
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले दुई साताअघि डेभिड क्यामरुनलाई विदेश मन्त्रीमा नियुक्त गरे। बेलायतका पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले युक्रेन रसिया र हमास इजरायल युद्धबीच आफू विदेश मन्त्रीमा नियुक्त भएको भन्दै जिम्मेवारी पूरा गर्ने बताएका थिए। मन्त्री भएपछि उनी युद्धग्रस्त युक्रेनसमेत पुगे।
अहिले तिनै क्यामरुनमाथि युद्धबाट प्रभावित युक्रेनीहरुका लागि खर्च गरिने भनिएको खर्बौं रकम ‘रिलिज’ गर्न दबाब बढ्दो छ। प्रिमियर लिग क्लब चेल्सीको बिक्रीबाट उठेको रकम फुकुवा गर्न उनलाई दबाब दिइएको हो।
युक्रेन रसिया युद्ध सुरु भएपछि चेल्सीका मालिक रोमन अब्रामोभिचको निकै आलोचना भएको थियो। रसिया, पोर्चुगल र इजरायलको राहदानी बोक्ने रोमनको रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकट सम्बन्ध रहेको खुलेपछि उनलाई क्लब बिक्री गर्न दबाब सिर्जना गरिएको थियो।
बढ्दो आलोचनाबीच अघिल्लो वर्षको मार्च महिनामा उनले चेल्सी क्लब बेचेका थिए। क्ल्ब बेचेको ८ दिन अघि उनीमाथि पुटिनसँग सम्बन्ध भएको भन्दै प्रतिबन्ध घोषणा गरिएको थियो। क्लब बिक्रीबाट २.३४ बिलियन पाउण्ड (करिब ३ खर्ब ९३ अर्ब नेपाली रुपैयाँ) ‘फण्ड’ उठेको थियो। क्लब बिक्री भइसकेको १८ महिना बितिसक्दा पनि रकम फुकुवा नभएपछि नयाँ विदेश मन्त्रीमाथि युरोपियन कमिसनले दबाब बढाएको हो।
रोमनले सो रकम युक्रेन रसिया युद्धबाट पीडित भएकाहरुलाई दिने प्रतिबद्धता व्यक्त गरेका थिए। क्लबको बिक्री पूर्णतया बेलायतको क्षेत्राधिकार भित्र गरिएको थियो। र, बेलयाती मन्त्रीहरूले गत मे महिनामा युरोपियन कमिसनसँग सो रकम युक्रेन भित्र ‘विशेष रूपमा’ खर्च र्ने सम्झौता गरेका थिए।
विदेशमन्त्रीमा क्यामरुन नियुक्त भएपछि उनलाई सो ‘फण्ड’ को रकम खर्च गर्नेबारे विभिन्न प्रस्ताव गरिँदैछ। सेभ दी चिल्ड्रेनलगायत संस्थाहरुसँग मिलेर सो रकम संचालनका लागि एउटा स्वतन्त्र ‘फाउण्डेसन’ बनाउने प्रस्ताव अघि सरिएको छ।
सेभ दी चिल्ड्रेनका प्रमुख जेम्स डेनेस्लोले भने, ‘यो रकम फुकुवा गरिनुपर्छ र युक्रेन युद्धका पीडितहरूलाई उपलब्ध गराइनुपर्छ। युक्रेनभित्र बसेका हुन् वा युरोपमा शरणार्थी बनेर बसिरहेका हुन्। वा पूर्वी अफ्रिकामा खाद्य कार्यक्रमलाई आर्थिक सहयोग गर्न होस्, युद्धले खाद्य असुरक्षा बढाएको स्थानमा रकमको प्रयोग हुनुपर्छ।’
अब्राहोमिचको हातमा पैसा नपरोस भनेर बेलायतमाथि अहिले तीब्र दबाब परेको हो।
४४ वर्षे केट क्याभालियर युक्रेनी शरणार्थीलाई सहयोग गरिरहेकी छिन्। उनले रकम फुकुवा नभएको भन्दै क्यामरुनलाई हस्तक्षेप गर्न आह्वान गरेकी छिन्।
‘युद्ध सुरु भएपछि बेलायतले धेरै युक्रेनी शरणार्थीलाई आश्रय दिएको छ,’ उनले भनिन्, ‘मलाई धेरै गर्व छ हाम्रो देशले १ लाख ६० हजार भन्दा बढी युक्रेनी मानिसहरूलाई आश्रय र हेरचाह प्रदान गरेको छ जसमा धेरै महिला र बालबालिका छन्।’
तर, उनीहरुका धेरै साथी र परिवार अझै संकटमा रहेको भन्दै केटले मानवीय सहयोगको असाध्यै आवश्यकता रहेको बताइन्।
‘यो पैसाले धेरै ठूलो फरक ल्याउन सक्छ। तर, कर्मचारीतन्त्रका कारण रकम बैंकमा रोकिएको छ,’ उनले भनिन्, ‘म लर्ड क्यामरुनलाई आफ्नो राजनीतिक अनुभव प्रयोग गर्न आग्रह गर्छु। यो रकम फुकुवा गर्न र बेलायतले गर्व गर्न सक्ने मानवीय आधार सिर्जना गर्न आग्रह गर्छु।’