बबरमहलमा ‘अन डिमान्ड क्रसिङ लाइट’को यस्तो छ उपयोग

रोजन श्रेष्ठ
२०८० मंसिर १९ गते १६:५२ | Dec 5, 2023
बबरमहलमा ‘अन डिमान्ड क्रसिङ लाइट’को यस्तो छ उपयोग


काठमाडौं। दुई साता अघिबाट बबरमहलस्थित काठमाडौं जिल्ला अदालतको दुई भवन वारिपारि गर्न सजिलो हुनेगरि सडक किनारमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन) प्रणाली जडान गरियो। यो प्रणालीको मुख्य उद्देश्य जेब्राक्रसिङबाट बाटो काट्ने यात्रुलाई सजिलो बनाइदिनु थियो। अहिले प्रणालीले काम गर्दैछ।  

Tata
GBIME
NLIC

पैदलयात्रीले एक किनारमा रहेको स्वीच थिचेपछिको ५ सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ। एक पटक थिचेपछि ३० सेकेण्ड बत्ती बल्छ। पहिलो ३० सेकेण्ड बत्ती बलेको अवधि सकिएपछिको  २ मिनेटमा मात्र पैदलयात्रीले अर्को पटक बटन थिच्न सक्छन्। अर्थात् २ मिनेटपछि मात्र जेब्रा क्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ।

पैदलयात्रु मैत्री प्रणाली प्रयोगमा ल्याइएसँगै थप ३६ स्थानमा यस्तै प्रणाली राख्ने काठमाडौं महानगरको तयारी छ। यो प्रणालीलाई सडक र अवस्था हेरेर स्वीच ४० सेकेण्ड बनाउनेबारे पनि छलफल भइरहेको छ।

यात्रु स्वयंले स्वीच थिचेर आफू अनुकूल बाटो काट्न पाउन यो प्रविधिको प्रयोग भएको हो। तर, बबरमहलमा भने ‘पिक आवर’मा यात्र ट्राफिक र महानगर प्रहरी नै खटेर स्वीच थिच्नुपर्ने हुन्छ। यात्रुहरुले स्वीच थिच्ने र हिँड्ने गरेपछि व्यस्त समयमा ट्राफिक र महानगर नै  खटाउनुपर्ने भएको हो।

विस्तारै यात्रुहरुलाई यसबारेमा जानकारी दिएर यो प्रणालीको प्रयोग गरेर जेब्रा क्रसिङबाट बाटो काट्ने कुरालाई व्यवस्थापन गर्ने महानगरको तयारी छ।

दैनिक वारपार गर्ने यात्रुहरुले भने बाटो काट्न पहिलाभन्दा सजिलो भएको बताएका छन्।

काठमाडौं जिल्ला अदालत पुगेका कपिल क्षेत्रीले भने, ‘पहिला बाटो काट्दा गाडीले हान्छ कि भन्ने डर हुन्थ्यो। अहिले आफैं स्वीच थिचेर बाटो काट्न पाउँदा सजिलो छ।’ तर, यात्रुहरुले जथाभावी यो प्रणालीको प्रयोग गर्दा समस्या बढेको उनले देखेका छन्।

यो प्रणालीलाई पहिलो पटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षण गरिएको थियो। यसबाट सकारात्मक प्रतिक्रिया आएपछि नमूना परीक्षण बबरमहलमा राखिएको हो।

बबरमहलमा राखिएको प्रणाली जडान गर्न करिब ७ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ। बबरमहलको प्रणाली सञ्चालन गर्न जिल्ला अदालतबाट बिजुलीको आपूर्ति गरिएको छ।