चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी, पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै

बिजमाण्डू
२०८० मंसिर २३ गते १४:४४ | Dec 9, 2023
चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी, पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै


चितवन। जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ रकम पाउन सकेका छैनन्। यहाँ रहेका १ सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन्।

Tata
GBIME
NLIC

असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेले बताए।

उनले भने, ‘दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दूध लगेबापतका रकम अहिलेसम्म नदिँदा किसानलाई समस्या भएको छ।’

हरेक १५/१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उनको भनाइ छ।

दुग्ध विकास बोर्डबाट यहाँका किसानले ११ करोड रुपैयाँ, पोखरामा रहेको सुजल डेरी उद्योगबाट २ करोड र अन्य निजी डेरी कम्पनीबाट गरेर २२ करोड रुपैयाँ रकम बाँकी रहेको छ। यहाँ दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको बगालेले बताए।

उनले भने, ‘अहिले दूध खपत हुन कठिन भएको छ, तर जेनतेन गइरहेको छ।’

यहाँ उत्पादित दूधमध्ये १ लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ। अन्य दूध जिल्लामै खपत हुने गरेको उनले जानकारी दिए।

उनले भने, ‘किसानले भुक्तानी नपाउँदा समस्या भएको छ, अन्य जिल्लामा ‘मिल्क होडिडे’ मनाउन थाले, यहाँ अहिले नै त्यस्तो नहोला भन्‍नेमा छौँ।’

उत्पादित दूध बिक्री गर्न कठिन हुने गरेको उनले बताए। अघिल्ला वर्षको तुलनामा यस वर्ष यो समयमा कम दूध बिक्री भएको उनले जानकारी दिए। रासस