पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई ‘एचपीभी’ खोप लगाउन थालियो

रोजन श्रेष्ठ
२०८० भदौ २८ गते १३:४० | Sep 14, 2023
पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई ‘एचपीभी’ खोप लगाउन थालियो


काठमाडौं। देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’का खोप लगाइँदैछ।

Tata
GBIME

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगिता कौशल मिश्राले पहिलो मात्राका लागि उमेर खुलेको आधिकारिक प्रमाण पुग्ने कागजात लिएर खोप लगाउन पाइने बताइन्। काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा पनि खोप दिइँदैछ।

परिवार कल्याण महाशाखाको निर्देशक डा विवेककुमार लालले देशभरका ६ वटा संघीय अस्पताल र प्रदेशका विभिन्न अस्पतालबाट किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ दिइँदैछ।

उक्त खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो। उक्त खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइँदै छ।

यसअघि सरकारले सन् २०१६-१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो।

‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ।

नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ। सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो।

अहिले पहिलो मात्रा दिइने र ६ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ।

एचपीभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन्।

खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ।