भूकम्पका कारण जाजरकोटमा ९ करोडको खाद्यान्न क्षति, ५ करोड बढीको पशुपन्छीको क्षति

बिजमाण्डू
२०८० मंसिर २५ गते ०८:२८ | Dec 11, 2023
भूकम्पका कारण जाजरकोटमा ९ करोडको खाद्यान्न क्षति,  ५ करोड बढीको पशुपन्छीको क्षति


काठमाडौं । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। ३४ हजार ५०१ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९०० रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।

Tata
GBIME
NLIC

गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट ९ हजार ७९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

६.४ म्याग्नेच्युडको भूकम्पले भत्किएका ३४ हजार ५०१ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार ७२५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ।

जाजरकोट भूकम्पले जिल्लाभर ५ करोड ४१ लाख ४२ हजार १७२ रुपैयाँ बराबरका पशुपन्छीको क्षति भएको छ। जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार ५६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन्।

कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि जाने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ।

खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जनाइएको छ।

जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो। जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रह समेत गरेको छ।