारेटिभ नै बदल्नुपर्छ भन्ने छ। यहाँ हिउँद वर्षा सबैखाले मौसममा पर्यटक ल्याएर सिजन अनुसार फरक फरक अनुभव दिने हाम्रो उद्देश्य हो।’

पर्यटन क्षेत्रमा थपिएका नयाँ होटल र रिसोर्टहरुलाई प्रतिस्पर्धात्मक रुपमा भन्दा पनि सकारात्मक रुपमा लिनुपर्छ भन्छन् तेन्जिङ।

‘उही १०० पर्यटक तानातान गरेर बस्ने भन्दा पनि १ हजार पर्यटक ल्याउनतर्फ काम गर्न सकियोस्। हामी सबैले यस क्षेत्रको विकास र विस्तारका लागि सहकार्य गरेर अघि बढ्नु राम्रो जसलाई प्रतिस्पर्धाले अझ गुणस्तरीय बनाउन मद्दत गर्छ,’ उनले भने।

कोभिड-१९ पछि सेलाएको पर्यटन उद्योग अझै राम्ररी तङ्ग्रिन सकेको छैन। बेरोजगारी बढ्दो छ अनि युवाहरु विदेश पलायन हुने क्रम पनि बढ्दो। यो वास्तविकतासँग तेन्जिङ अपरिचित छैनन्। त्यसैले उनीहरुले रिसोर्टमा ४० प्रतिशत स्थानीयलाई रोजगारी दिने नीति लिएका छन्। रिसोर्टमा हाल १०० कर्मचारी कार्यरत छन्।

पढेलेखेका युवा त छँदैछन्, खेतीकिसानी गरिरहेका स्थानीयलाई पनि यहाँ काम गर्ने ठाउँ छ। रिसोर्टको किचेन गार्डेनमा स्थानीयहरुनै सामेल भएर गोडमेल गर्छन्। वनजंगलको संरक्षणदेखि रिसोर्टले थालेको किवी खेतीको रखवारी पनि उनै स्थानीयले नै गर्दै आएका छन्। यहाँको किचनमा प्रयोग हुने तरकारी र हर्ब्स यहीँ नै उत्पादन हुन्छ।

युवाहरु विदेश पलायन हुने र उतै बस्ने ट्रेन्ड भए पनि तेन्जिङ नेपाल फर्किए किनभने उनीसँग पारिवारिक व्यावसायिक विरासत अघि बढाउने अवसर थियो। तर यहाँ अवसर नपाएर विदेश गइरहेको ठूलो जमातले भने उनलाई चिन्तित बनाउँछ। 

‘यहाँ काम गर्न सहज छैन तर अवसर नभएको पनि होइन। फाइनान्सियल रिवार्ड विदेशमै धेरै होला तर यहाँको रिवार्ड इन्टरनल हुन्छ। यहाँ कामको रिवार्ड रुपैयाँमा भन्दा पनि आत्मसन्तुष्टीमा मापन हुन्छ। मलाई यही इन्टरनल रिवार्डले तान्यो र म फर्किएँ। यही रिवार्डले मलाई मोटिभेसन पनि दिइरहेको छ।’

तेन्जिङको आँखा अब एभरेष्टतर्फ छन् जहाँ यही समूहले अर्को प्रोपर्टी बनाइरहेको छ जुन आकारमा सानो भए पनि लेआउट लाँकुरीभञ्ज्याङकै टेरेसेस जस्तै हुनेछ।