क्यानलाई एनएसी अध्यक्षको जवाफ, ‘एकाउन्टेबल म्यानेजरका रुपमा सबै जिम्मेवारी निर्वाह गरेको छु’

वसन्तराज उप्रेती
२०८० मंसिर २४ गते १५:०८ | Dec 10, 2023
क्यानलाई एनएसी अध्यक्षको जवाफ, ‘एकाउन्टेबल म्यानेजरका रुपमा सबै जिम्मेवारी निर्वाह गरेको छु’


काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एकाउन्टेबल म्यानेजर’का रुपमा जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको जिकिर गरेका छन्।

Tata
GBIME
NLIC

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ पठाउँदै अधिकारीले सो जिकिर गरेका हुन्। युरोपेली युनियन(ईयू)को प्रतिवेदनपछि प्राधिकरणले अधिकारीलाई एकाउन्टेबल म्यानेजरका रुपमा बर्खास्त किन नगर्ने भन्दै सात दिने स्पष्टीकरण सोधेको थियो।

‘उहाँले आफूले निगमको एकाउन्टेबल म्यानेजरका रुपमा गर्नुपर्ने सबै काम गरेको जवाफसहित पत्र पठाउनुभएको छ। जवाफ अध्ययनपछि आवश्यक निर्णय हुनेछ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिजमाण्डूसँग भने, ‘टिप्पणी लेखेर महानिर्देशकज्यूको निर्णय अनुसार कारबाही अगाडि बढाउनेछौं।’

अधिकारीको जवाफ सन्तोषजनक नभए एकाउन्टेबल म्यानेजरको भूमिका खोसिने भुलले बताए। त्यसपछि निगम र प्राधिकरणबीच हुने प्रक्रियागत काममा अधिकारीको हस्ताक्षर अमान्य हुनेछ। विधिवतरुपमा अधिकारी जिम्मेवारीवबिहीन हुनेछन्।

अधिकारीलाई यसअघि तत्कालिन पर्यटनमन्त्री प्रेमबहादुर आलेले बर्खास्त गरेकामा उनी सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पदमा फर्किएका हुन्।

हवाई सुरक्षामा ध्यान नदिएको, हवाई सुरक्षा प्रणाली तथा अन्य व्यवस्थापन पक्ष र वायुयान उडाएर संस्थाको दिगो विकासमा ध्यान नदिएर अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम गरेको भन्दै प्राधिकरणले अधिकारीसँग स्पष्टीकरण मागेको थियो।

यो सँगै गत साता प्राधिकरणले विमानस्थल सेवा शुल्क २०७८ नियम ५(२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवा दिने कम्पनी प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय गरेको थियो।

अधिकारीलाई के हुन्छ ?

पर्यटनमन्त्री सुदन किरातीको सहमतिमा सात दिने स्पष्टीकरण सोधेको प्राधिकरण अहिले केही ‘सफ्ट’ देखिएको छ। शुक्रबार स्पष्टीकरण बुझाएका अधिकारीलाई प्राधिकरणले तत्कालै कारबाही गर्ने खोजेको देखिंदैन।

जवाफ बुझाउने अघिल्लो दिन अर्थात गत बिहिबार निगम अध्यक्ष अधिकारीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भेटेका थिए। निगम अध्यक्ष अधिकारीले प्राधिकरणको विरुद्धमा नजाने र सुरक्षा प्रणाली सुदृढ बनाउने प्रतिबद्धता जनाएको निगमका एक कर्मचारीले बताए।

प्राधिकरणले स्पष्टीकरण माग्नुका साथै ग्राउण्ड ह्‍याण्डलिङ खोस्ने निर्णय गरेपछि अधिकारीले निगमका चार वटै ट्रेड युनियनलाई आन्दोलनमा उतारेका थिए। उनीहरुले प्राधिकरणको टोलीलाई हवाई अडिटमै अवरोध पुर्‍याएका थिए।

ईयूको प्रतिवेदनपछि फाष्ट ट्रयाकमा स्पष्टीकरण सोधेको प्राधिकरणले अडिटपछि मात्रै अधिकारीका बारेमा निर्णय गर्ने स्रोतले बतायो।

‘निगमको आन्तरिक सुरक्षा प्रणालीका बारेमा अडिट चलिरहेको छ। त्यो प्रतिवेदनका आधारमा स्पष्टीकरणबारे निर्णय हुने देखिएको छ,’ निगमका एक कर्मचारीले भने, ‘निगमले अहिले जहाज किन्ने प्रक्रिया अगाडि बढाएको छ। अधिकारीलाई कारबाही गर्दा अगाडि बढिसकेको प्रक्रिया तुहिने सम्भावना हुन्छ। त्यो प्रक्रिया रोकेको दोष आफूलाई थोपर्ने डर प्राधिकरण नेतृत्वलाई छ। त्यही भएर अधिकारीको बारेमा निर्णय गर्न केही समय लाग्ने देखिन्छ।’

निगमले तीन वटा साना जहाज किन्न कात्तिक पहिलो साता टेण्डर आह्‍वान गरेकामा तीन कम्पनीले आवेदन दिएका छन्।जहाज निर्माता कम्पनी ‘लेट ४१०’ एयरक्राफ्ट इण्डस्ट्रिज चेक रिपब्लिक, ‘डोर्नियर’हिन्दुस्तान एरोनोटिकल लिमिटेड र ‘ट्विनअटर’ डी हेभिल्याण्ड क्यानडाले आवेदन दिएका हुन्।