के कारणले घटिरहेको छ कोको उत्पादन? जसकारण विश्वभर बढिरहेको छ चकलेटको मूल्य

बिजमाण्डू
२०८० चैत्र २३ गते ०६:३६ | Apr 5, 2024
के कारणले घटिरहेको छ कोको उत्पादन? जसकारण विश्वभर बढिरहेको छ चकलेटको मूल्य
Photo : Shutterstock

चकलेट लभरहरुले पछिल्लो केही समयदेखि आफ्नो मनपर्ने ब्राण्डको चकलेटको मूल्य बढिरहेको महसुस गरिरहेका होलान्। यस्तै, डार्क चकलेट बजारमा धेरै देख्न छाडे होलान्। चकलेटको अभाव र मूल्य आउने दिनमा थप बढ्दै जाने लगभग निश्चित छ, कारण – जलवायु परिवर्तनको असर।

Tata
GBIME
Nepal Life

चकलेट बनाउन प्रयोग हुने कोकोको बजारमा माग उच्च हुँदा विश्वभर चकलेटको मूल्य बढ्ने भएको हो।  सन् २०२२ को जुलाई देखि सन् २०२४ को फेब्रुअरी सम्म कोकोको मूल्य १३६ प्रतिशतले बढिसकेको संयुक्त राष्ट्र संघीय निकाय युएनसीटीएटीले जनाएको छ।

मार्च २६ मा कोकोको मूल्य प्रति टन १० हजार अमेरिकी डलर पुगेको थियो। त्यो मूल्य हालसम्मकै उच्च हो।

‘एल निनो’ भनेर चिनिने मौसमी अवस्थाका कारण चकलेट बनाउन प्रयोग हुने कोकोको उत्पादनमा कमी आएको छ। कोकोको मुख्य स्रोत अफ्रिकी देशहरु हुन्। विश्वभर धेरै कोको निर्यात गर्ने पूर्वी अफ्रिकाकी देशमा हाल उच्च तापक्रम वृद्धि भइरहेको छ। यस्तै, अत्याधिक वर्षा र अन्य वातावरणीय जोखिम पनि त्यहाँ उच्च छ। जसको प्रत्यक्ष असर कोको उत्पादनमा परेको छ।

सन् २०२३ को अन्त्यमा घाना र आइभोरी कोस्टमा अत्याधिक वर्षाका कारण सुट भाइरस र ब्ल्याक पड रोग देखिएको थियो। सो रोगले कोकोको रुखमा क्षति पुगेको थियो। घानाको कोको मार्केटिङ बोर्ड कोकोबोडका अनुसार स्वलन सुट भाइरसका कारण ५ लाख ९० हजार हेक्टरमा गरिएको कोको खेतीमा असर परेको छ। सो भाइरसले कोकोको रुखलाई नै नष्ट गर्छ। घानामा मात्रै १० लाख ३८ हजार हेक्टर जमिनमा कोको खेती हुन्छ।

विश्वमा सबैभन्दा धेरै चकलेट उत्पादन गर्ने आइभोरी कोस्टको अवस्था पनि उस्तै छ। त्यहाँको ३० प्रतिशत कोको खेती भाइरसका कारण नष्ट भएको छ। घाना र आइभोरी कोस्टमा विश्वभरमा उत्पादन हुने कोकोको ६० प्रतिशत कोको उत्पादन हुन्छ।

कोको दाना । photo : reuters

सन् २०२४ को फेब्रुअरीमा आइभोरी कोस्ट र घानाको बन्दरगाहमा कोको आयातको संख्या २८ प्रतिशत र ३५ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय कोको संस्थाले जनाएको छ। हाल सो दुवै देशको कोको उद्योग संकटसँग जुधिरहेको छ।

कोको उत्पादनमा कमी आउनुको अर्को कारण हो गरैकानुनी सुन उत्खनन। अफ्रिकी देशमा भइरहेको गरैकानुनी उत्खननको प्रभावले पनि पहिला जसरी कोको उत्पादन नभएको स्थानीय कृषक बताउँछन्। सुन खानीका कारण धेरै किसानले जग्गा गुमाएको र भएका जग्गाको उत्पादकत्वमा पनि ह्रास आएको छ। सुन उत्खननको प्रभाव कोको खेतीमा प्रष्टै देखिएको विभिन्न अनुसन्धानहरुले देखाएको छ।

अन्तर्राष्ट्रिय कोको संस्थाले सन् २०२३-२४ मा ३ लाख ७० हजार टन कोको कमी हुने अनुमान गरेको छ। यसकारण कोकोको मूल्य बढ्ने लगभग निश्चित छ। त्यसको प्रत्यक्ष असर चकलेटको मूल्यमा पनि पर्नेछ। यो वर्षको अन्त्यसम्म चकलेटको मूल्य ह्वात्तै बढ्ने अनुमान छ।

सन् २०२३ को अन्त्य र सन् २०२४ को सुरुवातमा धेरै चकलेट उत्पादक कम्पनीहरुले कोको अभावका कारण चकलेटको मूल्य बढ्न सक्ने बताइसकेका छन्। हाल स्टकमा रहेका कोको प्रयोग गरेर नै चकलेट कम्पनीहरुले चकलेट उत्पादन गर्नुपर्ने अवस्था देखिएको छ।

गत डिसेम्बरमा बेलायतमा फेस्टिभ चकलेट बक्सको मूल्य एकै वर्षमा ५० प्रतिशतले बढेको थियो। यस्तै, गत वर्ष अमेरिकाको रिटेल स्टोरहरुले चकलेट प्रोडक्टको मूल्य सन् २०२२ को तुलनामा ११.६ प्रतिशतले बढाएको थियो। यो वर्ष इस्टरमा चकलेट खोजि हिँड्नेले पनि आफूलाई मनपर्ने ब्राण्डको चकलेट पाउन धेरै रकम तिर्नुपरेको थियो।

बजारमा हाल देखिन थालेको गम्मी बियर क्यान्डी ।

चकलेटको विकल्प खोज्दै कम्पनीहरु

कोको अभाव हन थालेपछि चकलेट उत्पादन कम्पनीहरु आफ्नो उत्पादनलाई ‘डाइभर्सिफाइड’ गर्ने प्रयत्नमा जुटेका छन्। कोकोमा निर्भरतालाई घटाउँदै उनीहरु ग्राहकलाई आफ्नो उत्पादन प्रति आकर्षित गर्ने प्रयास गरिरहेका छन्। जसका लागि उनीहरुले जेली बिन्स, स्ल्टी स्न्याक्स् र अन्य विकल्पहरुको प्रयोग गरिरहेका छन्।

बजारमा हाल विभिन्न फलेबरमा चकलेट पाउनुको कारण पछाडि कोको अभाव नै हो। यो वर्ष चकलेट कम्पनी हर्सीले इस्टरमा क्यारमेल फिल भएको क्याडबरी क्यारमेलो मिनेचर चकलेट, लेमन क्रिप्स किटक्याट र हरिबो गम्मी बियर जस्ता प्रोडक्ट बजारमा ल्याएका थिए। हर्सीले आफ्नो गम्मी प्रोडक्टको उत्पादन क्षमतामा सन् २०२४ सम्म ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ।

अन्य चकलेट कम्पनीहरुले पनि गम्मी प्रोडक्ट उत्पादनमा ध्यान दिइरहेक छन्। अमेरिकामा सन् २०२३ मा नन-चकलेट र गम्मी प्रोडक्टको बिक्रीमा १२.३ प्रतिशत बढोत्तरी भएको थियो। सोही समयमा चकलेटको बिक्री भने ५.३ प्रतिशतले घटेको थियो।

नेसले चलकेट प्रोडक्टको मूल्य सन् २०२३ मा ७.२ प्रतिशतले बढेको थियो। जसकारण नेसलेको चकलेटको मूल्य पनि आउने दिनमा थप बढ्ने छ। लि-लाक चकलेटले हालसम्मकै ठूलो समस्या देखिएको भन्दै खर्च कटौतीको माध्यम खोजिरहेको जनाएको छ।