
काठमाडौं। स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका-३ चमारटोलस्थित सीमा इलाकाबाट सोही गाउँपालिका-२ श्रीपुरका ४२ वर्षीय महमद फिरोजलाई नियन्त्रणमा लिएको छ।
भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा साथमा १ हजार दरका ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला परेको हो।
उनले उक्त रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।