बजारमा पैसा नभएकाले व्यापार ओरालोतिर, बैंकमा थुप्रिएको रकम निकाल्न सरकारसँग छैन योजना

आकाश बोगटी
२०८० चैत्र १४ गते ०६:१९ | Mar 27, 2024
बजारमा पैसा नभएकाले व्यापार ओरालोतिर, बैंकमा थुप्रिएको रकम निकाल्न सरकारसँग छैन योजना

काठमाडौं । न्यूरोडमा कपडाको व्यापार गर्दै आएका सुजन श्रेष्ठको पसलमा विगतका वर्ष दैनिक एकदेखि डेढ लाख रूपैयाँसम्मको व्यापार हुन्थ्यो। उनले व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्दै आएका थिए।

Tata
GBIME
Nepal Life

तर, अहिले उनको पसलमा मुस्किलले ५०–६० हजार रुपैयाँको मात्र व्यापार हुन्छ। ‘बजारमा पैसा छैन। ग्राहक पनि आउन छाडे,’ श्रेष्ठले भने, ‘न ग्राहक आउँछन्, न त उधारो रकम नै उठ्छ।’

बजारमा पैसा छैन भन्ने श्रेष्ठ मात्र मात्र होइनन्। अधिकांश उद्योगी, व्यापारीले बजारमा पैसा नभएर व्यापार व्यवसाय सुस्ताएको बताउँदै आएका छन्।

अहिले तरलता अभावको अवस्था भने होइन। यतिबेला बैंकहरुमा तरलता (लगानीयोग्य रकम) थुप्रिएको छ। प्रणालीमा ५ खर्ब हाराहारीमा तरलता छ। तर, बैंकमा थुप्रिएको पैसा बजारमा जान सकेको छैन। कर्जा बढ्न नसक्दा र सरकारले भुक्तानीसँगै खर्च गर्न नसक्दा पैसा बजारमा नगएको हो।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भने अहिले पैसा नभएको नभइ बैंकहरुको कर्जा असुली नभइरहेको र केही नियामकीय प्रावधानका कारण कर्जा बढाउन नसकेको अवस्था रहेको बताए।

उनका अनुसार अधिकांश बैंकहरु पुँजीकोष चापसँगै बाह्य लेखापरीक्षण हुने डरले हाल ‘वेट एण्ड वाच’को अवस्थामा बसेका छन्। बाह्य लेखापरीक्षणको प्रक्रिया गत वर्ष नै सकिसक्नु पर्ने थियो। त्यसको ढिलाइले गर्दा बैंकहरु कर्जा बढाउन डराइरहेको थापा बताउँछन्।

कर्जा प्रवाहमा संकुचनसँगै सरकारले आफ्नो दायित्व भुक्तानी नगर्दा त्यसले अर्थतन्त्रको चक्र बिग्रिएको उनको भनाई छ।
उनले भने, ‘सरकारले आफ्नो दायित्व भुक्तानी गरेको छैन। कर्जा प्रवाह खुम्चिएको छ। त्यसकारण अर्थतन्त्रको चक्र बिग्रिएको हो।’

अब मौद्रिक नीतिभन्दा सरकारले वित्त नीतिबाट यो समस्या सभामान गर्नुपर्ने उनको सुझाव छ।

‘सरकारले निर्माण व्यवसायीको भुक्तानी दिए त्यो पैसा बैंकमा जान्छ। उसको रिकभरि हुन्छ,’ उनले भने, ‘बैंकको पुँजीकोषको दवाब कम हुन्छ र उसले कर्जा दिन सक्छ।’

कर्जा प्रवाह नहुँदा उत्पादन तथा उपभोग पनि बढेको छैन। सार्वजनिक सेवा विस्तार हुन सकेको छैन। यसले बजारमा पैसा प्रवाह घटिरहको हो। लगानी गरेको ठाउँबाट फैसा फिर्ता आएको छैन। बजारमा पैसा नभएपछि वस्तु तथा सेवाको उपभोगमा पनि कमी आएको छ। उपभोक्ताको क्रयशक्तिमा पनि ह्रास आएको छ।

पहिला सस्तोमा कर्जा प्रवाह हुँदा धेरैले सेयर, घरजग्गामा लगानी गरे। त्यसबाट प्रतिफल पाएपछि खर्च गर्ने क्षमता बढ्दा उपभोगमा वृद्धि भयो। त्यसले आयात वृद्धि भयो। आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा ह्रास आयो।

तर, अहिले कर्जा प्रवाह नहुँदा घरजग्गा बिक्री रोकिएको छ, सेयर बजार पनि खस्किएको छ। बैंक, लघुवित्त, सहकारीबाट लिएको कर्जा घरजग्गा, सेयरमा फसेको छ। आम्दानी कम भएपछि उपभोग घटेको छ।

उपभोगमा कमी आएपछि उत्पादन घटेको छ। व्यापारीले बजारबाट पैसा उठाउन नसकेपछि बैंकको ऋण, ब्याज र किस्ता तिर्न सकेका छैनन्। यसरी अर्थतन्त्रको चक्र प्रभावित भएको छ।

चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्म १ खर्ब ९० अर्ब हाराहारीमा मात्रै कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकमार श्रेष्ठले कर्जा प्रवाह खुम्चिएको बेला सरकारले काम गरेको भुक्तानी समेत नदिंदा बजारमा पैसा घटेको बताए।

‘सरकारले न निर्माण व्यवसायीको भुक्तानी दिएको छ, न त खर्च बढाउन सकेको छ,’ उनले भने, ‘यता कर्जा प्रवाह बढ्न सकेको छैन। जसले गर्दा बजारमा पैसा नगएको हो।’

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा. शिवराज अधिकारी सरकारले आफ्नो ‘पर्फमेन्स’ देखाउन नसकेको बताउँछन्।

‘हिजोका दिनमा लगानी भएको क्षेत्रबाट आउने रिर्टन (प्रतिफल) प्रभावित भएका कारण इकोनोमीको साइकलले काम गर्न नसकेर अहिले बजारमा पैसाको प्रवाह कम भएको हो,’ उनले भने, ‘सरकारले आफ्नो पर्फमेन्स देखाइ बजारलाई पनि विश्वास गर्नुपर्छ। जति चाँडै सरकारले आफ्ना पोलिसी कार्यान्वयन गर्छ त्यसले छिटो विश्वास जगाउँछ।’