युवा संघका कार्यकर्ताले पार्टी प्यालेसबाट मध्यरातमा ३४ महिला लखेटे, प्रहरीले पुनः त्यहीँ राख्यो

बिजमाण्डू
२०८० मंसिर ६ गते १०:५१ | Nov 22, 2023
युवा संघका कार्यकर्ताले पार्टी प्यालेसबाट मध्यरातमा ३४ महिला लखेटे, प्रहरीले पुनः त्यहीँ राख्यो


काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले भोलि (बिहीबार)का लागि घोषणा गरेको कार्यक्रममा सहभागी हुन आएका महिलाहरूलाई मध्यरातमा बसेको ठाउँबाट लखेटिएको छ।

Tata
GBIME
NLIC

भक्तपुरको लोकन्थलीस्थित इन्द्रशान्ति पार्टी प्यालेसमा बसेका महिलाहरूलाई मध्यरातमा पुगेका केही युवाहरूले लखेटेका हुन्। उनीहरू पूर्वको इटहरीदेखि काठमाडौंमा आएको भिडियोमा बताएका छन्।

सुतिरहेको अवस्थामा लुगासमेत राम्रोसँग लगाउन नपाई लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। दुर्गा प्रसाईँको आन्दोलनमा युवा संघ नेपालले काउन्टर दिँदै आएको छ। सोही दिन युवा संघले पनि काठमाडौंको तीनकुनेमा कार्यक्रम घोषणा गरेको छ। सुतिरहेको ठाउँमा‚ त्यसमा पनि महिलामाथि गरिएको व्यवहार आपराधिक देखिएको छ।

त्यसैले मध्यरातमा पुगेका युवाहरू युवा संघका कार्यकर्ता भएको अनुमान गरिएको छ। युवा संघ नेपालका एक नेताले भने उनीहरू आफ्नो कार्यकर्ता भएको बताए। उनले नाम भने खुलाउन चाहेनन्।

‘साथीहरूले यहाँ नबस्नुहोस् भन्दै पुगेका रहेछन्। किन यस्तो भन्ने विषयमा थप बुझ्दै छौँ,’ उनले भने।

युवा संघले मंगलबार साँझ काठमाडौं मसाल जुलुस निकालेको थियो। त्यसपछि केही समूह लोकन्थली पुगेर उनीहरूलाई हटाएको एक प्रहरी अधिकृतले जानकारी दिए। उनीहरूलाई युवा संघका कार्यकर्ताले हटाएपछि प्रहरीलाई जानकारी आएको थियो।

‘ हामी पुग्दा ३४ जना महिलालाई बाहिर निकालिएको थियो। त्यसपछि हामीले उनीहरूलाई त्यही लगेर राखेका हौं,’ एक प्रहरीले भने।

बुधबार बिहान लोकन्थलीबाट ती महिलाहरू गौशाला जाने भन्दै गएका थिए। जहाँ ४ जना पुरुष पनि रहेका थिए। प्रहरीले अहिले घटनाको अनुसन्धान थालेको छ। घटनास्थलको सिसिक्यामरा हेरेर सनाखत थालिएको ती प्रहरी अधिकृतले बताए।