क्यासिनो नवीकरणमा पनि २५ लाख रुपैयाँ बैंक जमानत, प्रदेशबाटै विदेशी मुद्राको कारोबार लाइसेन्स

बिजमाण्डू
२०८० मंसिर २५ गते १२:०१ | Dec 11, 2023
क्यासिनो नवीकरणमा पनि २५ लाख रुपैयाँ बैंक जमानत, प्रदेशबाटै विदेशी मुद्राको कारोबार लाइसेन्स


काठमाडौं। अबदेखि सरकारले नवीकरण गरेका क्यासिनोले पनि लाइसेन्सका लागि पैसा बुझाउनु पर्ने भएको छ। राष्ट्र बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली-२०७७ को दोस्रो संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको हो।

Tata
GBIME
NLIC

क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स लिन प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ बराबरको २ बर्षको बैंक जमान र लाइसेन्स शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनु पर्नेमा अबदेखि नवीकरणका हकमा पनि २५ लाख रुपैयाँ लाग्ने छ।

क्षेत्रीय स्तरका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा लाइसेन्सका लागि आवेदन दिन सक्ने भएको छ। राष्ट्र बैंकले विनियमावली संशोधन गरी प्रादेशिक कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको हो।

बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रुपमा प्राप्त गरेको लाइसेन्सका आधारमा शाखाबाट मात्र विदेशी विनिमयको कारोबार गर्न पाउनेमा अबदेखि एक्सटेन्सन काउन्टरलाई पनि यो सुविधा दिइएको छ।

स्टोर/सुपरमार्केट, एयरलाइन्स, तीन तारे तथा त्यसभन्दा माथिका होटलका साथै अन्य होटल, रिसोर्ट, फर्म, कम्पनी र संस्थाले कम्तिमा चार बर्ष अवधिको बैंक जमानत पेश गर्नु पर्ने थियो। अब बढीमा १५ महिनाको गरे हुने भएको छ।

समयभित्र लाइसेन्स नवीकरण नगराएमा बैंक जमानत जफत भइ लाइसेन्स रद्द हुने ब्यवस्थामा राष्ट्र बैंक लचक बनेको छ। अब जरिवाना काटेर बैंक जमानत र धरौटी फिर्ता हुने छ। लाइसेन्स भने रद्द हुने छ।