शेखर गगन टसल, कोशीमा केदार कार्की मुख्यमन्त्री बनेपछि बढेको दुरी अझै बढ्दै

नेत्र तामाङ
२०८० मंसिर २५ गते २१:१८ | Dec 11, 2023
शेखर गगन टसल, कोशीमा केदार कार्की मुख्यमन्त्री बनेपछि बढेको दुरी अझै बढ्दै


काठमाडौं। नेपाली कांग्रेस संस्थापनइतरका दुई खम्बा मानिने डा शेखर कोइराला र महामन्त्री गगन थापाबिचको टसल थप बढेको छ। कोशीमा केदार कार्की मुख्यमन्त्री बनेयता दुई नेताको दुरी बढ्न थालेको हो।

Tata
GBIME
NLIC

पार्टीमा सभापति शेरबहादुर देउवाको मनपरी बढेको भन्दै एक भएर महाधिवेशन उत्रेका दुई नेताको अहिले बोलचाल नै बन्द छ। मंगलबार डा शेखरले डाकेको भेलामा गगनको उपस्थिति नहुने पक्कापक्की भएको छ।

‘महामन्त्रीको फोन लागिरहेको छैन, उहाँलाई निम्तो दिने प्रयास जारी छ,’ शेखर निकट एक नेताले भने।

देउवाले महासमिति बैठक पटक-पटक सारेपछि शेखर पक्षले बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक डाकेका छन्। बैठकमा आसन्न महासमितिमा आफ्नो समूह कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने डा गोविन्द राज पोखरेलले बताए। अर्का केन्द्रीय सदस्य मधु आचार्यले राष्ट्रिय सभा निर्वाचनबारे पनि बैठकमा छलफल हुनसक्ने जनाए।

उक्त बैठकमा गगनको उपस्थिति हुनुपर्ने माग संस्थापनइतरका युवा नेताहरूले गरेका छन्। गगन कार्यक्रममा नपुग्ने उनी निकट नेताहरू बताउँछन्। तर, सहमहामन्त्री जीवन परियारले थापा बैठकमा उपस्थिति हुने बताए। थापा आउने भएपछि नै बैठक बुधबारका लागि सारिएको परियारले बताए। महासमितिलगायत विषयमा छलफल गर्न सभापति देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका छन्।

देउवाको एकलौटीविरुद्ध १४औं महाधिवेशनमा डा. शेखर र गगन ‘टिम अप’ गरी भिडेका थिए।

सभापतिमा देउवाले जित निकाल्दा महामन्त्रीमा गगन निर्वाचित भए। तर १३औं महाधिवेशनमा भन्दा पार्टीमा देउवा थप शक्तिशाली बने। केन्द्रीय समितिमा देउवाको मनपरी अझै बढ्न थालेको छ। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति वर्ष दिनसम्म बस्न नसक्दा पनि कांग्रेस संस्थापनइतरले खासै आवाज उठाउन सकेन। दुई महामन्त्री गगन र विश्वप्रकाश शर्माले भने केन्द्रीय समिति बैठकबारे आवाज उठाइरहे। उनै देउवाले भदौपछि एकैचोटि साउनमा केन्द्रीय समिति डाके।

केन्द्रीय समिति लाइभ गरेर देउवाले वाहवाही बटुल्दा दुई महामन्त्री भने रक्षात्मक देखिए। कांग्रेसमा अझै पनि भ्रातृ संगठन लथालिङ्ग अवस्थामा छन्। केन्द्रीय कोषाध्यक्षको चयन हुन गर्न देउवाले कुनै तयारी गरेका छन्। महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको थियो। महाधिवेशन सकिएको छ महिनामा केन्द्रीय समितिमा पूर्णता दिनुपर्ने हो। त्यो काम अझै अपूरै छ। यस्तो अवस्थामा कांग्रेस कोशी प्रदेश सरकार निर्माणको प्रक्रियामा विवादमा तानियो।

नेताबिच बोलचालै बन्द

कोशी प्रदेशमा शेखर समूहका नेता केदार कार्की मुख्यमन्त्री भएसँगै शेखर गगनको दुरी झनै बढेको हो। कोशी प्रकरणमा असन्तुष्ट जनाएका गगनले आफूले महिना दिनयता नेता शेखरलाई नभेटेको कात्तिक २ गते अनुपम फुडल्यान्डमा आयोजित एक कार्यक्रममा भनेका थिए। ‘वरिष्ठ नेताजीसँग एक महिना जति भयो भेट नभएको। पत्रपत्रिकामा पढिरहेको छु। भेटघाट भएमा भनौंला,’ गगनले भनेका थिए।

ठिक एक महिनाअघि असोज २ गते डा शेखरले आफ्नो सचिवालय बालुवाटारमा आफू इतरका नेताहरूको भेला डाकेका थिए। उक्त बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई पनि निम्तो दिइएको थियो। दुबै जना अनुपस्थित हुँदा गगन भने बैठकमा पुगेका थिए। कृष्णप्रसाद सिटौलाको साथ पाएर देउवा टिमबाट महामन्त्री भिडेका प्रदीप भने अहिले शेखरसँग नजिकिएका छन्।

कोशी प्रकरणमा देउवासँग भेटेर आफूले पहिले अँध्यारो कोठामा काम गर्ने अनि पछि सबैलाई बोलाएर निर्णय गर्ने काम गर्न नहुने अडान राखेको दाबी गरे। उनले आफू शेखरको जस्तो विद्रोहमासमेत नलाग्ने बताए। कोशीमाझैं अरू प्रदेशमा पनि सरकार बदल्न कांग्रेस प्रदेश सांसदहरूले चाहेको उल्लेख गर्दै गगनले यसबारे शेखरलाई कटाक्षसमेत गर्न भ्याएका थिए। ‘कांग्रेसमा विद्रोह हैन बदल्नुपर्छ। परिवर्तनको चेत सम्बन्धमा म सचेत छु। पार्टीलाई बदल्नुपर्छ भन्ने हिसाबमा म लागेको छु। नेतृत्वको सन्दर्भमा सबै यसरी नै लाग्नुपर्नेछ,’ उनले भने ।

यही विषयमा कोशीका मुख्यमन्त्री कार्कीले ओखलढुंगा पुगेर गगनमाथि असन्तुष्टि पोखेका थिए। मंसिर १९ गते ओखलढुंगामा भएको कांग्रेसको जिल्ला सम्मेलनमा थापालाई लक्षित गर्दै कार्कीले भनेका थिए, ‘अरूले नै लगिसकेको मुख्यमन्त्री मैले खोसेर ल्याउँदा केही मान्छेलाई पचेन। बोमिट आयो।’ कोशीमा एमालेसँग गठबन्धन गरी कांग्रेसले माओवादीबाट मुख्यमन्त्री आफ्नो पोल्टामा पारेको थियो। सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि शेखर पक्षले विद्रोह गरी कार्कीलाई मुख्यमन्त्री बनाएका थिए। पछि कार्कीलाई गठबन्धनले नै मुख्यमन्त्री स्वीकारिसकेको छ।