
काठमाडौं। तीज नजिकिएसँगै नेपाली सांगीतिक क्षेत्रका कलाकर्मी व्यस्त छन्। स्वदेशदेखि विदेशका तीजविशेष सांगीतिक कार्यक्रममा उनीहरु प्रस्तुति भइरहेको छ। बितेका वर्षहरुका तुलनामा यसपटक तीजका गीत र म्युजिक भिडियो निर्माणमा भने कमी आए पनि कलाकारले कन्सर्टमा सहभागिता घटाएका छैनन्।
युट्युवमा सार्वजनिक गीतहरुमा पनि कलाकारका अपेक्षाअनुसारको भ्युज बढ्न सकेको छैन। तर‚ यसपटक तीज गीतले माहोल बनाउन नसकेको अवस्थामा देशविदेशका कार्यक्रमले भने गायक-गायिकालाई केही राहत मिलेको छ। कलाकारका लागि कन्सर्टहरु आम्दानीको दरिलो स्रोत हो।
लोकदोहोरी गायक खुमन अधिकारीको तीजको कार्यक्रममा निकै माग हुने गर्छ। विदेशमै रहेका उनले केही दिनअघि मात्रै अस्ट्रेलियाको मेलबर्नमा भएको कार्यक्रममा दर्शक नचाएका थिए। ‘आज त भेट्न आउँदिन है काली’ जस्ता चर्चित तीज गीत गाएका उनी जापान र दुबईमा हुने ‘तीज विशेष सांस्कृतिक’ कार्यक्रममा गुञ्जिँदै छन्। दुबईमा हुने कार्यक्रममा खुमनसहित बद्री पंगेनीको पनि सांगीतिक प्रस्तुति रहने छ।
तीजको सिजनमा निकै व्यस्त हुने गायिका हुन् सुनिता दुलाल। केहीदिनअघि तीज कार्यक्रमकै लागि स्वीडेन पुगेकी सुनिता यतिखेर जर्मनीमा छिन्। जर्मनीमा शनिबार हुने ‘तीज साँझ विथ सुनिता दुलाल’ कार्यक्रममा उनी आफ्ना गीतहरु गाउनेछिन्। यसवर्ष ‘पियारी’, ‘यो रमाइलो तिजैमा’ गीत ल्याएकी सुनिताका फुलबुट्टे सारी, अब त मैले झुम्का लगाउँछु लगायतका तीजगीतहरु चर्चित छन्।
त्यस्तै, तीज कार्यक्रममा अत्यधिक खोजिने लोकगायक हुन् पशुपति शर्मा। उनी २० दिनअघि नै तीज विशेष कार्यक्रमकै लागि अस्ट्रेलिया पुगिसकेका छन्। अस्ट्रेलियाका विभिन्न सहरमा हुने कार्यक्रममा प्रस्तुति दिएर तीजपश्चात मात्रै नेपाल फर्किने उनले फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
शर्माका राधिका हमालसँगै गाएका ‘लरक्कै लर्कियो रातो सारी भुईमा’, ‘अचम्मै राम्रो नाच्छे मोरीले’ र देवी घर्तीसँग गाएका ‘हेर्न ओई बाटुली’ तीज गीतहरु निकै हिट छन्। यसपटकको तीजमा उनले ‘तीज आयो दर खाम्ला,’ ‘मादलुको खरी, मै राम्रो छैन क्यारे, किन बोलाउँदैन ?,’ ‘पुतली भुरुभुरु’ लगायतका तीज गीतहरुमा स्वर दिएका छन्।
गायिका राधिका हमाल यो वर्ष पनि स्वदेश तथा विदेशका तीज विशेष कार्यक्रममा व्यस्त छिन्। काठमाडौं, पोखरा, तनहुँमा दर्शक झुमाइसकेकी उनी सोमबार भने भारतको बैङ्गलोरको कार्यक्रममा सहभागी हुनेछिन्।
गायिका सिन्धु मल्ल पनि तीज कार्यक्रममै दौडधुप गरिरहेकी छन्। ‘चिटिक्कै भाछु रे’ लगायतका हिट तीज गीत गाएकी उनी आइतबार र सोमबार भारतमा हुने तीज विशेष कार्यक्रममा व्यस्त हुनेछिन्। बुधबार मात्रै उनी दरबारमार्गमा भएको तीज कार्यक्रममा प्रस्तुत भएकी थिइन्।
त्यस्तै, अहिलेकी चर्चित गायिका शान्तिश्री परियार केही समयदेखि तीज विशेष कार्यक्रमकै लागि विदेशमा छिन्। उनले अस्ट्रेलियाका विभिन्न सहरमा भइरहेका कार्यक्रममा पुगेर प्रस्तुति दिइरहेकी छन्। ‘अरेली काँडेले’ बोलको उनको तीज गीत यस वर्ष चलेको छ।
‘सोचेझै जिन्दगी रैनछ’ फेम्ड गायक खेम सेञ्चुरीले पनि अस्ट्रेलियामा तीज कार्यक्रममा गीत गाइसकेका छन्। खेमको स्वर रहेको ‘कमाउने नि हो, रमाउने नि हो’ यसवर्ष युट्युवमा सर्वाधिक रुचाइएको गीत हो। जसमा खेमसहित सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। केहीदिनअघि अष्ट्रेलियामा भएको कार्यक्रममा दुवै सांगीतिक प्रस्तुति दिएका थिए।
गायिका ज्योति मगरको पनि स्वदेशमा हुने महोत्सवमा व्यस्त छिन्। केही दिनअघि सुनसरीको चतरामा भएको महोत्सवमा गएकी उनको इच्छाकामना महोत्सव कुरिनटारमा पनि प्रस्तुती छ। बोल्ड प्रस्तुति दिएर दर्शक झुमाउने ज्योतिले यो वर्ष तीज गीत ‘सारी फरर’ ल्याएकी छन्।