काठमाडौं। बिक्री हुन नसकेपछि व्यापारीहरुले स्मार्टफोनको आयात घटाएका छन्। असोजमा ल्याएको स्मार्टफोन बिक्री नभएर स्टकमा बसेपछि व्यापारीले कात्तिकमा आयात उल्लेख्यरुपमा घटाएका हुन्।
कात्तिकमा २ अर्ब रुपैयाँबराबरका १ लाख २९ हजार थान स्मार्टफोन आयात गरिएको छ। यो संख्या पोहोर कात्तिकको तुलनामा करिब १९ हजार बढी भएपनि गत असोजको तुलनामा निकै कम हो।
दसैंको मुखमा गत असोजमा स्मार्टफोनको आयात उल्लेख्य बढेको थियो। दसैंतिहारलाई लक्षित गर्दै असोजमा ४ अर्ब रुपैयाँ बराबरका २ लाख ७५ हजार ९३४ थान स्मार्टफोन भित्र्याइएको थियो।
दसैंतिहार स्मार्टफोन बजारका लागि सबैभन्दा धेरै कारोबार हुने समय हो। तर असोजको तुलनामा कात्तिकमा स्मार्टफोनको आयात संख्यात्मक रुपमा करिब डेढ लाखले घटेको छ।
दसैंतिहार पछिका ३/४ महिना स्मार्टफोनको व्यापार सुस्त हुने गरेको विगतका वर्षको तथ्यांक छ। व्यापारीहरुले यसपालि दसैं तिहारमै स्मार्टफोनको व्यापार बढ्न नसकेको बताएका छन्। आर्थिक मन्दीले गर्दा बिक्री निकै सुस्त रहेको उनीहरुको भनाइ छ।
‘दसैंतिहार भनेर असोजमा मज्जाले आयात गरियो छ। तर, बिक्री बढेको छैन। स्मार्टफोन स्टकमा थुप्रिएर बसेको छ,’ सामसुङ फोनको आधिकारिक बिक्रेता कम्पनी आईएमएस नेपालका सञ्चालक दीपक मल्होत्राले भने, ‘त्यही भएर असोजको तुलनामा कात्तिकमा आयात ह्वात्तै घटेको हो।’
पोहोर स्मार्टफोनको आयातमा कडाइ गरिएको थियो। अहिले कुनै किसिमको प्रतिबन्ध छैन। त्यसका बाबजुद पनि पोहोर र यसपालिको आयात उस्तै देखिन्छ।
गत आर्थिक वर्ष साउनदेखि कात्तिकसम्म १० अर्ब १० करोड भन्दा बढी मूल्यका ७ लाख २८ हजार थान स्मार्टफोन आयात गरिएकामा यसपालि चार महिनामा ११ अर्ब ३५ करोड रुपैयाँको ७ लाख ७१ हजार थान स्मार्टफोन भित्र्याइएको छ।
सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि २०७९ वैशाखदेखि असार मसान्तसम्म ६ सय अमेरिकी डलरमाथिका स्मार्टफोनको आयातमा प्रतिबन्ध लगाएको थियो।
त्यसपछि थप कडाइ गर्दै सरकारले साउनदेखि ३ सय डलरमाथिमा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसका बाबजुद पनि पोहोर असोजमा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ लाख ७९ हजार ५३५ थान स्मार्टफोन आएको थियो। त्यसबाट करिब ४४ करोड रुपैयाँ भन्सार उठेको थियो।
२०७९ भदौमा ३ अर्ब ६० लाख रुपैयाँबराबरको २ लाख ६२ हजार ७३६ थान स्मार्टफोन भित्रिएको थियो। त्यसबापत सरकारले ६७ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। साउनमा २ अर्ब ५७ करोड रुपैयाँबराबरको १ लाख ७६ हजार २४९ थान स्मार्टफोन आयात भएको थियो। जसबाट ४८ करोड रुपैयाँ भन्सार संकलन भएको थियो।
२०७९ मंसिर मसान्तपछि भने सरकारले स्मार्टफोन आयातमा लगाइएको प्रतिबन्ध हटाएको थियो।
आयातमा प्रतिबन्ध नलगाइएको अवस्थामा आर्थिक वर्ष २०७८/७९ को असोजमा झण्डै सात अर्बको मोबाइल सेट भित्रिएको थियो। सो महिना ६ अर्ब ८१ करोड रुपैयाँ बराबरको ७ लाख १० हजार ४ सय ११ थान मोबाइल सेट भित्रिएको तथ्यांक छ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका प्रिमियम फोनमा नेटवर्क लकिङ गर्न थालेसँगै अवैध आयात नियन्त्रण हुने र स्वदेशी मोबाइल बजार सुधार हुने आशा गरेका व्यापारीहरु बिक्री नबढेपछि निराश हुन पुगेका छन्।
मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्षसमेत रहेका मल्होत्राले स्मार्टफोन बजारमा आर्थिक मन्दी कायमै रहेको बताए। 'दसैं तिहारका बेला विगतका वर्षमा राम्रो बिक्री हुने गरेको थियो। तर यसपालि बिक्री निकै कम छ। मन्दीको अवस्था छ। स्टकमा बसेपछि अधिकांश व्यापारी निराश छन्,' उनले भने।