अर्काको मोबाइलको सिमकार्ड निकालेर बैंकिङ एप एक्टिभेट गर्दै रकम ट्रान्सफर‚ एक पक्राउ

बिजमाण्डू
२०८० असोज २ गते १०:२६ | Sep 19, 2023
अर्काको मोबाइलको सिमकार्ड निकालेर बैंकिङ एप एक्टिभेट गर्दै रकम ट्रान्सफर‚ एक पक्राउ


काठमाडौं। माेबाइलबाट सबै प्रकारका वित्तीय कारोबार सहज भएको बेला दुरुपयोगको जोखिम पनि उच्च भएको छ। सिम कार्ड हराउँदा‚ बिग्रिँदा वा नामसारी गर्दा झट्ट दिने टेलिकम कम्पनीले सम्बद्ध व्यक्ति पहिचानमा गम्भीर नहुँदा जोखिम बढेको हो। यस्तै एउटा घटनामा २२ वर्षका युवक पक्राउ परेका छन्।

Tata
GBIME

मोबाइलको सिमकार्ड डुप्लिकेसन गरी बैंकिङ एपबाट पैसा ट्रान्सफर गरेको अभियोगमा प्रहरीले काठमाडौं गोकर्णेश्वर-२ नयाँपाटी बस्ने काभ्रेको पाँचखाल-६ का २२ वर्षीय सरोज दिवालीलाई पक्राउ गरेको हो।

दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट अर्काको नामको मोबाइलको सिमकार्ड आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभेट गराएर उनले पैसा झिकेको आरोप छ। उनले अर्काको खाताबाट विभिन्न बैंकको खाता तथा वालेटहरुमा पटक-पटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरेको खुलेको प्रहरीले जनाएको छ।

सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनी पक्राउ परेका हुन्। ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।