८ दिने चीन भ्रमणको लागि हाङजाउ पुगे प्रचण्ड, सी चिनफिङसँग भेट्ने, ल्हासा पनि पुग्ने

बिजमाण्डू
२०८० असोज ६ गते ११:१८ | Sep 23, 2023
८ दिने चीन भ्रमणको लागि हाङजाउ पुगे प्रचण्ड, सी चिनफिङसँग भेट्ने, ल्हासा पनि पुग्ने
प्रचण्डलाई शनिबार हाङजाउ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्दै। तस्बिर : प्रदीपराज वन्त / रासस


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट हङकङ हुँदै शनिबार बिहान चीन पुगेका हुन्।

Tata
GBIME
NLIC

उनलाई शनिबार हाङजाउ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका छन्।

अमेरिकाको भ्रमण सकाएर प्रचण्ड शुक्रबार चीन प्रस्थान गरेका थिए। शनिबार हाङजाउमा आयोजना हुने १९औँ एसिसन गेम्सको उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागी हुनेछन्।

भ्रमणका क्रममा हाङजाउमा प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि भेटवार्ता हुनेछ। साथै प्रचण्ड र चीनका प्रधानमन्त्री लि क्‍वाङबीच द्विपक्षीय भेट हुनेछ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शनिबार हाङजाउ विमानस्थलमा। तस्बिर : प्रदीपराज वन्त / रासस

यस्तै, हाङजाउबाट बेइजिङ पुगेर प्रचण्डले चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका पनि रहेको छ।

चीन भ्रमणका क्रममा प्रचण्डको टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायत सहभागी हुनेछन्। उनको भ्रमणका सरकारका उच्च अधिकारीसँगै व्यापारिक क्षेत्रबाट पनि सहभागिता हुने मन्त्रालयले जनाएको छ।

द्विपक्षीय वार्तामा उर्जा, जलस्रोत, राजमार्ग, विमानस्थल र नाका सञ्‍चालनबारे छलफल हुने बताइएको छ। त्यसक्रममा यसअघि निर्माण सम्पन्‍न भएका आयोजनाहरुको पनि हस्तान्तरण गरिने जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डलाई शनिबार हाङजाउ विमानस्थलमा चिनियाँ बालिकाले स्वागत गर्दै। तस्बिर : प्रदीपराज वन्त / रासस

चीनमा रहँदा प्रचण्ड चोङकिङ नगर पनि पुग्‍नेछन्। त्यहाँ उनले कृषि र औद्योगिक विकासको अवलोकन गर्नेछन्। साथै, नेपालसँग सीमा जोडिएको तिब्बतको ल्हासामा समेत प्रचण्ड पुग्‍नेछन्।

प्रचण्ड असोज १३ गते ल्हासाबाट स्वदेश फर्किने कार्यतालिका रहेको छ।