टी-२० फ्रेन्डसिप कपमा नेपालको लगातार दोस्रो जित, भारतको बरोडालाई २७ रनले हरायो

बिजमाण्डू
२०८० चैत्र २० गते १८:४३ | Apr 2, 2024
टी-२० फ्रेन्डसिप कपमा नेपालको लगातार दोस्रो जित, भारतको बरोडालाई २७ रनले हरायो
नेपाली खेलाडी। फाइल तस्वीर


काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको रणजी टोली बरोडालाई हराएको छ। भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल २७ रनले विजयी भएको हो।

Tata
GBIME
NLIC

साइ मेघप्पन स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कुशल मल्लको उत्कृष्ट ब्याटिङको सहायतामा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको बरोडा निर्धारित २० ओभरमा १२९ रनमा समेटियो।

बरोडाको सुरुवात राम्रो हुन सकेन। करण केसीले पहिलो ओभरमा २ विकेट लिएपछि बरोडाको ब्याटिङ लाइन दबाबमा आयो।

३ रन बनाएका बरोडाका ब्याटर मोहित मोन्गियालाई ३.४ ओभरमा सोमपाल कामीले बोल्ड आउट गरे। त्यस्तै ४.१ ओभरमा अमित पासी १४ रन बनाएर रनआउट भए। लगत्तै प्रशिक्षित पतिदार गुल्सन झाको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट भए।

त्यसपछि भने कप्तान विष्णु सोलन्की र भानु पनियाँले इनिङ्स उकास्ने प्रयास गरे। यी दुईले ५३ रनको साझेदारी गरे। विष्णुले २५ रन बनाए। भानुले बरोडाका लागि २६ बलमा ३ छक्काको सहायतामा ३८ रन जोडे। उनी अभिनाश बोहराको बलमा करण केसीबाट क्याचआउट भए। त्यस्तै बाबा खानले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

नेपालका करणले ३, सोमपाल र अभिनाशले समान २ तथा गुल्सन र दीपेन्द्रसिंहले १/१ विकेट लिए।

नेपालको इनिङ्स

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेनन्। ४.२ ओभरभित्र यी दुवै ब्याटर समान ९ रन बनाएर पेभेलियन फर्किए।

त्यस्तै कप्तान रोहितकुमार पौडेल १८ रन बनाएर ७.३ ओभरमा रनआउट हुन पुगे। ११.५ ओभरमा २७ बलमा २५ रन बनाएका अनिलकुमार साह आउट हुँदा नेपाल ७८-४ को अवस्थामा थियो। लगत्तै अर्को ओभरमा गुल्सन झा १३ रन बनाएर आउट भए।

अफ्ठ्यारो अवस्थामा पुगेको नेपालको पारी कुशल मल्ल र सन्दीप जोराले सम्हाले। यी दुईले ४८ रनको साझेदारी गरे। सन्दीप १७.५ ओभरमा आउट भए।

बिस्फोटक ब्याटिङ गरेका कुशल मल्ल ४० रनमा अविजित रहे। २५ बल फेस गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

बरोडाका लक्षित तोक्सियाले २ तथा परिष्कृत पतिदारले १ विकेट लिए।

जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई हराएको थियो। बरोडाको यो लगातार दोस्रो हार हो। बरोडा सोमबार गुजरातसँग पराजित भएको थियो।