विराटनगर । वीरगंज सुक्खा बन्दरगाह भन्सार कार्यालयले ३५ करोडको पोस्ता दाना र २८ करोडको सुपारी बिक्रीका लागि लिलामीको सुचना निकालेको छ।
आयातकर्ताले पोस्ता दाना र सुपारी ल्याएर भन्सार जाँचपास नगरेपछि लिलामीको सुचना निकालेको हो। यी दुवै वस्तुको आयातकर्ता भने खुलाइएको छैन।
६३ करोड रुपैयाँ बराबरको सामान ल्याएर वेवारिसे छाड्ने व्यवसायी को हो? भन्सार कार्यालयले दुवै सामानको आयातकर्ता खोजिरहेको जानकारी दिएको छ। कार्यालयका अनुसार १ लाख ८६ हजार ६०० किलो पोस्ता दाना र ३ लाख ४८ हजार ३४० किलो सुपारी थन्किएको छ।
डा युवराज खतिवडा अर्थमन्त्री हुँदा दुवै वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाइएको थियो। त्यसपछि सौर्य एयरलाइन्सका सञ्चालक दीपक पोखरेलको नेतृत्वमा रहेको आयातकर्ताको समूहले केपी ओली प्रधानमन्त्री भएका बेला वाणिज्य विभागको अनुमति लिएर सुपारी र पोस्ता दाना दुवैको आयात गरेको थियो।
त्यसपछि अहिलेसम्म कसैले पनि व्यापारिक उद्देश्यले दुवै वस्तुको आयात गरेको छैन। गुट्खा उद्योगीलाई भने गत वर्षदेखि उद्योग मन्त्रालयको सिफारिसमा वाणिज्य विभागले निश्चित परिमाणमा आयातको अनुमति दिन थालेको छ। सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले आयातकर्ताले कुनै पनि आयातित मालवस्तुको जाँचपासका लागि प्रज्ञापनपत्र तयार भएर घोषणा नगरेसम्म कसको मालवस्तु हो भन्ने कसैलाई थाहा नहुने जिकिर गरे।
प्रमुख मैनालीले यो गम्भीर विषय देखिएको हुँदा कार्यालयले यसको आयातकर्ता पत्ता लगाउन एक कार्यदल नै बनाएर काम गरिरहेको जानकारी दिए। मैनालीले भने, ‘पोस्ता दाना र सुपारी दुवै आयातकर्ताले ल्याएर गोदाममा थन्क्याएको देखिन्छ। यसको जाँचपासका लागि घोषणा गरिएको छैन। प्रज्ञापनपत्र पनि तयार गरिएको छैन। त्यसैले आयातकर्ता को हो भन्ने अहिलेसम्म अज्ञात छ।’
आयातकर्ताले कुनै पनि वस्तु गोदाममा राखेको ६० दिनभित्र जाँचपास गरि नलगेमा भन्सार कार्यालयले त्यसलाई बरामद गरि लिलाम प्रक्रियाबाट बिक्री गर्नसक्ने कानुनी प्रावधान छ। उनले सोमबार प्रकाशित सूचनामा उल्लिखित सबै वस्तुहरू गोदाममा ६० दिन थन्किसकेका हुँदा लिलामको प्रक्रियामा लग्नुपरेको बताए। यसका साथै आयातकर्ताको खोजी गर्ने काम पनि भइरहेको उनको भनाइ छ।
सुक्खा बन्दरगाह भन्सारमा मालवस्तुको लजिस्टिक र गोदाम व्यवस्थापनको जिम्मा लिएको प्रिस्टिन भ्याली कम्पनीले पनि उक्त पोस्तादाना र सुपारी कसको हो भन्ने खुलाउन चाहेन।
कम्पनीका व्यवस्थापक अतुल शर्माले भने, ‘धेरै महिनादेखि गोदाममा आएर थन्किएको मालवस्तु हो। गोदामको भाडा पनि कसैले तिरेको छैन। जाँचपास गरेर छुटाउन पनि कोही आएको छैन। कसैले मेरो मालवस्तु हो भनेर घोषणा नै गरेको छैन। यसको हो भनेर बताउने कुनै आधार हामीसँग छैन।’
आयातकर्ताको नाम किन गोप्य ?
भन्सार विभागका एक अधिकारीका अनुसार बृहत् र सूक्ष्म अनुसन्धान गर्ने हो भने दुवै वस्तुको आयातकर्ताको नाम पत्ता लाग्नसक्छ। किनकि आयातकर्ताले आयातका लागि एलसी खोलेको हुन्छ र बैंकिङ प्रणालीमार्फत् परिवत्र्य विदेशी मुद्रा विदेश पुर्याएको हुन्छ। बैंकमा अनुसन्धान गर्ने हो भने दुवै मालवस्तुका आयातकर्ताको नाम पत्ता लाग्नसक्छ।
‘अहिले त आयातकर्ताले ल्याएर गोदाममा राखेर जाँचपास नगरेको मालवस्तुको लिलामी प्रक्रिया मात्र सुरु भएको छ’, ती अधिकारीले भने, ‘यस प्रकरणमा आयातकर्ताको नाम र फर्म पत्ता लागेपछि उनीउपर विदेशी मुद्रा अपचलनको मुद्दा पनि दायर हुन्छ। किनकि उनले एलसी खोलेर विदेशी मुद्रा विदेश पुर्याएको देखिन्छ तर मालवस्तुको आयात गरेको देखिँदैन। यो गम्भीर प्रकरणका रूपमा आएको छ।’
यसरी विदेशी मुद्रा अपचलनको अभियोगमा कारबाही गर्ने निकाय चाहिँ राजस्व अनुसन्धान विभाग भएको ती अधिकारीको भनाइ छ।
भण्डारीका पालामा भएको थियो खेल
भन्सार स्रोतका अनुसार कार्यालयमा यसअघि प्रमुख रहेका जयबहादुर भण्डारीका पालामा उक्त पोस्तादाना र सुपारीको आयात भएको थियो। भण्डारी अहिले बढुवा भएर सहसचिव भइसकेका छन्। उनी निकट भविष्यमै सेवानिवृत्त हुँदैछन् तर अर्थ मन्त्रालयमा उनको रिपोर्टकार्ड राम्रो छैन। उनी अर्थका पुराना क्याडर हुन्।
भण्डारी सुक्खा बन्दरगाह भन्सारमा प्रमुख हुनुअघि नेपालगञ्ज भन्सारका प्रमुख थिए। नेपालगञ्ज भन्सारमा उनी कार्यरत रहँदा पामनट (पामतेल निकाल्ने खजुरको दाना) भनेर सुपारी आयात गरेको पाइएको थियो। तर पनि उनी विभागीय कारबाहीमा परेनन् बरु सुक्खा बन्दरगाह भन्सारमा प्रमुख बनाइए।
सुक्खा बन्दरगाहमा पनि उनको चलखेलको क्रम जारी नै रह्यो। भण्डारीकै आश्वासन पाएपछि वीरगंजको एक उद्योगले मेसिन क्लिनिङ डस्टको आयात गर्ने भनी एलसी खोलेर ३ कन्टेनर सुर्तीको आयात गर्यो। मेसिन क्लिनिङ डस्टको भन्सार महसुल १ प्रतिशत हुन्छ भने सुर्तीको भन्सार महसुल ३० प्रतिशत र अन्तःशुल्क प्रति किलो १३० रुपैयाँ छ।
भन्सार विभागले भण्डारीको चलखेल थाहा पाएपछि उनी आन्तरिक छानबिनमा परे र त्यहाँबाट उनको सरुवा गरियो। उनी सुक्खा बन्दरगाहमा रहँदा पोस्ता र सुपारी ल्याइएको थियो।
भण्डारीउपर विभागीय छानबिन भइरहेकै बेला सुक्खा बन्दरगाह भन्सारमा पोस्ता र सुपारीका कन्टेनर आइपुगेका थिए। तर आयातकर्ताले त्यसलाई अर्को मालवस्तुको नाम दिएर छुटाउने साहस गरेनन्। किनकि यति बेलासम्म हरेक मालवस्तुको भौतिक परीक्षण सूक्ष्म रूपमा हुन थालिसकेको थियो। त्यसैले आयातकर्ता दुवै वस्तुलाई गोदाममा थन्क्याएर जाँचपास नै नगर्न बाध्य भए।
भन्सारले राख्यो महँगो मूल्य
सुक्खा बन्दरगाह भन्सार कार्यालयले पोस्ता र सुपारी दुवैको न्यूनतम मूल्य महँगो बनाएर लिलामको सूचना प्रकाशित गरेको व्यवसायीको भनाइ छ।
कार्यालयले पोस्ता दानाको न्यूनतम मूल्य प्रति किलोग्राम १ हजार ९०१ रुपैयाँ ९० पैसा र सुपारीको ७९८ रुपैयाँ तोकेको छ। सूचनाअनुसार १ लाख ८६ हजार ६ सय किलो पोस्ता दानाको न्यूनतम मूल्य ३५ करोड ४८ लाख ९४ हजार ५४० रुपैयाँ र ३ लाख ४८ हजार ३४० किलोग्राम सुपारीको न्यूनतम मूल्य २७ करोड ७९ लाख ७५ हजार ३२० कायम गरिएको छ।
वीरगंजका ठुला आयातकर्तामध्ये एक विजयसिंह सेठियाले पोस्तादानाको न्यूनतम मूल्य महँगो भएको प्रतिक्रिया दिए।
उनले भने, ‘भारतमा एक किलो पोस्ता दानाको मूल्य अहिले भारु ११ सय छ। यो भनेको १ हजार ७६० नेपाली रुपैयाँ हो। पोस्ता दाना आखिर भारत नै जाने हो भन्ने सबैलाई थाहा छँदैछ। त्यसैले १ हजार ९०१ रुपैयाँ ९० पैसाको दरमा कसैले पनि पोस्तादानामा उठाउलान् भन्ने मलाई लाग्दैन। बरु किलोको १ हजार ५०० जति मूल्य राख्ने हो भने लिलाममा चढ्न सक्छ।’
त्यस्तै विराटनगरका आयातकर्ता खेमचन्द जैनले सुपारीको मूल्य धेरै भएको बताए। व्यवसायी जैनका अनुसार भारतमा अहिले सुपारीको मूल्य भारु ४ सयदेखि ४५० छ । यो मूल्य भनेको ६४० देखि ७२० नेपाली रुपैयाँ हो। तर भन्सार कार्यालयले किलोको ७९८ रुपैयाँ कायम गरेको छ। त्यसैले यो मूल्यमा लिन कोही आउने सम्भावना छैन।
लिलाम नभए अर्को सूचना
भन्सार प्रमुख मैनालीले सोमबार प्रकाशित सूचनामा उल्लिखित वस्तु लिलाम प्रक्रियाबाट बिक्री नभए तिनको न्यूनतम मूल्य घटाएर अर्को सूचना प्रकाशित गरिने जानकारी दिए।
प्रमुख मैनालीले स्थानीय उद्योग वाणिज्य संघ, कोलेनिका र जिल्ला प्रशासनका प्रतिनिधि समेतको संयुक्त बैठकले सुपारी र पोस्ताको न्यूनतम मूल्य निर्धारण गरेको बताए।
कानुनअनुसार एउटै मूल्यमा तीन पटकसम्म लिलाम बढाबढको सूचना प्रकाशित गर्न पाइने सुविधा छ। तीन पटकसम्म सुचना प्रकाशित गर्दा पनि मालवस्तुको लिलामी नभए त्यसको पुनः मूल्यांकन गरेर अर्को सुचना प्रकाशित गरिन्छ।