सीएनआईको कोशी प्रदेश समिति सर्वसम्मत चयन, अध्यक्षमा पवन कुमार शारडा

बिजमाण्डू
२०८० असोज १२ गते १८:१२ | Sep 29, 2023
सीएनआईको कोशी प्रदेश समिति सर्वसम्मत चयन, अध्यक्षमा पवन कुमार शारडा


विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआई)को कोशी प्रदेशको अध्यक्षमा शारडा ग्रुपका निर्देशक एवं उद्योगपति पवन कुमार शारडा चुनिएका छन्। परिसंघको शुक्रबार सम्पन्‍न तेस्रो साधारण सभाले शारडाको अध्यक्षतामा सर्वसम्मतिले ४० सदस्यीय कार्यसमितिको चयन गरेको हो।

Tata
GBIME
NLIC

नवनिर्वाचित अध्यक्ष शारडा संविधानसभाका सदस्यसमेत हुन्। उनी यसअघि नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध मोरङ व्यापार संघमा २ कार्यकाल अध्यक्ष भइसकेका छन्।

त्यस्तै, निवर्तमान अध्यक्ष भीम घिमिरे पनि महासंघमा आबद्ध उद्योग संगठन मोरङका पूर्व अध्यक्ष हुन्। घिमिरे परिसंघको केन्द्रीय उपाध्यक्षमा चुनिएपछि कोशी प्रदेशमा उनको कार्यकाल बाँकी छँदै साधारण सभा गरेर नयाँ कार्यसमितिको चयन गरिएको हो।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा र ५ उपाध्यक्षमा नवलकिशोर काबरा, सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र देवेन्द्र गुप्ता छन्।

मुन्दडा यसअघि महासंघमा आबद्ध मोरङ व्यापार संघमा अध्यक्ष र जोशी उपाध्यक्ष भइसकेका व्यवसायी छन्। त्यस्तै काबरा पनि महासंघमा आबद्ध उद्योग संगठनमा उपाध्यक्ष थिए।

महिला उपाध्यक्षमा गिरिजा शारडा निर्वाचित भइन्। तीन मानार्थ उपाध्यक्षमा रमेश राठी, गिरीश लुनियाँ र घनश्याम काबरा छन्। मानार्थ उपाध्यक्ष राठीलाई प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ। कोषाध्यक्षमा साकेत राठी छानिएका छन्।

मानार्थ उपाध्यक्ष एवं प्रवक्ता रमेश राठी यसअघि नेउवा महासंघ प्रदेश १ का कोषाध्यक्ष तथा महासंघमा आबद्ध मोरङ व्यापार संघमा उपाध्यक्ष भइसकेका उद्यमी हुन्।

घोषणासभामा नेउवा महासंघमा आबद्ध मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल पनि उपस्थित थिए। कार्यसमितिको महिला समितिको संयोजकमा रचना राठी र युवा समितिको संयोजकमा अनमोल प्रधान चुनिएका छन्।

नवनिर्वाचित अध्यक्ष शारडाले देशमा सरकारको व्यावसायिक नीति व्यावहारिक र लगानीमैत्री हुन नसक्ता राजस्व र व्यवसायमा गम्भीर संकट आइरहेको बताए। अध्यक्ष शारडाले आफ्नो कार्यकालमा उद्योगी-व्यवसायीका समस्याको हल गर्न सरकारसित सेतुको काम गर्ने प्रतिबद्धता व्यक्त गरे।