
काठमाडौं। दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। यसैबीच, निर्माण टिमले सिक्वेल बनाउने घोषणा गरेका छन्।
फिल्मका निर्देशक तथा लेखक लामा र निर्माता हिमाल कडरियाबीच सिक्वेल बनाउने विषयमा सहमति भएको हो। ‘अ पोलिटिकल कमब्याक’ ट्याग लाइनसहितको फिल्मको सिक्वेलमा दयाहाङ राइले निर्वाह गरेको पात्र ‘पासाङ’ केही समयपछि गाउँ फर्किने कथालाई समावेश गरिनेछ।
‘धेरै दर्शकले नायकको हार र पलायनमा दुःख व्यक्त गरेको पायौं। उहाँहरुले दोस्रो भाग चाहियो पनि भन्नुभएको छ। हामीले पहिलो भागको छायांकनको दौरानमै दोस्रो भागको परिकल्पना गरेका थियौं। अहिले सबैतिरबाट दोस्रो भागको माग आएकाले हामीले यसको योजनालाई अगाडि बढाउने निर्णयमा पुगेका हौं,’ निर्माता कडरियाले भने।
फिल्मका लेखकसमेत रहेका निर्देशक लामाले दोस्रो भागको कथा पहिल्यै लेखिसकेका छन्। फिल्मको कथा जहाँबाट टुगिन्छ त्यहीबाट सुरु हुने समेत लामाले बताए।
‘गाउँमा जरीको आतंकबाट गाउँलेहरु वाक्क हुन्छन्। र, जरीबाट पीडित गाउँलेहरु काठमाडौं गएर पासाङलाई गाउँ फर्काउँछन्। पासाङ गाउँ फर्केर जरीका खराब गतिविधिलाई रोक्ने संघर्षमा होमिन्छ‚’ उनले भने
सिक्वेलमा पनि ‘नाङ्गो गाउँ’कै टिम दोहोरिने सम्भावना छ। फिल्मको कलाकार र प्राविधिक टिमको बारेमा केही दिनपछि जानकारी दिने निर्माण टोलीको तयारी छ।‘नाङ्गो गाउँ–२’को छायांकन एक वर्षपछि गरिनेछ। त्यसअघि भने कडरिया र लामाले मिलेर कमेडी फिल्म बनाउने भएका छन्।