
काठमाडौं। अर्थमन्त्रीमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको इन्ट्रीलाई स्वागत गरेको सेयर बजार फेरि ओरालो लाग्न थालेको छ।
पुन अर्थमन्त्री भएपछि ९१ अंकले बढेको सेयर बजार फेरि घटेर त्यअघिकै विन्दुमा आएको छ। मंगलबार बजार परिसूचक १.८५ अंकले घटेर २०१०.२१ विन्दु कायम भएको छ।
नेप्से आइतबार १७.३० र सोमबार ६.२६ अंकले घटेको थियो। पुन अर्थमन्त्री नियुक्त हुँदा फागुन २३ मा बजार २०१७ विन्दुमा थियो। पुनको नियुक्तिलाई स्वागत गरेको बजार बढेर फागुन ३० मा २१०८ विन्दुमा पुगेको थियो।
दोस्रोपटक अर्थमन्त्री बनेका पुनले पदभार ग्रहणका क्रममा सेयर बजारमा सुधार गर्ने बताएका थिए। उनले त्यतिखेर सेयर बजार ६० लाख लगानीकर्ताको भविष्यसँग जोडिएकाले सुधारको कदम चाल्ने भनेका थिए।
उनले मन्त्रालय सम्हाले लगत्तै बजार सुधारका लागि एक साताभित्र कार्ययोजना पेस गर्न धितोपत्र बोर्ड, नेप्से र सीडीएससीलाई पत्र नै काटे। त्यसले पनि लगानीकर्तामा आशा जगाएको थियो।
बोर्डले सम्बद्ध निकाय, लगानीकर्ता र सरोकारवालासँग छलफल गरी मन्त्रीलाई सुझाव बुझाइसकेको छ। तर तत्काल सुधारको कदम चाल्ने भनेका मन्त्री पुनले बोर्डले बुझाएको सुझाव कार्यान्वन गरेका छैनन्।
मन्त्रालयका अधिकारीहरु सेयर बजार सुधारका लागि सम्बद्ध निकायसँग मागेका सुझाव अहिले विश्लेषणकै चरणमा रहेको बताउँछन्।
‘बोर्डले पठाएका सुझाव मन्त्रालयले हेरिरहेको छ। विश्लेषणकै क्रममा छन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तत्काल कार्यान्वयनमा जान्छन् भन्न सकिंदैन्। बजेटले सम्बोधन गर्ला।’
बजारका विश्लेषक र लगानीकर्ता मन्त्री पुनले सुधारको आशा देखाए पनि कार्यान्वयन नहुँदा नेप्से पुरानै लयमा फर्किएको बताउँछन्।
‘सरकार परिवर्तन भएपछि बजारमा केही सुधार हुन्छ भन्ने आशा थियो। तर एक्सन भएन्,’ बजारका एक विज्ञले भने, ‘आशा र कामको बीचमा ग्याप देखियो। त्यही कारण बजार बढ्न सकेन्।’
गत वर्षदेखि अर्थतन्त्रका आन्तरिक सूचकमा अपेक्षित सुधार हुन सकेको छैन। बजारमा माग नबढ्दा आर्थिक गतिविधि सुस्त छ। त्यही कारण बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाउन सकेका छैनन्। यसले उनीहरुको मुनाफा खस्किन पुगेको छ।माग नबढ्दा उत्पादन क्षेका कम्पनीको व्यवसायमा पनि सुधार देखिंदैन।
बजारका जानकारहरु अर्थतन्त्रमा देखिएको समस्या नसल्टिएसम्म लगानीकर्ताको आत्मविश्वास बढ्न नसक्ने धारणा राख्छन्।
‘अपेक्षा गरे अनुसारको सुधार अर्थतन्त्रमा देखिएको छैन। बैंकमा पैसा थुप्रिएको छ। तर, बजारमा गएको छैन,’ एक विश्लेषकले भने, ‘बीएफआईमा देखिएको समस्या हट्नुपर्छ। सबै कम्पनीको बिजनेस घटेर गएको छ। त्यो रिभर्स हुनुपर्छ। त्यसपछि बजार बढ्छ।’
सेयर लगानीकर्ता अम्बिका पौडेल बजारको समस्या पहिचान गरेर सुधारको कदम चाले लगानीकर्ताको मनोबल बढ्ने बताउँछन्।
‘बिरामीलाई रोगको पहिचान गरेर निको बनाउन औषधि चाहिए जस्तै बजारलाई पनि समस्या पहिचान गरेर सुधार चाहिएको छ,’ उनले भने, ‘अविश्वासले लगानीकर्ताको मनोबल बढ्दैन। अहिले त्यही भएको हो।’
२०७८ भदौमा ३१९९ अंक पुगेर ऐतिहासिक उचाइ बनाएको बजार त्यसयता निरन्तर घटेको छ। पछिल्लो डेढ वर्षमा नेप्से १८००-२२०० को विन्दुमा घुमिरहेको छ। नेपाल राष्ट्र बैैंकले सेयर धितो कर्जामा कडाइ गरेपछि नेप्सेले ओरालो यात्रा तय गरेको थियो।
सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने लगानीकर्ताको माग छ। सेयर धितो कर्जामा अहिले १५/२० करोडको सीमा छ।