काठमाडौं। निर्माण सामग्रीको सबैभन्दा बढी माग मंसिर, पुस र माघमा हुने गर्छ। घरको जग हाल्ने, सरकारले विकास निर्माणको काम अघि बढाउने र निजी क्षेत्रले उद्योग, होटल, व्यावसायिक भवन, जलविद्युत लगायतका पूर्वाधार यही समयमा धेरै सुरु हुन्छ।
बर्खा र चाडबाडपछि यही तीन क्षेत्रको पूर्वाधार निर्माणका कारण माग धेरै हुने गर्छ। तर अहिले तीन वटै क्षेत्र निराशाजनक देखिन्छ। सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेका अनुसार सरकारको विकास परियोजनामा १० प्रतिशत पनि माग छैन। सौरभ समूह अन्तर्गत सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सर्वोत्तम स्टिल र जगदम्बा सिमेन्ट छन्।
‘केही वर्ष अघिसम्म यो समयमा ६ महिनाको डेलिभरी माग्ने निर्माण व्यवसायी हुन्थे। हामीलाई उत्पादन गर्न भ्याईनभ्याई हुन्थ्यो,’ उनले बिजमाण्डूसँग भने, ‘अहिले त्यो क्षेत्रबाट माग नै आएको छैन। उहाँहरुले निर्माण सकिएको पैसा राज्यले नै दिन सकेको छैन। अनि कसरी माग आउँछ ?’ न्यौपानेका अनुसार निजी क्षेत्रले गर्ने परियोजनाको अवस्था झन् खराब छ।
‘पछिल्लो एक वर्षमा निजी क्षेत्रले कुनै पनि ठूला उद्योग लगाउन सुरु गरेका छैनन्। विगतमा अगाडि बढाएका परियोजना मात्रै छन्,’ उनले भने, ‘निजी क्षेत्रमा निर्माण सामग्रीको माग ५० प्रतिशत खुम्चिएको छ।’
व्यक्तिगत घर निर्माण पनि धेरै नै घटेको छ। न्यौपानेका अनुसार अहिले व्यक्तिगत घरका लागि जाने निर्माण सामग्री ६० प्रतिशतमा खुम्चिएको छ।
‘माग उच्च हुने समयको तथ्यांक दयनीय छ। अर्थतन्त्रको अवस्थालाई दर्शाउन यो तथ्यांक काफी छ,’ न्यौपानेले भने, ‘अहिले देशभरका सिमेन्ट उद्योग ४० प्रतिशतको हाराहारीमा चलेका छन्। क्लिंकर नभएका ग्राइन्डिङ युनिट धेरै बन्द भएका छन्। भारत निकासीले मात्रै हामीलाई भरथेग गरेको छ।’
डन्डीको हालत उस्तै छ। उनका अनुसार भूकम्पपछि डन्डीको खपत वार्षिक २२ लाख टन थियो। अहिले यो झरेर १२ लाख टनमा पुगेको छ। ‘भूकम्पपछि केही वर्ष डन्डी सिमेन्टमा १० प्रतिशतको वृद्धि थियो। अहिले हामी नेगेटिभ भएका छौं,’ उनले भने, ‘यो अवस्थाले धेरै व्यवसायीको मनोबल गिराएको छ।’ निर्माणसँग जोडिएका इँटा, गिट्टी, बालुवा, मार्वल, फर्निचरको बिक्रीमा भारी गिरावट छ। यी सबै बस्तुको मूल्य तीन वर्ष अगाडिको अवस्थामा छ।
+++
सात वर्षअघि नेपाल ह्याचरी उद्योग संघका संस्थापक अध्यक्ष गुणचन्द्र विष्टले नवलपरासीमा २८ विघा जग्गामा अविनाश ह्याचरी सुरु गरे। तीन अर्ब लगानीमा सुरु भएको अत्याधुनिक ह्याचरीले साप्ताहिक ६ लाख चल्ला उत्पादन गर्थ्यो।
उनले विश्वबजारमा रहेको अत्याधुनिक प्रविधि ल्याएर ह्याचरी सुरु गरेका थिए। ह्याचरीलाई चल्ला उत्पादन गर्न भ्याईनभ्याई हुन्थ्यो। लामो प्रयासपछि पोल्ट्रीमा आत्मनिर्भर भएकोमा विष्टलाई आत्मसन्तुष्टी पनि थियो। तर अहिले उनलाई त्यही ह्याचरी भारी हुन थालेको छ।
साताको ६ लाख चल्ला उत्पादन गर्ने ह्याचरी अहिले एक लाखमा खुम्चिएको छ।
‘हामी आत्मनिर्भर भएका थियौं। धेरै ठूलो मेहनत गरेर सफलता पाएका थियौं,’ विष्टले भने, ‘तर त्यो केही वर्ष पनि टिकेन।’ उनका अनुसार ३ सय ४० वटा ह्याचरीमध्ये १ सय २० मात्रै संचालनमा छ। संचालनमा रहेका पनि क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरेर बसेका छन्।
विष्टका अनुसार धेरै साना र मझौला पोल्ट्रीसँग जोडिएका उद्योगी पलायन भइसकेका छन्। कतिपय मुग्लान नै पसिसकेका छन्।
‘आर्थिक मन्दीसँगै धेरै पलायन भइसके,’ उनले भने, ‘सुधार हुने अपेक्षा देखेका छैनौं। पोल्ट्रीको खपत गर्ने युवाशक्ति नै विदेश पलायन भएका छन्।’
चल्ला उत्पादन मात्रै घटेको छैन। उत्पादन भएको कुखुराको मासुको खपत घटेको छ। खपत घटेकै कारण ब्रोइलर कुखुराको मासुको मूल्य किलोको तीन सय रुपैयाँमा झरेको छ।
+++
यी उदाहरण देशको अर्थतन्त्रको ताजा तस्विर हो। यो तस्विरले अर्थतन्त्र अझै खराब दिशातर्फ उन्मुख भएको देखाउँछ। तर, अर्थतन्त्रलाई सुक्ष्म रुपमा हेरेर तत्काल सुधारको कदम चाल्नुपर्ने अर्थमन्त्री गम्भिर देखिएका छैनन्।
उल्टै अर्थतन्त्रको अवस्थाका बारेमा छलफल गर्न बोलाएको गोलमेचमा अर्थमन्त्री डा. प्रकाशशरण महत सुधारको बाटोमा गएको जिकिर गर्छन्। अर्थशास्त्रका ज्ञाता अर्थमन्त्री महतले गोलमेचको अघिल्लो दिन प्रधानमन्त्री पुष्पकमल दाहालसहित भएको छलफलमा आफ्नो प्रेजेन्टेसन दिँदै अर्थतन्त्र सुधारको बाटोतर्फ गइरहेको दाबी गरे।
अर्थशास्त्री अर्थमन्त्रीको दाबीलाई प्रधानमन्त्री दाहालले काट्ने कुरै भएन।
प्रधानमन्त्री कन्भिन्स भएपछि अर्थमन्त्री महतले पनि गोलमेचमा उनै कुरा दोहोर्याए। त्यसमा निजी क्षेत्रले प्रश्न गर्ने आँट गरेनन्। किनभने विगतमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्र खराब रहेको धारणा राख्दा मञ्चमै गाली खाएका थिए। त्यसपछि निजी क्षेत्रले पनि अर्थमन्त्री महतको तथ्यांकमा ‘इफ वा बट’ भन्न सकेन।
आफूले प्रस्तुत गरेको तथ्यांकमा विपरित धारणा नआउँदा महत मख्ख बने। प्रधानमन्त्री दाहाल पनि सबै सरोकारवाला बोलाएर अर्थतन्त्र सुधारका बारेमा पहिलो पटक छलफल गरेको दलिल पेस गरेर उत्साहित बने। अर्थमन्त्री महतको सफलता त्यही गोलमेच सम्मेलनभित्र मात्रै सीमित बन्यो।
उनले बाह्य क्षेत्र सुधार (विदेशी मुद्रा संचिति, रेमिटेन्सको उछाल) लाई देखाएर अर्थतन्त्र सुधार भइरहेको दाबी गरेर आफूलाई सफल बनाउन खोजे। तर, सार्वजनिक वित्त कति कमजोर छ भन्ने तथ्यांक उनले त्यहाँ देखाएनन्। अर्थतन्त्र मन्दीमा जाँदा राजस्व उठ्न सकेको छैन भने पुँजीगत खर्चका लागि स्रोतको अभाव खड्किसकेको छ।
कुनै पनि अर्थमन्त्री सफलता वाह्य क्षेत्रको सुधारले मात्र निर्भर गर्दैन। बाह्य क्षेत्रसँगै सार्वजनिक बित्त, निजी क्षेत्रको लगानी परिचालन, आन्तरिक उपभोग, पुँजीगत खर्च र निजी क्षेत्रको मनोबलसँग सफलता जोडिन्छ। तर, उनी सीमित घेराभित्र रहेर अर्थतन्त्र सुधारको गुड्डी हाँकिरहेका छन्। कुनै अवगाल आउँदा राष्ट्र बैंकलाई पन्छाएर पानी माथिको ओभानो बन्ने प्रयास गरेका छन्।
जबकी उनी आफैंले ल्याएको बजेट कार्यान्वयनमा चुकिसकेका छन्। बजेटमा उनले तयार पारेका धेरै टाइमलाइन पूरा गर्नबाट चुकेको छ। राजस्व असुलीमा उनी पूर्ण रुपमा असफल बनेका छन् भने विकास खर्च उनको प्राथमिकतामा छैन। अहिलेसम्म २ खर्ब ९६ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ। साढे चार महिनाको अवधिसम्म २१ प्रतिशत पनि पुग्न सकेको छैन।
दसैं तिहारका कारण असोज कात्तिक राजस्व धेरै उठ्नुपर्ने समय हो। तर कात्तिकमा ५७ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ। यो अवधिमा ३० अर्ब ८४ करोड मात्रै पुँजीगत खर्च छ। साढे चार महिनाको अवधिमा पुँजीगत खर्च साढे १० प्रतिशत पनि पुग्न सकेको छैन। तर साधारण खर्च २ खर्ब ८१ अर्ब नाघिसकेको छ।
राजस्वले चालु खर्च धान्नै धौ धो भएपछि सरकारले एक खर्ब रुपैयाँभन्दा बढी आन्तरिक ऋण उठाइसकेको छ। यो तथ्यांकले अर्थतन्त्र सुधारको बाटोमा देखाउँदैन। तर अर्थमन्त्री महतले खराब अवस्थालाई लुकाएर बहादुरी देखाउन खोजिरहेका छन्, जुन उनका लागि नै प्रत्युत्पादक बन्दैछ।