अर्थतन्त्रमा बढ्दो भारतीय डायस्पोराको प्रभाव : विदेशमा अर्बौंको लगानी, रेमिटेन्समा कीर्तिमान

बिजमाण्डू
२०८० चैत्र १२ गते ०६:३९ | Mar 25, 2024
अर्थतन्त्रमा बढ्दो भारतीय डायस्पोराको प्रभाव : विदेशमा अर्बौंको लगानी, रेमिटेन्समा कीर्तिमान

जर्मनीले उच्च दक्ष कामदारहरूका लागि भिसा नीति खुकुलो बनाएपछि पछिल्ला वर्षहरूमा त्यहाँ भारतीयहरूको संख्या निरन्तर बढिरहेको छ। धेरै शिक्षित र अङ्ग्रेजी भाषाको ज्ञान हुने भारतीयहरूले मुख्यतया उच्च तलब हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित क्षेत्रहरूमा जागिर पाइरहेका छन्

Tata
GBIME
Nepal Life

फुल-टाइम काम गर्ने कर्मचारीहरूले औसतमा मासिक ४ हजार ९७४ युरो कमाइ गर्ने गरेका छन्। योसँगै युरोपको बृहत् अर्थतन्त्रमा धेरै कमाउने आप्रवासीहरूको सूचीमा भारतीयहरु शीर्ष स्थान छन्।

जर्मनीमा रहेका भारतीयहरू इतिहासको सबैभन्दा ठूलो डायस्पोरा समूहसँग जोडिएको फराकिलो कथाको प्रतीक हुन्। संयुक्त राष्ट्र संघका अनुसार लगभग १ करोड ८० लाख भारतीयहरू अहिले उत्तर अमेरिका, युरोप, मध्य पूर्व तथ‍ा मलेसिया र सिंगापुर लगायतका एसियाका विभिन्‍न देशमा बस्छन्।

यस वृद्धिका बीच भारतीयहरूको आर्थिक शक्ति आफ्नो देशको सिमानाभन्दा बाहिर फैलिएको अर्थशास्त्रीहरू बताउँछन्। जसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो छाप छोडेको उनीहरूको भनाइ छ।

‘विश्वव्यापी अर्थतन्त्र र उनीहरूको आफ्नै क्रयशक्तिको हकमा पनि यो प्रभाव निकै महत्त्वपूर्ण छ,’ बेलायतको ल्यान्कास्टर विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक भी एन बालसुब्रमण्यमले भने।

बढ्दो भारतीय डायस्पोराले भारत भित्र र विश्वभर विभिन्‍न तरिकाबाट खर्च, बचत र लगानी गर्दै आएको छ। भारतीय रिजर्भ बैंकका अनुसार भारतमा रहेका गैर-आवासीय भारतीय (एनआरआई)का बैंक खातामा अप्रिल २०२२ देखि मार्च २०२३ को बीचमा ७ अर्ब ९९ करोड डलर जम्मा भएको छ। जुन अघिल्लो आर्थिक वर्षको ३ अर्ब २३ करोड डलरभन्दा दोब्बर हो।

बालसुब्रमण्यम भन्छन्, ‘आप्रवासीहरूले आफ्ना छोराछोरीहरूका लागि आवास र राम्रो शिक्षामा खर्च गर्छन्, विशेष गरि दक्षिण भारतको केरलाबाट खाडीका देशमा बसोबास गरिरहेका तथा बेलायतमा आईटीका कर्मचारी र शिक्षाविद्हरूले यस्तो खर्च गर्ने गरेका छन्।’

केही अवस्थामा भारतीयहरूले आर्थिक ढाँचाहरू नै परिवर्तन पनि गरिरहेको बिलफेल्ड विश्वविद्यालयकी समाजशास्त्र प्राध्यापक अमृता दत्त बताउँछिन्। जर्मनीमा भारतीयहरू एक विशिष्ट डायस्पोरा समूह हुन् जसमध्ये धेरैले घरजग्गामा लगानी गरिरहेका छन्। परम्परागत रूपमा घरजग्गामा लगानी नगर्ने देशमा भारतीयले नयाँ ट्रेन्ड सेट गरेको दत्त बताउँछिन्।

दत्तका अनुसार जर्मनीमा धेरै भारतीयहरूले स्टक मार्केट ट्रेडिङ, म्युचुअल फण्ड र बिटकोइनमा लगानी गरिरहेका छन्। यसखाले ठूलो पूँजी चलायमान हुँदा यसले विशेष गरि भारतको रेमिटेन्सलाई बढाएको छ।

२०२३ मा भारतमा १ खर्ब २५ अर्ब डलरको कीर्तिमानी रेमिटेन्स भित्रिएको थियो। जुन अघिल्लो वर्ष करिब १ खर्ब डलर थियो।

बालसुब्रमण्यम भन्छन्, ‘यी तथ्याङ्कहरू सम्भवतः वास्तविकभन्दा कम छन्, र आर्थिक-प्रभावको आंशिक कथा मात्रै बताउँछन्।’

उनी थप्छन्, ‘यसको प्रभाव रेमिटेन्स बढ्नु मात्र होइन, देशबाट आउने र जाने मानिसहरूले आर्थिक रूपमा ल्याएको प्रभाव पनि हो। उनीहरू फर्केर आउँछन्, कम्पनी खोल्छन्, मानिसहरूलाई दक्ष बनाउँछन् र फर्किन्छन्। त्यसैले यो डायस्पोरा समूहले भारतीय आईटी उद्योग र विशेष गरी फर्मास्यूटिकल्स लगायतका उद्योगहरूमा महत्त्वपूर्ण योगदान दिइरहेको छ।’

जीडीपीका आधारमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा पनि भारतीयहरू सबैभन्दा बढी कमाउने जातीय अल्पसंख्यक समूहको रूपमा उदयमान छन्। सन् २०२१ मा प्यू रिसर्च सेन्टरको अनुसन्धानमा ४४ लाखको हाराहारीमा रहेका अमेरिका बाहिर जन्मेका भारतीयहरूले प्रति वर्ष औसत १ लाख २० हजार डलर कमाउने गरेको देखिएको थियो।

अमेरिकी एसियाली क्रयशक्तिको २९ प्रतिशत हिस्सा दक्षिण एसियालीहरूले ओगटेका छन्। जुन आर्थिक प्रभावको ३८१ अर्ब डलर हो।

उनीहरूले त्यो क्रयशक्ति उत्सुकतापूर्वक प्रयोग गरिरहेका छन्। नयाँ दिल्लीस्थित लक्जरी रियल इस्टेट कम्पनी डीएलएफ लिमिटेडको तथ्याङ्क अनुसार रियल इस्टेट लगानीले यसको ठूलो हिस्सा ओगटेको छ।

२०२३ को अप्रिल र सेप्टेम्बरको बीचमा डीएलएफले बेचेका घरजग्गामध्ये २० प्रतिशत एनआरआईहरूले खरिद गरेका थिए, जुन संख्या अघिल्लो आर्थिक वर्षमा १५ प्रतिशत थियो। यो ‘प्याटर्न’ विश्वव्यापी छ। बेलायत, सिंगापुर र खाडीमा पनि भारतीयबीच घरजग्गाको व्यापक माग छ।

रणनीतिक रुपमा गरिएको बचत र लगानीले पनि यस डायस्पोराले पुँजीलाई कसरी कायम राखेको तथा बढाउँदै लगेको छ भन्नेमा भूमिका खेलेको छ। भारतमा शिक्षा पूरा गरेर जागिर पाएपछि कमाएको पैसा कहाँ राख्ने भनेर सोच्ने चलन छ। त्यसैले पनि बचतको योजना गर्ने बानी भारतीयमा हुन्छ।

तथ्यांक हेर्ने हो भने करिब २५ प्रतिशत एनआरआईहरू भारतमा कम जोखिमको लगानी विकल्पहरू छनौट गर्न रुचाउँछन्। जबकि क्यानाडामा रहेका १८ प्रतिशत एनआरआईहरूले भारतमा आफ्नो पोर्टफोलियो भित्र दीर्घकालीन लगानी रणनीतिहरूमध्येको अवकाश योजनालाई प्राथमिकता दिन्छन्। यो संख्या बेलायतमा १६ प्रतिशत र सिंगापुरमा १२ प्रतिशत छन्।

‘उनीहरूले आफ्नो पैसा निकै बुद्धिमतापूर्वक प्रयोग गरिरहेका छन्। अमेरिकाका निजी उद्यमीहरूले जस्तै सुरक्षित लगानी पनि गरिरहेका छन्,’ बालसुब्रमण्यम भन्छन्।

डिजिटलाइज्ड, ग्लोबलाइज्ड र फ्रि-मार्केटको सन्दर्भमा विश्लेषकहरू भन्छन् कि भारतीय डायस्पोराको आर्थिक कथा विश्वव्यापी रूपमा प्रतिबिम्बित हुनेछ।

बालसुब्रमण्यम भन्छन्, ‘भारतीय डायस्पोराको आर्थिक शक्ति अझ बढ्दै जानेछ र महत्त्वपूर्ण पनि रहनेछ। र यो डायस्पोराले कसरी स्वदेशमा लगानी गर्छन् र संयुक्त उद्यमहरू विकास गर्छन् भन्ने कुरा निकै चाखलाग्दो छ, जुन निकै महत्त्वपूर्ण हुनेछ भन्ने मलाई पनि लाग्छ। यो भारतको आगामी आर्थिक नीतिमा पनि धेरै हदसम्म निर्भर रहनेछ, तर अहिलेको लागि यो निकै उदार छ र यसले अझ धेरैलाई प्रेरित गर्नेछ।’

‘खुला बजार नीतिहरूका कारण यी नयाँ आप्रवासीहरू विभिन्‍न देशहरूमा सजिलै आवतजावत गर्न सक्छन्। त्यसैले आज उनीहरू जर्मनीमा छन् भने भोलि अमेरिका वा क्यानडामा हुन सक्छन् किनभने यी सबै देशहरूले उनीहरूलाई प्रतिस्पर्धात्मक नागरिकताको अफर गरिरहेका छन्,’ दत्त थप्छिन्, ‘उनीहरू ३० को दशकका युवाहरू हुन् जोसँग अझै दशकौं काम गर्ने समय छ। उनीहरू अति महत्वाकांक्षी छन् र ठूला कम्पनीहरूले उनीहरूलाई काममा राख्न चाहन्छन् किनभने उनीहरूको योगदान र उत्पादनको मूल्य विश्वव्यापी छ। मलाई लाग्छ, यी उच्च दक्ष धेरै कमाउने मानिसहरूले आर्थिक रूपमा ठूलो योगदान गर्ने क्रम जारी रहनेछ।’