स्वदेशी आलु र प्याजमा भ्याट नलगाइएको राजस्व विभागको स्पष्टोक्ति, बजारमा अभाव कायमै

बिजमाण्डू
२०८० मंसिर २२ गते २२:१८ | Dec 8, 2023
स्वदेशी आलु र प्याजमा भ्याट नलगाइएको राजस्व विभागको स्पष्टोक्ति, बजारमा अभाव कायमै


काठमाडौं। आन्तरिक राजस्व विभागले नेपालमा उत्पादित भएका आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाइएको स्पष्टोक्ति दिएको छ। कृषिजन्य वस्तुहरुमा भ्याट लगाइएपछि बजारमा सहज आपूर्ति गर्न नसकिएको व्यवसायीहरुले बताएपछि विभागले यस्तो जानकारी दिएको हो।

Tata
GBIME
NLIC

सूचना जारी गर्दै विभागले आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप भ्याट नलगाइएको बताएको हो।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

बजारमा आधिकारिक रूपमा तरकारी व्यवसाय गर्नेहरूले केही दिनदेखि आलु र प्याज नउठाएपछि चरम अभाव भएको छ।

सरकारले चालु आर्थिक वर्षबाट आयातित र स्थानीय दुवै आलु र प्याजमा भ्याट लगाएकाले आपूर्ति गर्न नसकिएको व्यापारीहरुको भनाइ छ। स्थानीय उत्पादनलाई भ्याटको दायरामा ल्याउन कठिन हुने व्यवसायीले बताउँदै आएका छन्।

अहिले काठमाडौं उपत्यकामा मात्रै दैनिक १०० क्विन्टल आलु र प्याज खपत हुने गरेको छ। यसरी खपत हुने आलु र प्याज व्यवसायीले ल्याउन ठप्प पारेपछि बजारमा अन्य माध्यमबाट आएका आलु र प्याजले भाउ पाएका छन्। नियमित कारोबारी व्यवसायले आलु-प्याज ल्याउन ठप्प पारेको केही दिनमै बजार महँगिएको छ।

अहिले आलुको ६० देखि ७० रुपैयाँ र प्याज १३० देखि १४० रुपैयाँ प्रतिकेजी पुगेको छ।