पर्यटकीय होटलहरुमा नयाँ वर्ष लक्षित ३०% प्रतिशतसम्म छुट, साता अगावै बुकिङ सुरु

वसन्तराज उप्रेती
२०८० चैत्र २४ गते ०६:१४ | Apr 6, 2024
पर्यटकीय होटलहरुमा नयाँ वर्ष लक्षित ३०% प्रतिशतसम्म छुट, साता अगावै बुकिङ सुरु

काठमाडौं। नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुलुकका पर्यटकीय गन्तव्यका होटल उद्योगले आकर्षक प्याकेज सार्वजनिक गरेसँगै यतिखेर अग्रिम बुकिङ धमाधम भइरहेको छ। बर्सेनि नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रम आयोजना गर्दै आएको उद्योगले यो वर्ष तुलनात्मक रुपमा पर्यटकको माग वृद्धि भएको जनाएको छ।

Tata
GBIME
Nepal Life

पोखरा, सौराहा, भैरहवा, भक्तपुर लगायत गन्तव्यमा सञ्चालित होटलमा न्यूनतम १० देखि अधिकतम ३० प्रतिशतसम्म छुट योजना सार्वजनिक हुँदै आएको होटल संघ नेपालले जनाएको छ। छुटको सुविधा विदेशी मात्रै नभइ आन्तरिक पर्यटकले पनि लिन सक्छन्। कतै सडक महोत्सवसँगै प्याकेज छ, कतै साँस्कृतिक पर्व-उत्सव मन पराउनेका लागि परम्परागत जात्रामा सहभागितासहितको प्याकेज छ।

‘पहिला हेरी यो समय आन्तरिक र भारतीयसँगै चिनियाँ र अन्य मुलुकका पर्यटकको आवागमन राम्रोसँग वृद्धि भएको छ,’ संघका अध्यक्ष विनायक शाहले भने, ‘यो सँगै विभिन्न पर्यटकीय गन्तव्यमा हुन लागेको विशेष महोत्सवले थप आकर्षण थपेको छ। यसपाली हामीले पहिलोपटक भक्तपुरमा बिस्का जात्रा विशेष प्याकेज ल्याएका छौं।’

मुलुकभर संचालित होटलले आआफ्नो स्तरअनुसार आकर्षक प्याकेज सार्वजनिक गरिसकेको अध्यक्ष शाहले जानकारी दिए। आन्तरिक र बाह्य पर्यटकले यो समय थप विशेष अनुभव लिन सकुन् भन्ने उद्देश्यले छुटसहितको आकर्षक प्याकेज सार्वजनिक हुँदै आएको उनले बताए।

‘यो समयलाई विशेष बनाइदिँदा पर्यटकलाई खुसी बनाउनका साथै मुलुकको दीर्घकालीन प्रचारप्रसार हुने देखिन्छ,’ उनले भने, ‘यसै कारण केही न केही छुट दिइएको हो। होटल उद्योगको क्षमताअनुसार पर्यटक ल्याउनका लागि यस प्रकारको कार्यक्रमले टेवा पुर्‍याउने विश्वास लिएका छौं।’

क्षेत्रीय होटल संघ पोखराले चैत २९ देखि नयाँ वर्ष २०८१ को पहिलो दिन वैशाख १ गतेसम्म सडक महोत्सव गर्दैछ। पोखरामा पर्यटक आरक्षित गर्न बर्सेनि हुने यो सडक महोत्सवलाई विभिन्न गतिविधि थपेर पाहुना रिझाउने बनाउने गरिएको छ। गण्डकी प्रदेशको रैथाने परिकार, संस्कृति प्रवर्धन गर्ने उद्देश्यले १९ औं संस्करणको नव वर्ष फेवा सडक महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष लक्ष्मण सुवेदीले बताए।  

सरकारले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गरेसँगै त्यहाँका होटलले चैत र वैशाखभर पोखरा घुम्न आउने पर्यटकलाई २० प्रतिशत छुटको योजना सार्वजनिक गरिसकेको जानकारी उनले दिए। यस अन्तर्गत एक हजार रुपैयाँदेखि २५ हजारभन्दा बढी शुल्क रहेको होटलमा छुट लागू हुनेछ।

‘धेरै लामो प्रयासपछि पर्यटकको पहिलो रोजाइ पोखरा पर्यटकीय राजधानीको रुपमा घोषणा भएको छ। महोत्सवमा पनि यो योजना लागू भएसँगै धेरै भन्दा धेरै पर्यटकको आवागमन हुने आशा लिएका छौं,’ अध्यक्ष सुवेदीले भने, ‘अहिले अग्रिम बुकिङ पनि राम्रो आइरहेको छ।’

यतिखेर पोखरामा संचालित होटलमा ६० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको उनले जानकारी दिए।  

उता चितवनमा सौराहाको छुट्टै आकर्षण छ। गत वर्षको तुलनामा यो समय सौराहामा आन्तरिक तथा बाह्य पर्यटकबाट नयाँ वर्षका लागि अग्रिम बुकिङ आउन थालिसकेको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ। नेपाली नयाँ वर्षलाई मध्यनजर गर्दै सौराहाका होटलले आआफ्नातर्फबाट सेवा शुल्कमा ३० प्रतिशतसम्म छुट योजना लागू गरेको संघका अध्यक्ष दीपक भट्टराईले बताए।

नेपालमा चिनियाँ पर्यटकको आगमन वृद्धिसँगै यतिखेर सौराहाका होटलमा ६० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको छ। संघले नयाँ वर्ष २०८१ लाई केन्द्रित गर्दै अघिल्लो दिन सांगीतिक कार्यक्रम आयोजनाको तयारी गरेको उनले जानकारी दिए।    

उता भैरहवामा बढ्दो गर्मीका बीच पनि पर्यटक आइरहेका छन्। नयाँ वर्ष नजिकिँदै गर्दा आन्तरिक र बाह्य पर्यटकबाट अनलाइनमार्फत अग्रिम बुकिङ आउन थालिसकेको भैरहवास्थित क्षेत्रीय होटल संघ सिद्धार्थले जनाएको छ। भैरहवाका विभिन्न होटलले आफ्नो स्तरअनुसार खानपिनदेखि बसोबाससम्म आकर्षक छुटको व्यवस्था गर्दै आएको संघका अध्यक्ष सीपी श्रेष्ठले बताए।

संचालित अधिकांश होटलमा पर्याप्त पाहुना नभएका कारण बसोबासमा ५० प्रतिशतसम्म छुट लागू हुँदै आएको उनले जानकारी दिए। पर्यटकका लागि रेष्टुरेन्ट तथा होटल उद्योगको सहकार्यमा चैत ३० गते सडक महोत्सव गर्ने तयारी छ।     

उनका अनुसार साना ठूला गरेर करिड डेढ सय होटल सञ्चालनमा रहेको रुपन्देहीमा ठूला होटलमा ३५ प्रतिशत र साना होटलमा १५ प्रतिशत अकुपेन्सी कायम भइरहेको छ।  

उता भक्तपुरले यसपटक पर्यटकलाई बिस्का जात्राको रौनकमा सहभागी गराउँदैछ। क्षेत्रीय होटल संघ भक्तपुरले आगामी मंगलबारदेखि सुरु हुने बिस्का जात्राबाटै पर्यटक लक्षित विशेष कार्यक्रम र प्याकेज सार्वजनिक गरिसकेको जनाएको छ।

संघका अध्यक्ष सत्यराम सुवालले भक्तपुर नगरपालिकामा अप्रिल महिनायता पर्यटकको आवागमन सामान्य अवस्थामा फर्किसकेको बताए।

‘२७ गतेबाट सुरु हुने बिस्का जात्रा पर्यटकका लागि निकै रोमाञ्चक रहेको छ। होटल संघ केन्द्रीय कार्यालयको सहकार्यमा पाँचतारे होटलमा रहेका पर्यटकलाई जात्रामा सहभागी गराउने योजना बनाएका छौं,’ उनले भने, ‘यसका लागि हामीले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा विशेष सुरक्षाको व्यवस्था गरेका छौं।’

जात्रामा आउने पर्यटकका लागि भक्तपुरका होटल तथा रेष्टुरेन्टले दुई हजारदेखि चार हजार रुपैयाँको प्याकेजमार्फत जात्रा हेर्ने, स्न्याक्स र डिनरको योजना सार्वजनिक गरेको उनले जानकारी दिए। विभिन्न होटलले २० प्रतिशतसम्म छुटको योजना लागू गर्दै आएका छन्।  

उनका अनुसार यतिखेर भक्तपुरका होटलमा ८० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको छ। आवागमन भइरहेका पर्यटकमध्ये १० प्रतिशत आन्तरिक पर्यटक रहेको उनले जानकारी दिए।