
हेटौंडा। मकवानपुरका दुग्ध उत्पादक किसान यतिबेला अघोषित ‘मिल्क होलिडे’को मारमा परेका छन्।
हेटौंडा दुग्ध वितरण आयोजनालगायत निजी क्षेत्रका डेरी उद्योगले साताको दुई दिन दूध खरिद नगर्दा किसानहरु अघोषित ‘मिल्क होलिडे’को मारमा परेका हुन्। दूध बिक्री नभएपछि मकवानपुरगढी गाउँपालिकाका कृषकसामु दूध पुन: गाईभैंसीलाई नै खुवाउने र फाल्नुपर्ने बाध्यता आइलागेको छ।
डेरी उद्योगले साताको दुई दिन दूध खरिद नगर्नुका साथै दूधको रकम पनि किसानहरुलाई भुक्तानी गरेका छैनन्। डेरीले कात्तिक मसान्तसम्मको ३० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिए।
‘दुग्ध विकास संस्थान हेटौंडा दुग्ध वितरण आयोजनालाई हामी दैनिक ७ हजार लिटर दूध दिन्छौं। संस्थानले लामो समयदेखि बटर र पाउडर स्टक रहेकाले बिक्री नगरेसम्म भुक्तानी गर्न सक्दिन भनेको छ,’ व्यवस्थापक दाहालले भने।
उनका अनुसार मकवानपुरका १३ वटा उद्योगलाई बिक्री गर्दा समेत २० हजार लिटर दूध पनि खपत भइरहेको छैन। जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक ४० देखि ५० हजार लिटर दूध संकलन गर्ने गरेको छ। एक दिन बन्द एक दिन खुला गर्दा ६० हजार पुग्ने गरेको व्यवस्थापक दाहालले बताए।
उनले विगतमा किसानहरु ‘मिल्क होलिडे’को मारमा परेपनि यसपटक भने भुक्तानी नपाउँदा झन मारमा परेको बताए।
साताको दुई दिन मिल्क होलिडे हुँदा महिनामा ३ करोड रुपैयाँको दूध खेर जाने गर्छ। तर हेटौंडा दुग्ध वितरण आयोजना र निजी क्षेत्रका उद्योगले नियमितरुपमा दूध संकलन गर्न छोडेर सातामा पाँच दिनमात्र संकलन गर्नु भनेर जिल्ला दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडमार्फत मनकामना दुग्ध सहकारीलाई सूचना गरेकाले कृषकहरु समस्यामा परेका हुन्।
सहकारीले साताको दुई दिन दूध संकलन नगर्दा दैनिक २०० लिटरसम्म दूध बिक्री गर्दै आएका किसान थप समस्यामा परेको सहकारीका व्यवस्थापक शशी लम्सालले बताए।
जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाले ६१ वटा दुग्ध सहकारीमार्फत दैनिक ५० हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ। त्यसमध्ये अहिले १५ हजार लिटर दूध हेटौंडामा खपत भइरहेको छ भने २० हजार लिटर दूध ललितपुर, भक्तपुर र काभ्रेमा पठाउने गरिएको छ।
दैनिक १५ हजार लिटर दूध खपत हुन नसकेकाले सातामा पाँच दिन मात्र संकलन गर्न थालिएको हो।