एआईले दक्षिण कोरियामा ३९ लाख रोजगारी जोखिममा पर्न सक्ने, कुन क्षेत्र धेरै खतरामा ?

बिजमाण्डू
२०८० मंसिर १ गते ०९:३४ | Nov 17, 2023
एआईले दक्षिण कोरियामा ३९ लाख रोजगारी जोखिममा पर्न सक्ने, कुन क्षेत्र धेरै खतरामा ?
Photo : Getty Images


काठमाडौं । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको त्यहाँको केन्द्रीय बैंकको एक अध्ययनमा उल्लेख गरिएको छ।

Tata
GBIME

तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको बिहीबार सार्वजनिक भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ। एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन्।

‘उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ’, अध्ययनमा भनिएको छ।

एआईले चिकित्सकको विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठूलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ।

अध्ययनअनुसार एआईका कारण आफ्नो जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिह धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन्।

अध्ययनमा भनिएको छ, ‘एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनियर र एआईसँग सम्बन्धित स्टार्ट–अपहरूमा नयाँ नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्दछ।’ रासस