
सन् २०२३ मा बलिउडमा ‘जवान,’ ‘एनिमल,’ ‘गदर-२’ लगायतका फिल्मले बक्स अफिसमा दमदार प्रदर्शन गरे। सन् २०२४ सुरु भएसँगै नयाँ फिल्मको चर्चा सुरु भएको छ।
जनवरी १२ मा राम राघवनको फिल्म ‘मेरी क्रिसमस’ प्रदर्शन हुने तय छ। सो फिल्ममा कटरिना कैफ र विजय सेतुपतिको अभिनय छ। यस्तै, भारतको गणतन्त्र दिवसको दिन सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’ प्रदर्शन हुनेछ। सो फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोणको अभिनय छ।
सन् २०२४ मा अक्षय कुमारको पाँच वटा फिल्म रिलिज हुँदैछ। सन् २०२३ मा अक्षयको फिल्मले सोचे जस्तो व्यापार गर्न सकेन। सन् २०२४ मा भने उनी गएको वर्षलाई भुल्दै नयाँ फिल्म लिएर आउँदैछन्। उनी सन् २०२० को तमिल फिल्म ‘सुरराई पोत्तरु’को रिमेकमा देखिनेछन्। साथै ‘बडे मियाँ छोटे मियाँ,’ ‘सिंघम-३,’ ‘स्काई फोर्स’ र ‘वेलकम टु जंगल’मा पनि अक्षय देखिनेछन्।
यस्तै, अजय देवगन पनि सन् २०२४ मा विभिन्न फिल्ममा देखिनेछन्। तब्बुसँग ‘औरों में कहाँ दम था’मा अक्षयको जोडी रहनेछ।
सन् २०२२ मा ‘लालसिंह चड्ढा’ असफल भएपछि आमिर खानले सामाजिक संजाल चलाउन छाडेका थिए। सन् २०२४ मा उनी नयाँ फिल्म लिएर आउने तयारीमा छन्। राजकुमार सन्तोषीको निर्देशनमा सन्नी देओलसँगै आमिर ‘लाहौर १९४७’ मा देखिनेछन्। यो वर्ष आमिर खानले निर्देशन गर्ने फिल्म पनि रिलिज हुनेछ।
दक्षिण भारतीय फिल्म तर्फ पनि प्रतिक्षित सिनेमाहरु लाइनअपमा छन्। ‘कल्कि २८९८ एडी,’ ‘पुष्पा-२,’ ‘कान्तरा च्याप्टर २’ लगायत फिल्महरु सन् २०२४ मा प्रदर्शन हुनेछन्।
यो वर्ष सन् २०१८ मा प्रदर्शन भएको फिल्म ‘स्त्री’को सिक्वेल पनि आउनेछ। साथै, २००४ मा प्रदर्शन भएको लाइफ इन मेट्रोको सिक्वेल ‘मेट्रो इन दिनों,’ ‘लव सेक्स और धोखा २’ जस्ता सिक्वेल पनि रिलिज हुनेछ।
यस्तै, राजनीति केन्द्रीत ‘मैं अटल हुँ,’ ‘स्वातन्त्र्य वीर सावरकर,’ ‘बस्तर : द नक्सल स्टोरी’ फिल्महरु पनि प्रदर्शनको तयारीमा रहेको छ।