
काठमाडौं। पर्याप्त तरलताका बाबजुद वाणिज्य बैंकहरुले असोजको ब्याजदर वृद्धि गरेपछि सेयर बजारले ओरालो यात्रा तय गरेको छ।
आइतबार बैंकहरुले असोजका लागि ब्याजदर बढेको सूचना प्रकाशित गरेका हुन्। जस लगत्तै खुलेको सेयर बजारमा लगानीकर्ताको मनोबल ह्वात्तै गिरेको हो।
नेप्से सूचक आइतबार ४२.१४ अंकले घटेको छ। गत साता दुई हजार विन्दु नाघिसकेको नेप्से आइतबार ब्याजदरको प्रभावले पुन: तल झरेको छ। १९६४ मा सूचक सीमित हुन पुगेको हो।
नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकले अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर दिने जनाएका छन्। जबकि भदौमा अधिकतम १०.८९ प्रतिशतसम्म ब्याजदर दिएका थिए।
विकास बैंकहरुको कार्टेलिङ निरन्तर छ। तर उनीहरुले ब्याजदर घटाएर व्यक्तिगत निक्षेपको ब्याजदर ११ र संस्थागततर्फको ९ प्रतिशतमा पुर्याएका छन्। भदौमा अधिकतम व्यक्तिगत तर्फ ११.१५ प्रतिशत र संस्थागत तर्फ ९.१५ प्रतिशत ब्याजदर दिएका थिए।
स्थानीय तहको पैसा पनि निक्षेपमा गणना गर्न पाउने भएपछि बैंकहरुको ब्याजदर घट्ने लगानीकर्ताको अनुमान थियो। अर्थमन्त्रीले पनि ब्याजदर घटाउने सर्तमा उक्त रकम प्रवाह गरेको हुँदा लगानीकर्ता ब्याजदर घट्नेमा ढुक्क थिए।
यसले तरलता थप सहज हुने र ब्याजदर घटाउन बैंकहरुलाई दबाब पर्ने प्रक्षेपण थियो। त्यही कारण मनोबल उचालिएर बजारले छोटो समय मै ७४ अंकको फराकिलो वृद्धि हासिल गरेको थियो। तर अनुमान उल्टिँदा लगानीकर्ताको मनोबल ह्वात्तै घटेको छ।