मौद्रिक समीक्षापछिको सेयर बजार : फराकिलो उडान भर्ने लगानीकर्ताको विश्लेषण

बिजमाण्डू
२०८० मंसिर २४ गते ०९:१५ | Dec 10, 2023
मौद्रिक समीक्षापछिको सेयर बजार : फराकिलो उडान भर्ने लगानीकर्ताको विश्लेषण


काठमाडौं । एकातिर प्रत्यक्ष सम्बोधन, अर्कोतिर ब्याज दरमा लचकता- मौद्रिक नीति समीक्षापछिको पहिलो सेयर बजारले उडान भर्ने विश्लेषण हुन थालेको छ।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीतिमा लचकता अपनाएको छ। अर्कोतिर ब्याज दर घटाउन पनि प्रत्यक्ष पहल गरेको छ।

यी दुई मूल्यका कारणले शनिबार बिदापछि आज खुल्न लागेको सेयर बजारले उडान भर्ने विश्लेषण भएको हो।

राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो ऋणको जोखिम भारित सम्पत्तिलाई १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ। त्योभन्दा मुनिको जोखिम भार १०० प्रतिशत छ।

यसले अब बैंकहरु सेयर बजारमा पनि लगानी गर्न सक्छौ है भनेर राष्ट्र बैंकले दिशानिर्देश गरेको हो।

अर्कोतिर राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ। यसबाट बैंकहरुलाई निक्षेपको ब्याज दर घटाउन प्रेरित गर्छ। ब्याज घटेपछि ऋणको लागत पनि कम पर्छ। ऋण सस्तो भएपछि मुद्राप्रदायमा सुधार हुन्छ, जसका कारण सेयर बजारलाई तरङ्गित बनाउने छ। 

नेपाल राष्ट्र बैंकको गभर्नरका रुपमा महाप्रसाद अधिकारी आएपछि उनले ल्याएको दोस्रो मौद्रिक नीति लगत्तै सेयर बजार घट्न थालेको थियो। 

कोभिड १९ कै बीचमा ३२ सय अंकमाथि पुगेको बजार त्यसपछि  निरन्तर घटेको छ। बजार पुँजीकरणमा पनि ठूलो क्षति भएको छ। राष्ट्र बैंकले सेयर धितो ऋणका साथै समग्र ऋण लगानीलाई नै नियन्त्रण गरेको थियो। साथै तरलता प्रवाहमा कमी ल्याउँदै ब्याज बढाउने नीति अख्तियार गरेको थियो।

त्यसले सेयर बजारसँगै घरजग्गा, उपभोगलगायत घटेर आर्थिक मन्दीकै अवस्था सृजना गराएको थियो।

बजार ठप्प अवस्थामा भएपछि सरकार, सरोकारवाला, निजी क्षेत्रले राष्ट्र बैंक लचक हुनु पर्ने बताउँदै आएको थियो। एकातिरबाट लचकता अपनाउने र अर्कोतिरबाट कस्ने  काम गर्न राष्ट्र बैंकले छाडेको थिएन।

तर, शुक्रबार समीक्षामार्फत उसले उदार नीति लिएको छ। यद्यपि, कार्यान्वयन भने उसले जारी गर्ने निर्देशनबाट हुनेछ।

समीक्षा राम्रो आएको भन्दै सामाजिक सञ्जालमा सेयर लगानीकर्ताहरुले खुसी मनाएका छन्। त्यसैले आइतबार १८५२ अंकको सेयर बजारले फराकिलो छलाङ मार्ने विश्लेषण उनीहरुले गरेका छन्।