काठमाडौं। नेपालमा दूरसञ्चार सेवा सुरु भएको पाँच दशकपछि नेपाल टेलिकम (तत्कालीन दूरसञ्चार संस्थान)को प्रतिस्पर्धीका रुपमा युनाइटेड टेलिकम लिमिटेड (युटीएल)को सन् २००२ मा प्रवेश भयो।
युटीएलले सेवा सुरु गर्नु अघिसम्म नेपाल टेलिकमको लाइन जडान गर्न सोर्सफोर्सवालाले महिनौं र साधारण उपभोक्ताले वर्षौं कुर्नुपर्दथ्यो। युटीएलको सेवा लिमिटेड मोबिलिटीका रुपमा भएको थियो।
युटिएलको प्रवेशपछि फिक्स्ड लाइनको सट्टा उपभोक्ताले लिमिटेड मोबिलिटीको सेवा मात्रै पाउन थालेनन्, वर्षौंदेखि टेलिकमको सेवा जोड्न क्युमा बसेका उपभोक्ता युटीएलमा जानासाथ उही दिन कनेक्सन पाउन थाले।
युटीएलको प्रवेशपछि टेलिकमको फिक्स्ड लाइन जडानमा रहेको एकाधिकार टुट्यो। युटीएलले आफ्नो कल सेन्टरमा सयौं मान्छेलाई जागिर दियो। सेवाको गुणस्तर सुधार गर्यो। हजारौं उपभोक्ताको आफ्नै टेलिफोन लाइन जोड्ने सपना एकै वर्षमा पूरा भयो।
फिक्स्ड लाइनपछि नेपाल टेलिकमले सन् १९९९ मा जिएसएम मोबाइल सेवा सुरु गर्यो। सुरुमा पोष्टपेड सेवा मात्रै ल्याएको टेलिकमको सेवा लिन महिनौं लाग्थ्यो। शक्तिशाली र पहुँच भएकाले मात्रै टेलिकमको सिम पाउँथे। मोबाइल सेवामा एकाधिकार रहेकाले यो उपभोक्ताको पहुँचभन्दा बाहिर थियो।
मोबाइल पाए पनि शुल्क उस्तै चर्को
मोबाइलमा कल गरेको मात्रै नभएर रिसिभ (उठाउँदा) गर्दा पनि चर्को महसुल तिर्नुपर्थ्यो। एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा रोमिङ शुल्क तिर्नुपर्ने अवस्था थियो। सामान्य नागरिकका लागि मोबाइल कल्पनाबाहिरको विषय थियो।
मोबाइलमा टेलिकमको एकाधिकार तोड्न नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल (तत्कालीन स्पाइस नेपाल)लाई लाइसेन्स दियो।
स्पाइस नेपाल मेरो मोबाइल हुँदै एनसेलमा परिवर्तन भयो। रातभर लाइनमा बसेर प्रहरीको लाठीचार्ज खाएर प्रिपेड सिम लिनुपर्ने उपभोक्ताले कन्सर्टमा गए सिमकार्ड पाउने अवस्था आयो।
यो एउटा देखिने तस्विर मात्रै हो, तस्विर अनेक कथाले भरिएको छ। प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालले भने, ‘टेलिकम क्षेत्रमा प्रतिस्पर्धीको प्रवेशपछि दूरसञ्चारको पहुँच र गुणस्तर सुधार भएको छ, त्यसबाट उपभोक्ता, सरकार दुवैले ठूलो लाभ लिएका छन्। हामीले त्यसलाई एउटा लगानीका रुपमा मात्रै हेर्छौं। त्यो लगानी मात्रै होइन, त्यसले एउटा इकोसिस्टम क्रिएट गरेको छ,’ खनालले भने।
उद्योग र व्यापार यस्तै यस्तै इकोसिस्टमका कारण बन्ने हुन्। उद्योग र व्यापार फस्टाए त्यहींबाट अर्थतन्त्र बन्ने हो। चलायमान हुने हो।
‘एउटा कुनै कम्पनी रहे वा नरहे त्यसले के फरक पर्छ भन्ने सोंच हामीमा छ, तर त्यो कम्पनीले हाम्रो इकोसिस्टममा कति योगदान गरेको छ भन्ने हिसाबमा हामीले कहिल्यै पनि उद्योग र व्यापारलाई लिएनौं, त्यही कारण हामी पछि पर्दै गएका छौं,’ एक उद्योगीले भने।
जस्तो एनसेलको प्रवेशपछि नेपालमा दूरसञ्चार सेवाको पहुँचमा सुधार भएको छ। अहिले लगभग नेपालको हरेक कुनामा दूरसञ्चार सेवाको पहुँच पुगेको छ। त्यो पनि भ्वाइस मात्रै होइन्, इन्टरनेटसहित।
दुई दशक अघिलाई तुलना गर्ने हो भने दूरसञ्चार क्षेत्र नेपालमा सबैभन्दा तीब्र विस्तार भएको क्षेत्र हो। दुई दशक अघि जहाँजहाँ सडक, विद्युत, शिक्षा, स्वास्थ्य र दूरसञ्चार पुर्याउने सोच सरकारले राखेको थियो।
आज त्यहाँ सडक, विद्युत, शिक्षा र स्वास्थ्य नपुगेको होला तर दूरसञ्चार सुविधा पुगेको छ। पहुँच मात्रै होइन सस्तो मूल्यमा गुणस्तरीय सेवा पनि त्यहाँ पुगेको छ। दक्षिण एसियामा अहिले सबैभन्दा सस्तो दूरसञ्चार सेवा नेपालमा छ।
भारतमा जियोले टेलिकम सेवा सुरु गरेपछि त्यो संसारकै सस्तो दूरसञ्चार सेवा हो भन्ने इम्प्रेसन परेको छ। तर, प्रति ग्राहक औसत खर्चका हिसाबमा हेर्ने हो भने अहिले नेपालको दूरसञ्चार सेवा जियोभन्दा सस्तो छ।
जस्तो जियोको अहिले प्रति ग्राहक औसत खर्च १८१ भारतीय रुपैयाँ (नेपाली २९० रुपैयाँ) छ भने एनसेलमा प्रति ग्राहक औसत खर्च नेपाली १८१ रुपैयाँ छ। यो हिसाबमा भारतको जियोभन्दा नेपालको एनसेल झण्डै एक तिहाई सस्तो छ।
त्यति मात्रै होइन बितेको १० वर्षमा एनसेलले नेपाल सरकारलाई विभिन्न शीर्षकमा कुल २ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ राजस्व बुझाएको छ।
विभिन्न दूरसञ्चार सम्बन्धी सेवाको लाइसेन्स शुल्क, फ्रिक्वेन्सी शुल्क, दूरसञ्चार सेवा शुल्क, भन्सार, टीडीएस, अग्रिम कर, पुँजीगत लाभकर, रोयल्टी, आरटीडीएफलगायतका शीर्षकमा एनसेलले झण्डै पौने ३ खर्ब राजस्व तिरेको कम्पनीले जनाएको छ।
‘आखिर सरकारले त्यो पैसा एनसेलले सिर्जना गरेको इकोसिस्टमबाट न पाएको हो। हेर्दा एनसेलबाट सरकारले पौने तीन खर्ब पायो तर त्यसको इकोसिस्टमबाट सरकारले थप अर्बौं रुपैयाँ आम्दानी गरिरहेको हुन्छ,’ उनले भने।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक त्यसमाथि ठूलो प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याएको एनसेलले नेपाली अर्थतन्त्रमा पुर्याएको योगदानलाई बिर्सेर ‘लुटेरै’ लग्यो भन्ने भाष्य स्थापित गराउन खोज्दा त्यसले परिणाम सुखद नल्याउने खनाल बताउँछन्।
अहिले पनि नेपालको बजारमा तीनवटा अपरेटर आर्थिकरुपमा सफल देखिने खनालको भनाइ छ। उनी टेलिकम बन्द हुने एउटा घटनाले अर्थतन्त्रमा कति ठूलो असर पुग्छ भनेर देखाउन स्मार्ट टेलिकमलाई हेर्नुपर्ने बताउँछन्।
दूरसञ्चार प्राधिकरणले स्मार्टको लाइसेन्स खोस्यो। त्यसबाट कम्पनीसँग भएका ग्राहक प्रभावित भए, लगानीकर्ताको लगानी डुब्यो, बैंकको ऋण, सरकारको राजस्व आम्दानी पनि डुब्यो।
‘हामीसँग ६ वटा अपरेटर छ भन्थ्यौं। हेर्दाहेर्दै २ वटा बाँकी छन्। एउटा अपरेटरको एक्जिट भनेको त्यसको समग्र इकोसिस्टमको अर्थतन्त्र हेर्नुपर्छ,’ खनालले भने।
टेलिकम अपरेटरले घरधनीको घरमाथि टावर राख्छन्। घरधनीले मासिक २५ हजार रुपैयाँ टावरको भाडा पाउँछन्।
कम्तीमा ५ सय मात्रै टावरको आम्दानी घरभेटीले नपाउने हो भने उनीहरुको महिनाकै १ करोड २५ लाख रुपैयाँ गुम्छ। घरभाडा मात्रै गुम्दैन्, त्यसपछि त्यसबाट सरकारलाई आउने बहालकर पनि गुम्छ।
कम्पनीले घरधनीलाई दिने भएकाले उक्त भुक्तानी करको दायरामा समेत आउँछ। घरधनीको खर्चको ग्राफसमेत उकालो लाग्ने भएकाले त्यसले बजारको माग बढाउन मद्दत पुग्छ। अपरेटर बन्द हुँदा त एकै झट्कामा यस्ता भुक्तानी रोकिन पुग्छन्।
यो एउटा उदाहरण मात्रै हो, इकोसिस्टममा यस्ता हजारौं उदाहरणहरु हुन्छन्। जस्तो टेलिकम कम्पनीहरुले दिइरहेको रोजगारी, सिम तथा रिचार्ज कार्ड बिक्री गर्ने डिस्ट्रिब्यूटर, रिटेलरको बिजनेस, त्यो सेवा प्रयोग गरेर हुने सयौं काम यसबाट प्रभावित हुन्छ।
प्रतिस्पर्धाबाट प्राप्त सेवा सस्तो र इनोभेटिभ हुने भएकाले सेवाग्राहीलाईसमेत अपरेटरको अस्तित्व मेटिंदा असर पुग्छ।
एनसेल आउँदा र नआउँदा के फेरिन्थ्यो?
सन् २००२ मा युटीएल आयो। युटीएल आउनेवित्तिक मोबाइल सेवाको शुल्क (ट्यारिफ) र नयाँ कनेक्सन लिन कुर्नुपर्ने समयमा ब्रेक लाग्यो। ‘क्यू’ मा लाग्नुपर्ने अवस्था मेटियो। सीडीएमए प्रविधिको फोन एक घण्टामै पाउने स्थिति बन्यो। अन्तर्राष्ट्रिय कल शुल्क पनि ओरालो लाग्यो, जुन अत्यधिक चर्को थियो। प्रतिस्पर्धाले ग्राहकलाई सेवामा सहज पहुँच पुर्याउन मद्दत गर्यो।
त्यो समयमा दुई/चार सय कर्मचारीसहित युटीएलले आफ्नो सेवाका लागि कल सेन्टर संचालन गरेको थियो। जुन नेपाली दूरसञ्चार सेवामा नौलो थियो। सिमकार्ड, रिमकार्ड, रिचार्जलगायतका सुविधा त्यसैबाट पाइन्थ्यो।
एनसेलको हकमा ८० प्रतिशत सेयर हिस्सासहित आजियाटा समूहले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याएको थियो। आजियाटा समूह नेपालबाट बाहिरिएसँगै त्यो स्वाट्टै हराउन पुगेको छ। एनसेलको तुलनामा युटीएल निकै सानो अपरेटर हो।
स्पाइस नेपालले खासै राम्रो व्यापार गर्न सकिरहेको थिएन। तर, टेलियाले त्यसको हिस्सा खरिद गरेर सन् २००९ मा नेपाली दूरसञ्चार सेवामा छिरेर कम्पनी रिब्रान्डिङ गरेर एनसेल बनायो, उसले सोहीअनुसार ठूलो लगानी गर्यो। सोहीअनुसार आफ्नो संस्था र कर्मचारी उपयोग गर्यो।
एनसेलमा टेलियाको प्रवेशपछि थप लगानी भयो। त्यो लगानीका कारण एनसेलको कारोबार इतिहासकै सर्वाधिक ६३ अर्ब रुपैयाँसम्म पुग्यो। जुन नेपाली टेलिकम उद्योगका लागि ‘रेयर मोमेन्ट’ हो भन्दा फरक नपर्ला।
नेपाली कम्पनी मात्रै भएको भए यो सम्भव थिएन। एफडीआईसहित लगानी भएको कम्पनीमा हुने कल्चरले मात्रै त्यति ठूलो व्यापार भेट्न सघाउने खनाल दाबी गर्छन्। विदेशी लगानी र कल्चर नभएको भए सम्भवत यो हासिल गर्न एनसेललाई निकै गाह्रो पर्थ्यो।
एनसेल प्रतिको विश्वास यति थियो कि कुनै इभेन्ट वा परोपकारी काम गर्नुपर्ने सुरुमै मान्छे एनसेल भन्ने गर्थे। कर्पोरेट जागिरेहरुका लागि अझै पनि एनसेल आकर्षक संस्था मानिन्छ।
एफडीआईले कल्चर, पैसासँगै नवीनतम प्रविधि बोकेर आउने भएकाले उक्त संस्थाको ‘स्ट्यान्डर्ड’ नै बेग्लै स्तरको हुने खनालले बताए। विदेशी लगानीसहित हुर्किएको एनसेलजस्तो संस्था आफ्नो सेवा प्रवाहमा सम्झौता गर्नै नचाहने हुन्छ, उनले भने। आफ्नो ब्राण्ड प्रति यस्ता संस्था निकै संवेदनशील हुने उनको भनाइ छ।
‘त्यहाँ स्ट्यान्डर्ड हुन्छ। कर्मचारीलाई बाँड्ने बोनस ठूलो हुन्छ। विदेशीले पाउने वा सो सरह नै नेपालीले सेवा सुविधा पाउँछन्। त्यो नेपाली संस्थामा त्यति सम्भव हुँदैन पनि।
एनसेल यति आक्रामक र दबदबासहित नेपाली बजारमा नआएको भए नेपाल टेलिकमसमेत पुरानै सरकारी ढर्रामा चल्ने थियो। प्रतिस्पर्धी बलियो भएकै कारण आफ्नो अस्तित्व जोगाउन नेपाल टेलिकम प्रोफेसनल बन्न बाध्य भयो। आजको दिनमा एनटीएसीले फाइबर इन्टरनेट राख्नुस् भनेर तपाईंलाई फोन गर्यो भने आश्चर्य मान्नुनपर्ने स्थिति विकास भएको छ।
अहिले नेपाल टेलिकमका व्यवस्थापकहरु पनि बिजनेस मोडलको विषयमा बढीभन्दा बढी बुझ्न र जान्न खोजिरहेको छन्। खनाल एनसेलले नै नेपाल टेलिकमलाई सेवा प्याकेजिङ गर्न सिकाएको बताउँछन्।
‘टेलिकमलाई मार्केट सेग्मेन्टेसन भन्ने थाहै थिएन। बजारमा एक्लै बलियो हुँदा त ग्राहकलाई कुनै पनि प्रडक्ट दिँदा किन्नेले किन्छ नकिन्नेले किन्दैन भन्ने अहमता थियो। एनसेलले प्याकेजिङ कसरी गर्नुपर्छ भनेर नेपाल टेलिकमलाई सिकायो। डेटा र भ्वाइसको प्याक बनाएकै एनसेलले हो टेलिकमलाई सिकाएको पनि एनसेलले हो,’ खनालले भने।
एउटा अपरेटर आउनेवित्तिकै त्यसले पुरै इकोसिस्टम लिएर आएको हुन्छ। एनसेलबाट आजियाटाको एक्जिटलाई लुटेर गयो भनेर जसरी भाष्य निर्माण भइरहेको छ त्यो एकदमै खतरनाख भएको भनाइ खनालको छ। यथार्थ के हो नबुझी लुटेरै गयो भन्ने आरोप अर्थतन्त्रका लागि सही हुँदैन पनि।
एनसेलबाट बलियो लगानीकर्ता फर्केर जानु त्यति सुखद पनि होइन। भोलिको दिनमा एनसेल बन्द हुने स्थिति निर्माण भए नेपालबाट चिनियाँ दूरसञ्चार उपकरण निर्माता हुवावे र जेडटीई व्यापार नभएको भन्दै नेपालबाट बाहिरिने जोखिम बढ्छ। किनकि एनसेलको ठूलो हिस्सामा यी कम्पनीहरुले काम गरिरहेका छन्। यसले नेपालको अर्थतन्त्रमा ठूलो धक्का पुर्याउन सक्ने सम्भावना छ, उनले भने।