
एक्स (ट्विटर)लाई बहिस्कार गरेका विज्ञापनदातालाई इलोन मस्कले छुद्र रुपमा गाली गरेको देखेर विज्ञहरु दंग छन्। यदि एक्सलाई बहिस्कार गरेका विज्ञापनदाताहरु फेरि फर्किएर आएनन् भने के एक्सको भविष्य सुरक्षित छ त?
गत अप्रिलमा बीबीसीका जेम्स क्लेटनसँगको अन्तर्वार्तामा मस्कले विज्ञापनका लागि ट्विटर उपयुक्त प्लेटफर्म भएको बताएका थिए।
उनले भनेका थिए, ‘यदि डिज्नीले बाल चलचित्रहरू (ट्विटरमा) विज्ञापन गर्न सहज महसुस गर्छ, अनि एप्पलले आइफोनहरूको विज्ञापन गर्न सहज महसुस गर्छ भने यी कुराले ट्विटर विज्ञापन गर्नको लागि राम्रो ठाउँ हो भन्ने संकेत गर्छ।’
त्यसको ७ महिनापछि डिज्नी र एप्पलले एक्समा विज्ञापन गर्न छाडेका छन्। त्यसैको झोकमा मस्कले विज्ञापनदाताहरुलाई तथानाम गाली गर्नसम्म भ्याए।
बुधबारको एक सनसनीपूर्ण अन्तर्वार्तामा मस्कले ब्यांकरप्सी (टाट पल्टने) शब्द पनि प्रयोग गरे। एकपछि अर्को विज्ञापनदाताहरुले बहिस्कार गर्दै जाँदा कम्पनीलाई कतिसम्म नोक्सान गरेको छ भन्ने कुरालाई यसले संकेत गरेको छ।
गतवर्ष मात्रै ४४ अर्ब डलरमा किनिएको कम्पनी टाट पल्टेला भन्ने कुरा अकल्पनिय लाग्न सक्छ। तर यो असम्भव भने छैन।
यसबारे बुझ्नको लागि एक्स कतिसम्म विज्ञापनको भरमा चलेको छ र हालको अवस्थामा विज्ञापनदाताहरु किन फर्किन चाहन्नन् भन्ने कुरा बुझ्न आवश्यक छ।
गतवर्षसम्म एक्सको करिब ९० प्रतिशत रिभेन्यू विज्ञापनले थेगेको थियो। जुन कम्पनीको बिजनेसको मुटु नै हो। बुधबारको अन्तर्वार्तामा पनि मस्कले यसबारे धेरै हदसम्म इंगित गरेका छन्।
‘यदि कम्पनी डुब्छ भने… त्यसको कारण विज्ञापनदाताहरुको बहिस्कार नै हुनेछ। यसले कम्पनीलाई टाट पल्टाउन पनि सक्छ,’ मस्कले भनेका छन्।

एक्समा विज्ञापनदाताहरु फर्किने सम्भावना नरहेको बताउँछन् मार्केटिङ कन्सल्टेन्सी इबिक्विटीका चिफ क्लायन्ट अफिसर मार्क गे। इबिक्विटीले सयौँ कम्पनीहरुसँग सहकार्य गर्दै आइरहेको छ।
‘विज्ञापनदाताहरुले पैसा झिकिसकेका छन् र त्यहाँ पुनः विज्ञापनमा लगानी गर्न कसैले पनि कुनै नीति बनाएको मैलै पाएको छैन,’ उनले भने।
गत शुक्रबार रिटेल जायन्ट वालमार्टले पनि प्लेटफर्ममा अबदेखि विज्ञापन नगर्ने घोषणा गरेसँगै एक्सको लागि अवस्था झनै बिग्रिएको छ। बुधबार न्यूयोर्क टाइम्स डिलबुक समिटमा अन्तर्वार्ताका क्रममा विज्ञापनदाताहरुलाई तथानाम गाली गरेपछि मस्कले यस्तो एउटा कुरा भने जसले विज्ञापनदातालाई अझ चिढ्याएको छ।
डिज्नीका सीईओ बब आइगरलाई कटाक्ष गर्दै मस्कले भनेका थिए ‘हाई बब!’
मस्कले प्रमुख कार्यकारीहरुलाई यसरी अपमान गर्दै जाने हो भने एक्सप्रति उनीहरुको वितृष्णा झनै बढ्ने बताउँछन् मार्केटिङ कन्सल्टेन्सी एजेएल एड्भाइजरीका लोउ पास्कालिस।
इन्साइडर इन्टेलिजेन्सका एनालिस्ट ज्याज्मिन एनबर्ग थप्छिन्- एक्सको आम्दानीको स्रोतका रुपमा रहेका विज्ञापनदाता र कम्पनीहरुलाई यसरी सार्वजनिक र व्यक्तिगत रुपमा आक्रमण गर्दै गए कम्पनीको बिजनेसको लागि कतिसम्म घातक हुन्छ भन्ने बुझ्नको लागि कुनै सोसल मिडिया एक्सपर्ट हुनु जरुरी छैन।
के साच्चै एक्स टाट पल्टिने सम्भावना छ?
यदि साच्चै विज्ञापनदाताहरु एक्समा नफर्किने गरी गएका हुन् भने मस्कको साथ अरु उपायहरु के हुन सक्छन्?
एक्सको सब्स्क्रिप्सनबाट आउने आम्दानीले विज्ञापनबाट आउने आम्दानीलाई प्रतिस्थापन गर्ने नसक्ने कुरा मस्कले अप्रिलको बीबीसीसँगको अन्तर्वार्तामा प्रष्ट पारेका छन्।
‘यदि वार्षिक १०० डलरको सब्स्क्रिप्सन किन्ने प्रयोगकर्ताहरु १० लाख जना नै भएपनि वर्षमा १० करोड डलर रिभेन्यू उठ्छ। विज्ञापनको तुलनामा यो निकै थोरै आम्दानी हो,’ उनले भनेका थिए।
२०२२ मा ट्विटरले विज्ञापनबाट ४ अर्ब डलर आम्दानी गरेको थियो। यो वर्ष उक्त आम्दानी १ अर्ब ९० करोडमा खुम्चिने इन्साइडर इन्टेलिजेन्सले अनुमान गरेको छ।
कम्पनीको दुई वटा प्रमुख खर्च छन्। एउटा भनेको कर्मचारीको तलब हो, जसमा मस्कले हजारौँ कर्मचारीलाई कामबाट निकालेर त्यो खर्च बचाउने कोशिस गरेका छन्।
अर्को भनेको मस्कले ट्विटर किन्दा लिएको करिब १३ अर्ब डलर ऋण हो। कम्पनीले हाल वार्षिक रुपमा १ अर्ब २० करोड डलर उक्त ऋणको ब्याज मात्रै तिर्ने गरेको रोयटर्सले रिपोर्ट गरेको थियो।
यदि कम्पनीले ऋणको ब्याज तिर्न सकेन र कर्मचारीलाई तलब दिने पैसा पनि भएन भने साच्ची नै एक्स टाट पल्टिने अवस्थामा पुग्नेछ। तर त्यो भनेको निकै नै चरम अवस्था हुनेछ र मस्कले पक्कै पनि त्यो अवस्था निम्तिन दिने छैनन्।

पक्कै पनि मस्कसँग अप्सन भने छन्। हालसम्म सबैभन्दा उत्तम उपाय भनेको कम्पनीमा उनले अझै धेरै आफ्नो पैसा लगानी गर्न सक्छन्। तर अवस्था हेर्दा उनले यस्तो गर्न नचाहेको जस्तो देखिन्छ।
मस्कले ब्याज भुक्तानी समयको मामिलामा बैंकहरुसँग कुरा गर्न सक्छन्। उदाहरणका लागि ब्याज भुक्तानी गर्ने समयमा लचिलो हुन र ढिलो गरि ब्याज तिर्न मिल्ने व्यवस्था गर्न बैंकहरुलाई उनले आग्रह गर्न सक्छन्।
यदि बैंकहरुसँगको कुरा मिलेन र बैंकहरुले आफ्नो पैसा फिर्ता पाएनन् भने कम्पनी टाट पल्टिनु नै एकमात्र विकल्प रहनेछ। त्यस्तो अवस्थामा बैंकहरुले कम्पनीको व्यवस्थापन फेर्न जोडबल गर्ने सम्भावना पनि रहन्छ।
‘यस्तो अवस्था आए त्यो निकै भद्रगोल र जटिल हुनेछ,’ हार्वड ल स्कुलमा प्राध्यापक जेयर्ड इलियास भन्छन्, ‘र यो निकै जोखिमपूर्ण पनि हुनेछ। उनलाई पदमुक्त गरिनेछ भने उनले अदालतमा बयान पनि दिनुपर्ने अवस्था आउनेछ।’
त्यो अवस्था मस्कको व्यापारिक प्रतिष्ठाको लागि प्रतिकूल हुनेछ। त्यसले आगामी दिनमा मस्कलाई बैंकबाट ऋण लिन पनि अप्ठ्यारो पार्नेछ।
एक्स साच्चै टाट पल्टियो भने के यसको काम कारबाही सबै बन्दै हुनेछ त?
‘त्यो पत्याउन धेरै गाह्रो हुने अवस्था हो,’ इलियास भन्छन्, ‘यदि त्यसो भयो भने त्यो इलोनको गल्ती ठहरिनेछ। यदि उनले त्यसो गरे भने पनि ऋणदाताहरूसँग कम्पनीलाई ब्यांकरप्सीमा धकेलेर ट्रस्टी नियुक्त गर्ने र पुनः सञ्चालन गर्ने विकल्प भने हुनेछ।’
मस्कको लागि अबको बाटो?
एक्सका लागि यी सबै समस्याहरूको स्पष्ट समाधान भनेको अर्को रिभेन्यू स्ट्रिम खोज्नु हो। र यसमा हतारिनु पर्ने अवस्था पनि देखिन्छ। मस्कले पक्कै पनि प्रयास गरिरहेकै होलान्।
उनले नयाँ अडियो र भिडियो कल सेवा सुरु गरेका छन्। गत महिना उनले भिडियो गेमहरू खेलेर लाइभ स्ट्रिम गरेका थिए। एक्सले ‘ट्विच’ जस्ता एपहरूसँग प्रतिस्पर्धा गर्न सक्ने आशा उनले गरेका छन्।
उनी एक्सलाई ‘सबै सेवा एकै स्थानमा पाइने एप’ बनाउन चाहन्छन्। एक्समा च्याटदेखि अनलाइन भुक्तानीसम्मका सेवा दिने उनको योजना छ।
न्यूयोर्क टाइम्सका अनुसार एक्सले २०२३ मा पेमेन्ट बिजनेसबाट डेढ करोड डलर आम्दानी गर्नेछ भनेर मस्कले गत वर्ष लगानीकर्ताहरुलाई आश्वासन दिएका थिए। जुन आम्दानी २०२८ मा एक अर्ब ३० करोड पुग्ने उनले बताएका थिए।
त्यस्तै, एक्ससँग डेटाहरुको पनि अथाह संग्रह छ। अनि उसले आफूसँग भएका विशाल संवाद संग्रहलाई प्रयोग गरेर च्याटबटलाई ट्रेन गर्न सक्ने उपाय पनि छ। यी डेटाहरु धेरै नै मूल्यवान रहेको मस्कको बुझाइ छ।
त्यसैले एक्ससँग सम्भावना पनि उत्तिकै छन्।
तर तत्काललाई यी विकल्पहरू विज्ञापनदाताहरूले छोडेका अभावका लागि भने पर्याप्त हुने छैनन्। त्यसकारण पनि मस्कले विज्ञापनदाताहरूप्रति गरिरहेको अभद्र व्यवहार देखेर विज्ञहरु छक्क परेका हुन्।
‘मसँग अर्थपूर्ण कुनै सिद्धान्त छैन,’ पास्कालिस भन्छन्, ‘उनको दिमागमा कस्तो खालको रिभेन्यू मोडल छ मैले बुझ्न सकेको छैन।’
बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद।