भीआईपीका नाममा भइरहेको दोहनप्रति संसदीय समितिको चासो, जनशक्ति फिर्ता गराउन निर्देशन

बिजमाण्डू
२०८० असोज ४ गते १४:३५ | Sep 21, 2023
भीआईपीका नाममा भइरहेको दोहनप्रति संसदीय समितिको चासो, जनशक्ति फिर्ता गराउन निर्देशन
राज्य व्यवस्था समितिको बैठक। फाइल फोटो


काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विशिष्ट व्यक्तिलाई मापदण्डविपरीत दिइएको सुरक्षाकर्मी, सवारी चालक र भान्सेलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ। 

Tata
GBIME
NLIC

समितिले बिहिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर छलफल गरी उनीहरुलाई फिर्ता गरेर आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन निर्देशन दिएको हो। २०७९ पुसमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षाका नाममा मापदण्डविपरीत खटाइएका १ सय भन्दा बढी सुरक्षाकर्मी फिर्ता गराएका थिए।

विशिष्ट व्यक्तिको नाममा सानसौकततका लागि सुरक्षाकर्मीको दुरुपयोग अझै रोकिएको छैन। पहुँचवालाहरुले सुरक्षाकर्मीलाई आफ्नो घरायसी काम समेत लगाउने गरेका छन्।

‘भीभीआईपी र भीआईपीलाई मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्से कति छन्? १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो’, बैठकको अन्तिममा समितिका सभापति रामहरि खतिवडाले भने ।

समितिले मन्त्री र सरकारी पदाधिकारीले नियमले पाउनेभन्दा बढी लिएका सवारीसाधन फिर्ता गराउन पनि निर्देशन दिएको छ। मन्त्रीहरु र अन्य पदाधिकारीले परिवारका सदस्यका लागि समेत सरकारी गाडी लिएका उदाहरण छन्। मन्त्रीलाई रिझाउन मातहतका निकायका पदाधिकारीले गाडी दिनु परम्पराजस्तै बनिसकेको छ।