
काठमाडौं। एक अर्ब ३१ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४३ अर्ब रुपैयाँ (एक डलर बराबर १०५ रुपैयाँ)मा खरिद गरेको सम्पत्ति आठ वर्षपछि आजियाटाले पाँच करोड डलर अर्थात् ६ अर्ब ६० करोड रुपैयाँ (एक डलर बराबर १३२ रुपैयाँ)मा बिक्री गरेर बाहिरिएको चर्चाले बजार तातेको छ।
अझै पनि वार्षिक ३५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार गर्ने देशको ठूलो कर्पोरेटमध्येको एक एनसेल के साढे ६ अर्ब रुपैयाँमै बिक्री भएको हो? वा यसभित्र अरु विषय पनि जोडिएका छन्?
एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेलमा मलेसियन टेक जायन्ट आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत हिस्सा किन्दा साढे ६ अर्ब रुपैयाँमात्रै भुक्तानी गर्दैछ वा अन्य केही सर्तहरु पनि छन्?
बिजमाण्डूले प्राप्त गरेका कागजात, कारोबारको विश्लेषण र भविष्यका जोखिमहरुलाई केलाउने तथा आजियाटा र स्पेक्ट्रलाइटबीच भएको सम्झौता हेर्ने हो भने आजियाटाको ‘एक्जिट’ अस्वाभाविक देखिंदैन।
एनसेलका जोखिम जसका कारण आजियाटा ‘एक्जिट’
एनसेलबाट आजियाटा बाहिरिनुको मुख्य कारण दूरसञ्चार ऐन २०५३ हो।
दूरसञ्चार ऐन २०५३ को दफा ३३ ले जम्मा पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेको छ।
एनसेललाई नेपाल दूरसञ्चार प्राधिकरणले जीएसएम सेलुलर मोबाइलको लाइसेन्स (एमओ. आई.-०२) २०६१ भदौ १६ गते दिएको थियो। ऐनले टेलिकम कम्पनीको लाइसेन्सको अवधि बढीमा २५ वर्ष हुने व्यवस्था गरेको छ। अर्थात् २०८६ भदौ १६ गते एनसेलसँग रहेको टेलिकम लाइसेन्सको अवधि सकिनेछ।
आजियाटा रहिरहे त्यसपछि एनसेलको स्वामित्व स्वत: नेपाल सरकारमा आउनेछ। लाइसेन्सको अवधि बढाएर यो जोखिमबाट जोगिन आजियाटाले स्मार्ट टेलिकमलाई खरिद गर्ने वा मर्ज गर्ने उपाय खोजेको थियो।
तर, कानुनी व्यवस्थामा भएको अस्पष्टता र नेपालमा हुने ढिलासुस्तीले आजियाटाको त्यो लक्ष्य पूरा नहुने देखिएपछि आजियाटा एनसेलबाट बाहिरिएको हो।
आजियाटाले देखेको अर्को जोखिम हो, पुँजीगत लाभकर। सन् २०१६ मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेराको स्वामित्वमा रहेको रेनल्ड्स होल्डिङ लिमिटेड खरिद गरेपछि आजियाटा एनसेलको लगानीकर्ता बनेको हो।

आजियाटाले एनसेलमा ८० प्रतिशत सेयर होल्ड गर्ने रेनल्ड्स होल्डिङ्सको शतप्रतिशत हिस्सा किन्न त्यतिबेला १ अर्ब ३६ करोड ५१ लाख डलर अर्थात् १ खर्ब ४३ अर्ब रुपैयाँ खर्चिएको थियो।
आजियाटाको बुझाई वा सोच त्यतिबेलाको यो डिलमा पुँजीगत लाभकर तिर्नुपर्दैन भन्ने थियो। तर, बिजमाण्डूले लगत्तै ‘एनसेल: डेढ खर्बको डिल राज्यलाई हात लाग्यो शून्य’ शीर्षकमा समाचारका सिरिज लेखेपछि पुँजीगत लाभकरको विषय थप चर्चामा आयो।
सडकदेखि सदनसम्म एनसेलको कर निर्धारण गर्नुपर्ने विषयले प्राथमिकता पायो। ठूला करदाता कार्यालयले पनि एनसेलको खरिद बिक्रीमा पुँजीगत लाभकर लगाउने प्रक्रिया सुरु गर्यो।
ठूला करदाता कार्यालयको कर निर्धारण प्रक्रियाविरुद्ध एनसेल सर्वोच्च अदालत पुग्यो। सर्वोच्चले आफ्नो विपक्षमा फैसला सुनाएपछि एनसेल नेपाल सरकारविरुद्ध इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा अर्बिट्रेसन ट्रिबुनलमा गयो।
ट्रिबुनलले पनि सन् २०२३ जुन ९ मा नेपाल सरकारले तय गरेकै लाभकर तिर्नुपर्ने आदेश सुनायो। एनसेलले पुँजीगत लाभकर, लाभकरमा जरिवाना र ब्याजबापत झण्डै ६२ अर्ब रुपैयाँ चुकाउनु पर्यो। यसले एनसेल खरिदमा आजियाटाको लागत बढ्यो।
अहिले फेरि एनसेलमाथि त्यहीबेलाको कारोबारका लागि लिएर कर निर्धारणको अर्को तरवार झुण्डिएको छ। त्यतिबेला पुँजीगत लाभकर नतिरेपछि सरकारले आयकर ऐनको दफा ५७ लाई हतियारका रुपमा उपयोग गर्ने नीति लिएको थियो।
एनसेलले पुँजीगत लाभकरमध्येको १० प्रतिशत रकम तिरेपछि विवाद पुँजीगत लाभकर असुलतर्फ अघि बढ्यो। सर्वोच्च अदालत र आईसीएसआईडीको ट्राइबुनलसम्म त्यो प्रक्रिया पुगेर टुंगियो।
तर, सरकारले एउटा प्रक्रियाबाट नभए अर्को प्रक्रियाबाट लाभकर असुल गर्छु भनेर त्यतिबेला सुरु गरेको दफा ५७ को विवाद अझैसम्म पनि किनारा लागेको छैन। दफा ५७ मार्फत दोहोरो कर लाग्ने जोखिम आजियाटाले देख्यो।
दफा ५७ अनुसार थप कर तिर्नुपर्यो भने आजियाटाले फेरि ५५ अर्ब रुपैयाँभन्दा बढी रकम बुझाउनुपर्छ। १३ जनवरी २०२१ मा ठूला करदाताले सुरु गरेको यो प्रक्रिया नटुंग्याइदिए पछि आजियाटा निरास बनेको हो।
‘दोहोरो कर लगाउनु हुँदैन भन्नेमा कर्मचारीदेखि सबै सहमत छन्, तर त्यो फाइल बन्द गर्न कोही तयार छैन। फाइल बन्द नभएपछि हामीले ५५ अर्ब रुपैयाँभन्दा बढी करको ठूलो जोखिम देख्यौं,’ आजियाटाका एक अधिकारीले बिजमाण्डूसँग भने।
आजियाटाले सरकारलाई तिरिसकेको पुँजीगत लाभकर र दफा ५७ मा लाग्न सक्ने करलाई जोड्यो भने त्यो एनसेल खरिद मूल्यको ६३ प्रतिशत हुन्छ। छोटो अवधिको लाइसेन्सका लागि त्यो जोखिम लिन आजियाटा बोर्डले पनि उचित नठानेपछि स्थानीय साझेदारलाई व्यापार हस्तान्तरण गरेको उनको तर्क छ।
एकातिर दायित्व बढेको बढ्यै, अर्कातिर आफ्नो बिग्रँदो वित्तीय स्वास्थ्यले पनि आजियाटालाई नेपालको व्यापार बेच्न ठूलो दबाब पुग्यो।
पछिल्लो आठ वर्षमा एनसेलको व्यापार र नाफा ओरालो लागेको छ। २०१५ जुनको तुलनामा २०२३ जुनमा एनसेलको व्यापार ३३.८ प्रतिशतले घटेको छ। आयकर, ह्रासकट्टी र ब्याज खर्चअघिको आम्दानी ४२.१ र खुद नाफा ७४.६ प्रतिशतले घटेको छ।
सोही अवधिमा एनसेलले आफ्नो गुणस्तर र कभरेज बढाउन पूर्वाधारमा कुल ६२ अर्ब ५० करोड रुपैयाँ खर्चिएको जनाएको छ। जसका कारण शून्यमा रहेको एनसेलको ऋण दायित्व बढ्दै गएको छ।

यसका साथै सन् २०२४ देखि २०२९ सम्मको अवधिमा एनसेलले लाइसेन्सका लागि २० अर्ब रुपैयाँ बुझाउनुपर्ने दायित्व छ।त्यसपछि आफूहरुको लाइसेन्स तथा कम्पनीको विषयमा कुनै सुनिश्चितता नभएको कारण देखाउँदै एनसेलबाट बाहिरिएको आजियाटाको तर्क छ।
एनसेलमा बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। आजियाटाले एनसेलको हिस्सा बेचेको स्पेक्ट्रलाइट २०२३ सेप्टेम्बरमा मात्रै खुलेको कम्पनी हो। जसमा सतिशलाल आचार्यको एकल लगानी छ। स्थानीय साझेदार सुनिभेरामा समेत आचार्य परिवारकै स्वामित्व छ।
कम्पनीको मूल्यांकन कति हो?
आजियाटाले एनसेलबाट बाहिरिन स्पेक्ट्रलाइट युकेलाई ५ करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रुपैयाँ) मा बिक्री गरेको सोझो हिसाब देखिन्छ। तर, यो डिल त्यति मात्रै भने होइन।
आजियाटा र स्पेक्ट्रलाइट युकेबीच एनसेलको सेयर किनबेच गर्न सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) भएको छ। त्यसमा एउटा फिक्स्ड कन्सिडिरेसन र अर्को कन्डिस्नल कन्सिडिरेसन छन्।
आजियाटा र स्पेक्ट्रलाइट युकेबीच भएको एसपीएअनुसार फिक्स्ड कन्सिडिरेसनअन्तर्गत दुईवटा समय तालिकामा स्पेक्ट्रलाइट युकेले आजियाटालाई भुक्तानी गर्ने भनिएको छ।
स्पेक्ट्रलाइटले ६ महिनाभित्र आजियाटालाई ५० लाख अमेरिकी डलर र ४८ महिनाभित्र ४ करोड ५० डलर भुक्तानी गर्ने सहमति छ। तर, यसबाहेक पनि आजियाटाले एनसेलबाट सन् २०२९ सम्मै लाभांश लग्ने गरी डिलको संरचना तयार गरिएको छ।
सम्झौताअनुसार सन् २०२३ मा आजियाटाले आफ्नो हिस्सा ८० प्रतिशतको शतप्रतिशत लाभांश लैजाने छ। २०२४ र २०२५ मा ४० प्रतिशत, २०२६ र २०२७ मा ३० प्रतिशत र २०२८ र २०२९ मा २० प्रतिशत लाभांश लैजाने छ।
एनसेलले मुनाफा गरेपछि लाभांश बाँडफाँट हुन्छ। त्यो लाभांश स्पेक्ट्रलाइट युकेको खातामा पुगेपछि त्यहाँबाट आजियाटालाई भुक्तानी गर्नेगरी डिल गरिएको हो।
जस्तो अहिले पनि एनसेलको वार्षिक ५ अर्ब रुपैयाँको हाराहारीमा मुनाफा छ। र, यो आगामी ६ वर्षसम्म पाँच अर्ब रुपैयाँकै हाराहारीमा रह्यो भने एनसेलबाट आजियाटाले झण्डै ८ अर्ब रुपैयाँ लाभांश लैजान सक्ने सम्भावना छ।
आर्थिक वर्ष | जम्मा मुनाफा | स्पेक्ट्रलाइटको हिस्सा | आजियटाको हिस्सा |
२०२३ | ५ अर्ब | ४ अर्ब | ४ अर्ब (८० प्रतिशत) |
२०२४ | ५ अर्ब | ४ अर्ब | १.६ अर्ब (४० प्रतिशत) |
२०२५ | ५ अर्ब | ४ अर्ब | १.६ अर्ब (४० प्रतिशत) |
२०२६ | ५ अर्ब | ४ अर्ब | १.२ अर्ब (३० प्रतिशत) |
२०२७ | ५ अर्ब | ४ अर्ब | १.२ अर्ब (३० प्रतिशत) |
२०२८ | ५ अर्ब | ४ अर्ब | १ अर्ब (२० प्रतिशत) |
२०२९ | ५ अर्ब | ४ अर्ब | १ अर्ब (२० प्रतिशत) |
त्यसबाहेक यदि सतिशलालको स्पेक्ट्रलाइट युकेले उक्त समयभित्र आफ्नो होल्ड अरु कसैलाई बिक्री गरेपनि त्यसको हिस्सासमेत आजियाटाले पाउने सहमतिमा उल्लेख छ। वा अन्य कुनै पनि विन्डफल गेनको पूरै हिस्सा पनि आजियटाले पाउने छ।
अघिल्लो आर्थिक वर्षको समेत गरेर ७ वर्षसम्म लाभको हिस्सा सुरक्षित राखेको आजियाटाले सबै दायित्व भने एनसेलको नयाँ साझेदारलाई छाडेको छ। त्यसकारण यो कारोबारबाट आजियाटा ‘रिस्क फ्रि गेनमा’ देखिन्छ।
यो कारोबारका लागि आजियाटाले सतिशलालसँग आजियाटा (कम्बोडिया)मा रहेको केही सेयरलाई सुरक्षणका रुपमा राखेको छ। यहाँको दायित्वमा तलमाथि गर्नासाथ उताको सेयर आजियाटाले जफत गर्ने जोखिम सतिशलालसँग छ।
त्यसैगरी २०१५ मा ऋणमुक्त रहेको एनसेलसँग अहिले झण्डै २७ अर्ब रुपैयाँको बैंक ऋण छ। आजियाटा ऋणको दायित्वबाट मुक्त भएको छ। २७ अर्ब रुपैयाँ ऋणको दायित्व सतिशलालमा सरेको छ।
झट्ट हेर्दा सतिशलालले साढे ६ अर्ब रुपैयाँमा यो डिल पाएको देखिन्छ। तर, उनीमाथि साधारण तरिकाले अघि बढे पनि झण्डै ५० अर्ब रुपैयाँको दायित्व थपिएको छ। ‘यो डिल जति सरल छ, त्यतिकै जोखिमपूर्ण पनि छ,’ यो विषयका जानकार एक विज्ञले टिप्पणी गरे।
अहिलेसम्म आजियाटाले कति लग्यो लाभांश?
सन् २०१६ मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेराको हिस्सा किनेदेखि अहिलेसम्म आजियाटाले ६२ अर्ब ७४ करोड रुपैयाँ (२ अर्ब २० करोड मलेसियन रिंगिट) लाभांश लगिसकेको छ।
रेनल्ड्सले होल्डिङ कम्पनीलाई सन् २०१७ मा १ अर्ब ३५ करोड रिंगिट, २०१९ मा ६३ करोड रिंगिट र २०२० मा १२ करोड ८५ लाख रिंगिट लाभांश दिएको थियो।
आजियाटालाई कति लाग्यो घाटा?
आजियाटाले आफू एनसेलबाट बाहिरिएपछि १ खर्ब ३६ अर्ब रुपैयाँ घाटा हुने जनाएको छ। आजियाटाका अनुसार नयाँ डिल भएसँगै सन् २०२३ डिसेम्बर ३१ सम्म उसलाई १ खर्ब ३६ अर्ब रुपैयाँ (४ अर्ब ७९ करोड मलेसियन रिंगिट) घाटा भएको छ।

जसअनुसार एनसेलको आजको दिनमा रियल भ्यालु ४ अर्ब २५ करोड रुपैयाँ (१४ करोड ९२ लाख ८५ हजार मलेसियन रिंगिट) छ। यस्तै, अघिल्लो वर्षसम्मको खरिद लागत र त्यसमा भएको ब्याज खर्चलाई जोडेर प्राप्त लाभांश घटाउँदा १ खर्ब ३४ अर्ब रुपैयाँ (४ अर्ब ७० करोड मलेसियन रिंगिट) घाटा लागेको आजियाटाले जानकारी दिएको छ।
यसका साथै विदेशी विनिमय मुद्रामा भएको परिवर्तनले पनि आजियाटालाई ६ अर्ब २६ करोड रुपैयाँ (२१ करोड ९६ लाख मलेसियन रिंगिट) घाटा भएको छ। आजियाटाले एनसेल खरिद गर्दा नेपाली रुपैयाँसँग डलरको विनिमय दर १०५ रुपैयाँ थियो अहिले त्यो १३२ रुपैयाँ पुगेको छ। तर, त्यसको तुलनामा रिंगिट र रुपैयाँको विनिमय दर भने लगभग उस्तै छ।
यो डिल सक्न कति समय लाग्ला?
आजियाटाका अनुसार यो डिलमा आफ्ना सेयरधनी र मलेसियन सरकारको कुनै पनि निकायबाट अनुमति लिनु पर्दैन। जसका कारण यो डिल टुंगोमा पुग्न धेरै समय नलाग्ने आजियाटाको बुझाइ छ।
स्पेक्ट्रलाइट युकेलाई आजियाटाले आफ्नो हिस्सा बिक्री गरेलगत्तै एनसेलको सञ्चालक समिति पूर्णरुपमा भंग भइसकेको छ। तत्कालका लागि एनसेलले व्यवस्थापकीय जिम्मेवारी भने हेरफेर नगर्ने भएको छ।