भिजी फाउन्डेसन र इनभिजनले काठमाडौंका दुई स्कुलमा डिजिटल ल्याब बनाए, कम्प्युटर सिक्दै विद्यार्थी

बिजमाण्डू
२०८० चैत्र २३ गते १५:४२ | Apr 5, 2024
भिजी फाउन्डेसन र इनभिजनले काठमाडौंका दुई स्कुलमा डिजिटल ल्याब बनाए, कम्प्युटर सिक्दै विद्यार्थी

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई डिजिटल प्रविधिप्रति पहुँच पुर्याउनका लागि इनभिजन एजुकेसनले विशाल ग्रुप फाउन्डेसनसँग मिलेर सुरु गरेको अभियानले दुई विद्यालय लाभान्वित भएको छ।

Tata
GBIME
Nepal Life

चीनको सांघाइस्थित कन्कोर्डिया इन्टरनेशनल स्कुलमा स्थापना भएको संस्था इनभिजन एजुकेसनले विशाल ग्रुप फाउन्डेसनसँग मिलेर सन् २०२२ देखि सुरु गरेको यो पहलबाट काठमाडौंकै दुई सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी गरी करिब २ सयको शैक्षिक स्तर बढेको बताइएको छ।  

इनभिजन एजुकेसनका संस्थापक श्रेयस शर्मा र रुलिन हुवाङले नेपालका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई अत्याधुनिक डिजिटल प्रविधिसँग निकट लैजानका लागि फाउन्डेसनसँग सहकार्य गरेका हुन्।

यस पहलका बारेमा  संस्थाका सहसंस्थापक रुलिन हुवाङ भन्छन्- ‘हामीले अवसरबाट बञ्चित विद्यार्थीहरुका लागि डिजिटल साक्षरताको अभियान अघि बढाउन चाहेका थियौ जसबाट उनीहरुले प्रविधिको सहायताबाट आफ्नो ज्ञानको दायरा फराकिलो बनाउन सकुन्।’

सांघाईस्थित इन्भिजन एजुकेसन संस्थामा पछिल्लो समय थप ६ जना भिजनरी युवाहरु जोडिएका छन् जसले बिभिन्न परियोजनाहरु संचालन गरी चीन र नेपालका विद्यार्थीहरुलाई डिजिटल शिक्षा दिने अभियानमा काम गरिरहेका छन्।

यस संस्थामा सदस्यका रुपमा स्टिभ यीन, एमी वाङ, पेन्नी किम र जोनाथन लुइथ आवद्ध छन् भने मेन्टरका रुपमा समर यु र जो फामब्रो आबद्ध छन्।  

उनीहरुले गत वर्ष पहिलो परियोजनाका रुपमा दक्षिणी चीनको गुआङडोङ प्रान्तको एक विद्यालयका लागि ६० वटा कम्प्युटर संकलन गरी हस्तान्तरण गरेका थिए।

संस्थाले सँधै नै नेपालका विद्यालयहरुमा डिजिटल शिक्षा दिनुलाई नै आफ्नो लक्ष्य बनाएको जनाएको छ। यसका लागि उक्त संस्थाले विशाल ग्रुप फाउन्डेसनसँग मिलेर यो अभियान सुरु गरेको हो।

‘कापी र कलमको सहायताले विद्यार्थीले डिजिटल साक्षरता हासिल रहिरहेको अवस्थामा हामीले डिजिटल ल्याब नै बनाएर विद्यार्थीहरुको शैक्षिक अनुभवलाई रुपान्तरण हुने गरीको शिक्षा दिइरहेका छौं।’- संस्थाका सहसंस्थापक श्रेयस शर्माले बताए।

सुरुवातमा काठमाडौंका दुई सामुदायिक विद्यालयहरु कोसेली स्कुल र लाइफ भिजन एकेडेमीमा अभियान संचालन गरिएको हो।

यो अभियान संचालन हुनुअघि कोशेली स्कुलमा ८२ विद्यार्थीका लागि जम्मा एक कम्प्युटर थियो भने लाइफ भिजनमा १ सय विद्यार्थीका लागि दुईवटा कम्प्युटर थियो।

इनभिजन टिमको आगमन पछि ती विद्यालयहरुका शिक्षकहरुले तालिम प्राप्त गरे जसबाट उनीहरुले आफ्नो शिक्षण शैली र प्रविधि स्तरोन्नती गर्न सके। उनीहरुले आफ्ना विद्यार्थीहरुको समुन्नत भविष्य निर्माणका लागि प्रविधिसँग जोडेर पढाउन सक्ने सीप हासिल गरे ।

‘जब हामीले कोसेली स्कुलमा निर्माण गरेको कम्प्युटर ल्याबको ढोका खोल्यौं, विद्यार्थीहरुको उत्सुकता कोठाभरि फैलियो। हामीले उनीहरुलाई कसरी कम्प्युटर अन गर्ने भनेर सिकायौं र त्यसलगत्तै उनीहरुका आँखामा नयाँ संभावनाको संसार फैलिएको हामीले महसुस गर्यौं। उनीहरुले हरेक क्लिक र कोडका सहायताले अहिलेसम्मको अज्ञानतालाई मेट्न सके। विद्यार्थीहरुले हामीले सिकाएका सबै सिपहरुलाई उत्सुकताका साथ सिके जसबाट उनीहरुले सुन्दर डिजिटल कलाकृतिहरु तयार पारे।’- कोसेली स्कुलमा विद्यार्थीहरुलाई सिकाउँदाको अनुभूति इनभिजन इजुकेसन टिमले यसरी वर्णन गरेको छ।

काठमाडौंमै भएर पनि शैक्षिक पूर्वाधार उपलब्धताका हिसाबले कमजोर रहेका यी दुबै सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि यो पहल गुणस्तरीय शिक्षातर्फ एक कदम अघि बढ्नुका रुपमा लिएको टिमको भनाई छ।