
ओहो!
बिहान ६ बज्नै लागेको थियो। बाइकमा यात्रा गरिरहेकै बेला झलस्स भएँ- बाटो भुलिएछ। आज केटाहरुले सक्काउने भए!
बाइक किनारा लगाउँदै मोबाइलको ‘नोटिफिकेसन बार स्लाइड’ गरेँ।
पाँच मिसकल ! अन्तिम कल पनि १५ मिनेट अगाडिको।
भएन त बर्बाद?
आफैँले सबैलाई साढे ५ बजे टोखाको ग्रान्डी अस्पताल अगाडि भेट्ने भनेर फोन गरेको थिएँ।
माघको झिसमिसे बिहान। सास फेर्दा निस्किएको बाफले चस्मामा थपिएको च्यादर। बाटो ठम्याउनै हम्मे। बल्ल पहिल्याएँ र पुगेँ गन्तव्य। साथीहरु सबै पुगिसकेका। आधा घण्टा कुर्न परेछ। साथीहरु मेरो प्रतीक्षामा त्यसरी बसेछन् कि हरेक मोटरसाइकल यात्रीलाई उनीहरु म नै ठान्दा रहेछन्। प्रतीक्षा आफैँमा कष्टकर विषय हो। त्यसमाथि कक्रक्क बनाउने ठिही।
‘बिहान ४ बजे कल गर्ने महाशय बल्ल आइपुग्नु भयो।’
आदरार्थी शब्द पर्याप्त थियो – ममाथि खनिन्।
साथीहरुबाट थप बिल्ला आउने सम्भावनालाई न्यून बनाउन हत्तपत्त बाइक अगाडि बढाउन थालिहालेँ।

पावरट्रेन- ३४९ सिसी जे सिरिज इन्जिन सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयर कुल्ड
+++
उज्यालिएको बिहानीमा सुरु भयो यात्रा। गन्तव्य नुवाकोटको तारुका। यस यात्रामा हामीलाई साथ दिँदै थियो – रोयल इनफिल्डका हन्टर ३५० र स्क्राम ४११ ले। यात्रामा मसँगै छन् – प्रवीण रानाभाट, शुक्र गिरी र रविन खाकी। माघे संक्रान्तिका दिन गोरु जुधाउने मेला प्रवीणका लागि पुरानै भए पनि हाम्रा लागि पहिलो थियो। गोरु जुधाउने यात्रामा नेपाली बजार कब्जा गरिरहेका ‘मोस्ट पावरफूल ब्रान्ड’का बाइकमा हामी यात्रा गर्दै थियौं। त्यो पनि नेपालमै एसेम्बल भएको बाइक हुँदा अझ खुसी लाग्ने।
यात्रालाई रोमाञ्चक बनायो ‘हन्टर’ले। सुरुवाती दिनदेखि नै क्लासिक सेग्मेन्टको बाइकका लागि चिनिने ‘रोयल इनफिल्ड’ले पहिलो पटक लन्च गरेको ‘स्ट्रीट सेग्मेन्ट’ हो – हन्टर। यसको लुक्स र कलर भेराइटीले हामीजस्ता तन्नेरी पुस्ता लोभ्याउँछ नै। हेर्दा ‘हेभी’ हन्टर चलाउँदा निक्कै हलुङ्गो ‘फिल’ भयो। ह्विल बेस कम हुँदा ह्यान्डलिङ र बाइक टर्न गर्न निकै सजिलो।
काठमाडौंको व्यस्त सडकमा कुना काप्चालाई त काइदाको। क्लासिक जस्तै यसमा जे सिरिजको इन्जिन रहेछ। तुलनात्मक रुपमा तौल कम भएकाले ‘पावर पर्फर्मेन्स’ चाहिँ तगडा। समथर होस् या उकालो पावरमा कुनै गुञ्जायस भएन। बिहानको चिसो अनि तारुका पुग्ने हतारोले बत्तिँदा कुनबेला थाना भन्ज्याङ काट्यो पत्तै पाइएन। कहिले साथीहरु अगाडि त कहिले म। हाम्रो यात्रा यसरी नै चलिरह्यो।



+++
भन्ज्याङबाट जति धेरै उँधो झर्यो उति धेरै हुस्सु। थानसिङ पुग्दा लाग्यो – हामी तराईमा छौं। समथर बाटो। बाक्लो हुस्सु। अनि ससाना घर। गाडीको आवातजावात पातलो भएकाले सडक त्यसै पनि सहज। हामी बाइकमा हुँइकिरहेका साथीहरु मात्र हुस्सुसँग संघर्षमा थिएनौं। उदाउँदो घामले पनि धर्तीसँगको मिलापका लागि जोडबल गरिरहेको थियो। यी दुवै संघर्षका दृश्य मनमोहक थिए। जब घामले जित्थ्यो देखिन्थ्यो – सडकका दुवैतिर पहेँलै भएर लहलह फुलेका तोरीका फूल। थानसिङबाट गंगटे हुँदै केहीबेरमै त्रिशूली जोड्ने राजमार्गमा पुगियो। बिदाको दिन भएकाले सडक सुनसान।
कुनै पनि सवारीको रफ्तार त्यसको क्षमता भन्दा धेरै बाटोको कन्डिसनले निर्भर गर्छ। हाम्रो रफ्तार ४० , ६०, हुँदै १०० किलोमिटर प्रतिघन्टा पुग्न केही सेकेन्डमात्र लाग्यो। यसरी बत्तासिएर बाइकिङ गर्न त्यसै सकिन्न। त्यसमा कन्फिडेन्स चाहिन्छ। रोयल इन्फिल्डका बाइकमा रहेको ब्रेकिङ सिस्टमले हामीलाई चाहिएको कन्फिडेन्स दिइरहेको थियो।

म्याक्स पावर २०.४८ पीएस र २७ एनएन टर्क, टप स्पिड ११४


हन्टर उत्पादन हुने मुलुक भारतमा सिंगल र डुअल च्यानल एबीएस भर्सन उपलब्ध छ। तर, नेपालमा यसखाले अप्सन छैन। २०२३ मा ३५० सीसीको स्ट्रीट सेग्मेन्टको बाइकमा एबीएस नहुनु? कताकता कमजोरी लाग्यो। मूल्य कम गर्ने प्रतिस्पर्धामा एबीएस शहीद भएको अनुमान लगाएँ मैले।
गंगटेबाट तारुकाघाट पुग्न धेरै समय लागेन। अब हाइवे छाडेर हामी हानियौं दुवैतर्फ झाडीले घेरेको गोरेटो बाटोतिर। त्यसपछि झोलुंगे पुलको यात्रा। टाढाबाट हेर्दा निकै मनमोहक लाग्ने त्रिशूलीमाथि झोलुंगे पुलको यात्राले मन ढक्क फुल्यो। त्रिशूलीमा पानीको बेग यथावत छ। त्यसमाथिको पुलमा हामी। चिप्लिन्छ कि भन्ने डर उत्तिकै। साथीहरु पहिले नै अगाडि लागेकाले मलाइ दह्रै आँट मिल्यो। झोलुंगे पुलबाट हन्टर राइड मेरा लागि ‘थ्रिल’ र ‘फियर’को मिश्रण बन्यो।
नदीपारि पुगेपछि अफरोड सुरु भयो। हन्टर ब्ल्याक टपमा चलाउनुपर्ने बाइक, अब गिट्टी र धुलोमाथि हुइँकिन थाल्यो।



+++
असीमित सर्भिसिङको पर्खाइमा रहेका थोत्रा बाइकजस्तै लाग्छ नेपालका बाटाहरु। हाइवेको हालत चाहिँ हाफ इन्जिन मर्मत गर्न कुरिरहेका बाइकजस्तै। गाउँतिरका बाटा चाहिँ फुल इन्जिनकै प्रतीक्षाका।
हन्टरको ग्राउन्ड क्लियरेन्स १५० एमएम मात्रा। कहीँ कतै इन्जिन र साइलेन्सर पाइपमा झिसिक्क छुन्छ कि? त्रास ! तर, ह्विलबेस कम भएकाले खराब रिजल्ट भोग्न परेन। रोयल इनफिल्डको क्लासिकभन्दा सस्पेन्सन केही कडा लाग्यो। सानतिना ‘जर्क’ पनि फिल हुने। नेपालको रोड ‘कन्डिसन’ हेरेर सस्पेन्सनमा थोरै ‘वर्कआउट’ गरेको भए सुनमा सुगन्ध हुने ठम्याइ रह्यो।
कच्ची सडकमा उडिरहेको धुलो, खुकुलो ग्रावेल। अगाडिको टायरले उछिट्याउने ससाना ढुंगाले बाइकमा ठोक्किँदै निकालेको ट्वाङटुङ् आवाज अनौठो संगीत झै लाग्यो। अफरोड अनि रोचकता।



मूल्य ४ लाख ५९ हजारदेखि ४ लाख ८० हजार
केहीबेरको यात्रापछि पुगियो तारुका। मैदान खाली। स्टेजले भर्खर आकार लिँदै रहेछ। हामी समयभन्दा अघि ! सुनसान सडक। रविन, शुक्र र प्रवीणको रेसिङ मुड। हामी ढिलो हिँडेर पनि छिटो भयौं। अब केहीबेर तारुकाका गल्छेडातिर लाग्यौं। एकै कम्पनीका तीनवटा बाइक देख्दा धेरैको नजर हामीतिर पर्नु स्वाभाविक थियो।
केही बेरमा माइकिङको आवाज सुनेपछि हामी फर्कियौं। सुरुमा ससाना गोरु जुधिरहेका थिए। केही बेरमा ठूला पनि थपिए। कुनै गोरु जुधेकोजुध्यै गर्ने त कुनै जुध्न जानै नचाहने। केही समय हामी बाइक छाडेर फोटोग्राफीतिर लाग्यौं। केही अघि रित्तो हुँदा ठूलो देखिएको मैदान मान्छेको भिडले साघुरिँदै थियो।
चर्को घाम र शिवपुरीबाट बत्तिएर आएको चिसो हावा। केही बेर यस्तै मौसममा फोटो खिचेपछि फर्किन मन लाग्यो। घाममा ज्यान सेकिएको थियो। अफरोड बाटो अनि गधाको भारी झै ब्यागले थिचिएको ज्यान।




भेरियन्ट रेट्रो र मेट्रो एस्थेटिक, ग्राउन्ड क्लियरेन्स १५० एमएम, सिट हाइट ७९० एमएम
+++
चर्को घामले भएको गर्मी र उभिएर हेर्दै गोरु कुस्तीको थकान भने हन्टर चलाउदाको चिसो हावाले केही राहत दियो। झन् तारुकाघाट पुगेर त्रिशूलीमा हातमुख धोएपछि शरीर चंगा। जुन झोलुंगे पुल बाट तारुकाको अफ रोड यात्रा सुरु भएको थियो त्यही पुल बाटै फर्किदै थिऔं। रविन अघि थियो म उसलाई पछ्याउँदै।
बिहान आउदा कति खेर पुग्ला भन्ने रस थियो। साँझ भएपछि भने दिन नै नसिद्धियोस् जस्तो लाग्ने। बिहान हुस्सुले छेकिएको दृश्य भने गोधुली साँझमा जीवन्त देखिइरहेको थियो। यसबेला भने हाम्रो रफ्तार मध्यम रह्यो। अब भने हामी स्पीडको थ्रील भन्दापनि वरिपरिको प्रकृतिमा रमाउदै थियौं।

सुनौलो आकाशसँगै सुस्ताउँदै गरेको घामको रफ्तारमा हामी बिहान अन्डाकारमा झरेको ओरालो बाटो उकालो लाग्दै थियौं। घामले डाँडो काट्दै थियो हामी पनि डाँडामा पुग्दै थियौं। यसरी नै जब डाँडामा पुगियो अस्ताएको घामले सहरको उज्यालोलाई आफ्नो ठाउँ दिँदै थियो। हामीलाई पनि हन्टरको हेडलाइटले विस्तारै उज्यालो दिँदै थियो। अनि हाम्रो आजको हन्टर यात्रा ग्रान्डी आएर टुंगियो।
खसमा आजको गन्तव्य थियो तारुका। तर, हामीलाई गन्तव्य भन्दा पनि हन्टरसँगको सफर रमणीय लाग्यो।