
काठमाडौं। शाहरुख खान अभिनित फिल्म ‘जवान’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। भदौ २१ गतेबाट रिलिज भएको फिल्मले घरेलु बक्स अफिसमा ४४०.४८ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको हो।
जवानले १० दिनमा ४४० करोड भारुको आँकडा पार गरेको हो। विश्वव्यापी रुपमा भने जवानले ७२५ करोड भारु कलेक्सन गरिसकेको छ।
योसँगै शाहरुख एकैवर्ष दुई हिट फिल्म दिएर सर्वाधिक कमाउने अभिनेताको पहिलो नम्बरमा पुगेका छन्। दुवै फिल्मको कमाई ९५३ करोड भारु पुगिसकेको छ।
यसअघि सन् २०१९ मा अक्षय कुमारले चार फिल्मबाट जम्मा ७५७ करोड भारु कमाएका थिए। अक्षय कुमारको रेकर्ड तोड्दै शाहरुख पहिलो स्थानमा आएका हुन्।
एटली कुमार निर्देशित जवानमा शाहरुखका साथै दक्षिण भारतका कलाकार विजय सेतुपति, नयनतारा पनि फिचर्ड छन्। फिल्ममा दीपिका पादुकोणको पनि स्पेशल अपियरेन्स छ।
रेड चिली प्रोडक्सन हाउसबाट बनेको फिल्ममा शाहरुखका साथै गौरी खानको लगानी छ। एक्सन र थ्रिलर विधाको यो फिल्म हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज भएको हो। यस फिल्मले किसानदेखि स्वास्थ्य व्यवस्था लगायतका विषयवस्तुलाई समेटेको छ।
शाहरुखको जवानले तोड्यो ‘पठान’को रेकर्ड
यस फिल्मले ७५ करोड कमाउँदै हिन्दी सिनेमाको इतिहासमै सबैभन्दा बढी ओपनिङ गर्ने फिल्मको रेकर्ड कायम गरेको छ। यसअघि शाहरुकै फिल्म ‘पठान’ ले ५७ करोड भारु कमाएको थियो।
जवानले पहिलो हप्ता ३९१ करोड कमाएर सातामा धेरै कमाउने फिल्मको रेकर्ड समेत बनाएको छ। यसअघि पठानले एक सातामा ३६४ करोडको व्यापार गरेको थियो।
त्यसैगरी, जवान पहिलो विकेन्डमा धेरै कमाउने फिल्म समेत बनेको छ। पहिलो विकेन्डमा २८६ करोड कमाउँदै जवानले पठानको रेकर्ड तोडेको हो। पठानले पहिलो विकेन्डमा २८१ करोडको रेकर्ड बनाएको थियो।