१६ खर्ब घोटाला गरेको ठहर गर्दै भियतनामकी रियल इस्टेट टाइकुन ल्यानलाई सुनाइयो मृत्युदण्ड सजाय

बिजमाण्डू
२०८० चैत्र ३० गते ०९:०१ | Apr 12, 2024
१६ खर्ब घोटाला गरेको ठहर गर्दै भियतनामकी रियल इस्टेट टाइकुन ल्यानलाई सुनाइयो मृत्युदण्ड सजाय
भियतनामकी रियल स्टेट टाइकुन ट्रुओङ माई ल्यान (सेतो पहिरनमा) Photo : EPA

भियतनामको अदालतले त्यहाँको रियल इस्टेट टाइकुन ट्रुओङ माई ल्यानलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलर (१६ खर्ब रुपैयाँभन्दा बढी) आर्थिक धोकाधडी गरेको आरोपमा उनलाई मृत्युदण्डको सजाय हो।

Tata
GBIME
NLIC

ल्यान रियल इस्टेट डेभलपर भान थिन पाट होल्डिङग्स ग्रुपकी अध्यक्ष हुन्। बिजनेस हब हो ची मिन सहरमा बैंकिङ नियमहरु उल्लंघन गरेर धोकाधडी गरेको आरोप उनीमाथि छ। उनले हजारौं नक्कली फर्महरु दर्ता गरेको र सरकारी अधिकारीहरुलाई घुस दिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

६७ वर्षीया ल्यानका वकिलले मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन दिने बताएका छन्। ल्यानले आफूमाथि लगाइएको आरोप गलत भएको दाबी गर्दै आएकी छन्।

भियतनाममा हिंसात्मक अपराधमा मृत्युदण्ड दिइनुका साथै आर्थिक अपराधमा समेत मृत्युदण्ड दिने कानून छ।

अदालतमा ल्यानसहित अन्य प्रतिवादी Photo : AFP

सो मुद्दामा प्रतिवादी रहेका ८४ जनालाई विभिन्न सजाय सुनाइएको छ। उनीहरुलाई ३ वर्षदेखि जन्मकैदको सजाय सुनाइएको छ। ल्यानका श्रीमान इरिक चुलाई ९ वर्षको सजाय सुनाइँदा भतिजीलाई १७ वर्ष कैदको फैसला भएको छ।

सजाय सुनाइएका ल्यानसँगै अन्यले साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापनमा उनले गैरकानूनी क्रियाकलाप गरेको अदालतले ठहर गरेको छ। घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लंघन गरेको प्रमाणित हुने अदालतले जनाएको छ।

सन् २०२२ ल्यान पक्राउ परेकी थिइन्। त्यसअघिसम्म उनी भियतनामको ‘फाइनान्सियल वर्ल्ड’ मा मुख्य भूमिका निर्वाह गर्थिन्। यो मुद्दाले भियतनामको राजनीतिमा नै ठूलो हलचल ल्याएको छ। दुईजना राष्ट्रपति र दुईजना प्रधानमन्त्रीले यही मुद्दाका कारण राजीनामा नै गर्नु परेको थियो।