टाटा ग्रुप अफ कम्पनीजको कुल सम्पत्ति ३६५ अर्ब डलरसम्म पुगेको छ। यस तथ्यांकअनुसार भारतको सबैभन्दा बलियो कम्पनी बनेको टाटाको यो सम्पत्ति पाकिस्तानको कुल ग्राहस्थ उत्पादन अर्थात जीडीपीभन्दा धेरै बढी हो।
रिलायन्स ग्रुपका प्रमुख मुकेश अम्बानी विश्वकै धनी मानिसहरु रहने बिलेनियर क्लबको टप सूचीमा प्रवेश गरेको अनि भारतकै अर्बपति व्यापारी गौतम अडानीले अम्बानीलाई पछि पारेको खबर अक्सर आउने गर्छ। तर यति ठूलो सम्पत्ति भएको टाटाको सम्पत्तिको चर्चा खासै हुँदैन।
हालै अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तानको जीडीपीको करिब ३४१ अर्ब डलर रहने अनुमान गरेकोमा टाटा ग्रुपको मार्केट क्यापिटलाइजेसन यो वर्ष फेब्रुअरीमा लगभग ३६५ अर्ब डलर रह्यो।
टाटा कन्सल्टेन्सी सर्भिसेजको मात्र सम्पत्ति १७० अर्ब अमेरिकी डलर छ जुन भारतको सबैभन्दा ठूलो दोस्रो कम्पनी हो।
चियादेखि लिएर ज्यागुआर ल्याण्डरोवर कारसम्म, नुनदेखि हवाइजहाज तथा होटलहरूको ग्रुप चलाउनेसम्मको कारोबारबाट आममानिसको जीवनसँग जोडिएर धेरै क्षेत्रमा टाटाको उपस्थिति छ।
टाटाले यो उचाइ एकै दिनमा हासिल गरेको भने होइन। यसकालागि कम्पनीलाई १५० वर्षभन्दा बढी समय लागेको छ।
सन् १९११ फेब्रुअरीको ८ तारिखमा लोनावाल ड्यामको जग राख्दै टाटा ग्रुपका तत्कालीन प्रमुख सर दोराबजी टाटाले आफ्ना बुवा जमशेदजी टाटाको सोचबारे बताएका थिए। उनै जमशेदजीले सन् १८६८ मा कम्पनीको सुरुवात गरेका थिए।
हाल कम्पनीको दशवटा भर्टिकलमा ३० वटा कम्पनीहरु छन्। विश्वका ६ महादेशहरुका एकसयभन्दा बढी देशहरुमा टाटाले आफ्नो वस्तु तथा सेवा उपलब्ध गराएको छ।
दोराबजी टाटाले भनेका थिए-‘मेरो बुवाका लागि सम्पत्ति कमाउनु प्राथमिकतामा थिएन। वहाँ त भारतका सर्वसाधारणका लागि औद्योगिक तथा वैचारिक अवस्थालाई उत्कृष्ट बनाउने कुरालाई प्राथमिकता दिनुहुन्थ्यो। वहाँले आफ्नो जीवनकालमा विभिन्न समयमा विभिन्न किसिमका कम्पनीहरु खोल्नुभयो जसको एकमात्र उद्देश्य भारतमा महत्वपूर्ण क्षेत्रहरुको विकास गर्नु रहेको थियो।’
कम्पनीको वेबसाइटमा पनि मिसनकै रुपमा यसलाई उल्लेख गरिएको छ – ‘टाटाका कम्पनीहरुको स्थापना विश्वभरका विविध समुदायका मानिसहरुको जीवनस्तर उत्कृष्ट बनाउनकै लागि भएको हो।’
१९ औं शताब्दीको अन्त्यमा टाटाका संस्थापक जमशेदजी टाटालाई बम्बईको एक महँगो होटलमा भित्र पस्न दिइएन। उनको बाहिरी आवरणलाई हेरेरै उनलाई होटलमा प्रवेश दिइएको थिएन।
जमशेदजीमाथि यो घटनाले असाध्यै गहिरो असर गर्यो। उनले त्यो होटलभन्दा पनि उत्कृष्ट होटल बनाएर जो कोही भारतीय नागरिकलाई प्रवेश दिने निर्णय गरे।
यही ईखका कारण सन् १९०३ मा मुम्बईको समुद्र किनारमा ताज होटलको स्थापना भयो। यो तत्कालीन बम्बईको पहिलो भवन थियो जसमा बिजुली, अमेरिकी पंखा र जर्मन लिफ्टहरु राखिएका थिए। यस होटलमा अंग्रेजहरु समेत काम गर्थे। भारतको पहिलो लग्जरी होटलका रुपमा उनै जमशेदजीले खोलेको उक्त होटलको शाखाहरु अहिले अमेरिका बेलायतगरी विश्वका ९ देशहरुमा विस्तार भएका छन्।
जमशेदजी सन् १८३९ मा एक फारसी परिवारमा जन्मिएका थिए। उनले कपास, चिया, तामा, पित्तल तथा त्यस समय गैरकानुनी नमानिने अफिमको समेत व्यापार गरेर धेरै पैसा कमाएका थिए। उनी विश्वका विभिभन्न ठाउँ घुम्न रुचाउने स्वभावका थिए र नयाँ आविष्कारहरुबाट धेरै नै प्रभावित हुने गर्थे।
बेलायत यात्रामा गएका बेला कपासका मिलहरु देखेपछि उनले सोचे- ‘भारतले आफ्नो उपनिवेशवादी मालिक देशसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ होला?’
त्यसैले भारत फर्किएर भारतकै पहिलो टेक्सटाइल पनि उनैले खोले। सन् १८७७ मा जमशेदजीले महारानी मिल्सको नाममा भारतकै पहिलो कपास मिल खोलेका थिए। उक्त मिल्सको उद्घाटन त्यसै दिन भयो जुन दिन बेलायतकी महारानी भिक्टोरियालाई भारतकी महारानीका रुपमा ताज पहिर्याइएको थियो।
जमशेदजीको भारत विकासको दृष्टिकोण ‘स्वदेशी’ शब्दको प्रयोगबाट बुझ्न सकिन्छ जुन १९ औं शताब्दीको सुरुवातमा भारतको स्वतन्त्रता आन्दोलनको महत्वपूर्ण अंग थियो।
उनले भनेका थिए –’कुनै पनि समुदायको विकासका लागि सबैभन्दा कमजोर तथा विवश मानिसहरुलाई साहारा दिनुको सट्टा सबैभन्दा योग्य र सबैभन्दा प्रतिभावान मानिसहरुलाई सहयोग गर्नुपर्छ ताकि उनीहरुले देशको विकास गर्न सकुन्।’
पहिलो औद्योगिक सहर
जमशेदजीको सबैभन्दा ठूलो सपना भनेको स्टिल कारखाना बनाउने थियो। तर त्यो सपना पूरा गर्न नपाइ उनको निधन भयो। तर छोरा दोराबजीले उनको मृत्युपछि बुवाको सपना पूरा गरे। सन् १९०७ मा उनले टाटा स्टिलको नामबाट उत्पादन सुरु गरे। यसपछि भारत स्टिल कारखाना बनाउने एसियाकै पहिलो देश बन्यो।
यो कारखाना नजिकै बाक्लो बस्ती बस्यो अनि त्यही बस्ती घना सहरमा विस्तार भयो जसलाई जमशेदपुर नाम दिइयो। यो ठाउँ अहिले भारतको स्टिल सिटीका नामले चिनिन्छ।
जमशेदले आफ्ना छोरा दोराबलाई चिठी लेखेर औद्योगिक सहर निर्माण गर्ने सपनाबारे बताएका थिए। त्यसमा उनले चौडा सडक, रुखहरु, खेल मैदान, पार्क तथा धार्मिक स्थलहरुको परिकल्पना गरेका थिए।
टाटाले आफ्ना कर्मचारीहरुका लागि पनि विभिन्न कल्याणकारी नीतिहरु बनाएको छ। सन् १८७७ मा कम्पनीले पेन्सनको व्यवस्था गर्यो भने सन् १९१२ मा आठघण्टा काम तथा सन् १९२१ मा महिलाहरुका लागि गर्भवती अवस्थाका लागि विभिन्न सुविधाहरुको नीति ल्यायो।
पहिलो हवाइ सेवा
टाटा परिवारका एक सदस्य जहाँगिर टाटा सन् १९३८ मा ३४ वर्षकै उमेरमा कम्पनीको अध्यक्ष बने र करिब आधा शताब्दीसम्म यो पदमा रहिरहे।
उनलाई उद्योगपति हुनुभन्दा बढी पाइलट बन्ने शौख थियो। लुईस ब्लेराइटसँग भेटेपछि उनमा यो शौख पलाएको थियो। लुईस इंग्लिस च्यानल पार गर्ने पहिलो पाइलट हुन्।
जेआरडी बम्बे फ्लाइङ क्लबबाट भारतमा पायलट ट्रेनिङ लिने जहाँगिर टाटा पहिलो व्यक्ति हुन्। उनको हवाई लाइसेन्स नम्बर नै १ थियो जसमाथि जहाँगिरलाई निकै गर्व थियो।
उनले नै भारतको पहिलो हवाई डाक सेवा सुरु गरे। उनले आफ्नो उडानमा चिठीपत्रका साथै यात्रुहरुलाई पनि ओसारपसार गर्थे।
पछि यही डाक सेवा भारतको पहिलो एयरलाइन टाटा एयरलाइन बन्यो जसको नाम बदलेर केही पछि एयर इन्डिया नाम दिइएको थियो।
पछि एयर इन्डियालाई सरकारले आफ्नो स्वामित्वमा लियो तर फेरि पछिल्लो समयमा टाटाले नै उक्त कम्पनीलाई सरकारसँग किनिसकेको छ। एयर इन्डियालाई फिर्ता लिएपछि अब टाटा सन्ससँग तीनवटा एयरलाइन्स छन्।
एयर इन्डिया बाहेक एयर भिस्तार पनि छ जसमा टाटाले सिंगापुर एयरलाइन्ससँग साझेदारी गरेको छ। टाटाको अर्को कम्पनी एयर एसिया छ जसमा उसले मलेसियासँग साझेदारी गरेको छ।
एयर इन्डियाको स्वामित्व दोस्रोपटक लिएपछि सन् २०२१ को अक्टोबरमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरले एक विज्ञप्ति जारी गर्दै उक्त क्षणलाई ‘ऐतिहासिक’ भनेका थिए। उनले यसमा देशको प्रमुख एयरलाइन्सको मालिक बन्नु टाटाका लागि गर्वको विषय भएको बताएका थिए।
चन्द्रशेखरले भनेका थिए-‘हाम्रो कोशिश यही हुने छ कि हामी एयर इन्डियालाई अन्तर्राष्ट्रियस्तरको एयरलाइन्सका रुपमा चलाउन सकौं जसमाथि भारतलाई गर्व होस्। एयर इन्डियाको प्रतिक चिन्ह फिर्ता लिनु नै जेआरडी टाटाका लागि सच्चा श्रद्धाञ्जली हुनेछ जसले भारतमा वायुसेवाको सुरुवात गरेका थिए।’
कम्प्युटरको दुनियाँमा प्रवेश
भारत सरकारले टाटा ग्रुपका प्रमुख जेआरडी टाटालाई एयर इन्डियाको अध्यक्ष बनाइदिएको थियो। उनी यो पदमा सन् १९७८ सम्म बसेका थिए। पछि त्यस पदमा भारत सरकारकै पदाधिकारी बस्न लागे। सन् १९६८ मा उनले आफ्नो परिवारको परम्परालाई कायम राख्दै यस्तो कारोबारको सुरुवात गरे जो त्यस समय विकसित देशहरुमा मात्र हुन्थ्यो। यो कारोबार कम्प्युटरसँग सम्बन्धित थियो।
टाटा कन्सल्टेन्सी सर्विसेज अर्थात टिसिएस नामको यो कम्पनीले विश्वभर सफ्टवेयर सप्लाइ गर्छ। यो हाल टाटा ग्रुपको सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरुमध्ये एक हो।
सन् १९९१ मा जेआरडीका पारिवारिक नातेदार रतन टाटाले यो कम्पनीको बागडोर सम्हाले र उनकै नेतृत्वमा टाटाले विश्वभर आफ्नो कारोबार बढाउँदै गयो। टाटाले टेटली चिया, एआईजी इन्स्योरेन्स कम्पनी, बोस्टनमा रिट्ज कार्लटन, दायबुको ठूला सवारी बनाउने युनिट तथा कोरस स्टिल यूरोप जस्ता कम्पनीहरु किन्यो।
टाटाको सफलताको रहस्य
टाटा सन्स टाटा कम्पनीको मुल पुँजी होल्डिङ कम्पनी तथा प्रवर्धक हो। टाटा सन्सको इक्विटी सेयर क्यापिटलको ६६ प्रतिशत हिस्सा परोपकारी मानिसहरुको हातमा छ जसले स्वास्थ्य, शिक्षा, रोजगारी तथा कला संस्कृतिको क्षेत्रमा सहयोग गर्दै आएको छ।
टाटा कम्पनीको सन् २०२३ जुलाइ ३१ सम्मको तथ्यांक हेर्ने हो भने कम्पनीको कुल सम्पत्ति ३०० अर्ब डलर छ। सोही अवधिसम्म कम्पनीको विश्वभर १० लाखभन्दा धेरै कर्मचारी कार्यरत रहेको तथ्यांक छ।
कम्पनीका अनुसार टाटा कम्पनी या इन्टरप्राइज आफ्नो आफ्नो बोर्ड अफ डाइरेक्टर्सको नेतृत्व तथा निगरानीमा स्वतन्त्र रुपले काम गर्छन्।
भारतका आर्थिक विज्ञ शंकर अय्यर भन्छन् –’अम्बानी या अडानीको नाम किन आउँछ भने उनीहरुको कम्पनी निजी कम्पनी हो भने टाटा विभिन्न कम्पनीहरुको समूह हो र एक ट्रस्टका रुपमा यो संचालित छ यसकारण टाटाको चर्चा अन्य कम्पनीहरु सरह हुँदैन।’
‘कर्पोरेट दुनियामा यस्ता किसिमका तुलना गर्नु त सहि नहुने हो तर टाटा कम्पनी भारतमा धेरै किसिमले अन्य कम्पनीहरुको जननीको हैसियतमा रहेको छ।’- उनले भने।
उर्जा क्षेत्रमा काम गर्ने कम्पनी जिइ इन्डियामा अल्सटोम इन्डियाका पूर्व म्यानेजिङ डाइरेक्टर तथा हाल हायोसाङ इन्डिया लिमिटेडका म्यानेजिङ डाइरेक्टर नागेश तलवानीका अनुसार टाटाको प्रगतिको सबैभन्दा ठूलो कारण भनेकै उसको नैतिक, न्यायपूर्ण तथा पारदर्शी व्यवस्था हो जुन उसले आफ्ना कर्मचारीका साथ मजबुत सम्बन्ध बनाएर सिर्जना गरेको छ।
उनले टाटाको केही विशेषताहरु उल्लेख गरे- ‘टाटासँग पुँजी लगानीप्रति स्पष्ट दृष्टिकोण तथा रणनीति छ। स्टारबक्स, क्रोमा कन्सेप्ट तथा ज्यागुआर ब्राण्ड खरिदलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ। टाटा कुनै पनि फाल्तु दृष्टिकोणबाट जोगिन्छ। चुपचाप बिना कुनै हल्लाखल्ला काममा दत्तचित्त भएर काम गर्ने कोशिश उनीहरुको रहन्छ।’
उनका अनुसार टाटाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत ब्राण्डको समझदारीपूर्ण ‘पोजिसनिङ’ गरेका छन्। यसै कारण भारतीय उपभोक्ताहरु कम्पनीसँग जोडिनुमा सुरक्षित महसुस गर्छन् किनभने सर्वसाधारणहरु पनि यो ब्राण्डहरु विश्वसनीय र इमानदार छ भन्नेमा ढुक्क छन्।
उनका अनुसार टाटाको प्रगतिको अर्को महत्वपूर्ण पक्ष भनेको भावनात्मक तथा अनुचित कारोबारको निर्णयहरुबाट पर बस्नु हो। उनीहरु खतरालाई सन्तुलित गर्नका लागि पोर्टफोलियोमा परिवर्तन तथा सुशासनमा विश्वास गर्छन्।
‘टाटासँग सप्लाइ चेनको प्रभावकारी व्यवस्था छ भने कम्पनीले आफ्ना कर्मचारीहरुको सुविधा तथा कल्याणको पनि पूरा ध्यान राख्छ।’
टाटा पावर नयाँ दिल्लीका प्रोजेक्ट म्यानेजर विवेक नारायणका अनुसार सुरुमा ज्यागुअरलाई लिने निर्णयलाई बजारले खासै गतिलो निर्णय मानेको थिएन तर पछि यो असाध्यै सफल साबित भयो। हाल एयर इन्डिया फिर्ता लिने निर्णयले पनि कुन दिशा वा गति लिन्छ भन्नेबारे स्पष्ट खाका देखिइसकेको छैन।
तर उनी भन्छन् – ‘टाटाको सफलताको ग्यारेन्टी नै यसको विविधता हो। कम्पनीले जुन क्षेत्रमा हात हाल्छ त्यसबाट सकारात्मक माहौल बनाउने कोशिश गर्छ।’
बीबीसी हिन्दीबाट साभार