अबको चुनाव सोचेर नरुन कांग्रेसीलाई गगनको सुझाव, ‘केही दिनमा कांग्रेसकै प्रधानमन्त्री’

बिजमाण्डू
२०८० भदौ २७ गते १६:२४ | Sep 13, 2023
अबको चुनाव सोचेर नरुन कांग्रेसीलाई गगनको सुझाव, ‘केही दिनमा कांग्रेसकै प्रधानमन्त्री’


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन वा केही महिनामा सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने बताएका छन्। बुधबार पोखरा महानगरको सम्मेलनमा दिपेन्द्र सभागृहमा थापाले सरकारको नेतृत्व अब कांग्रेसले गर्ने भन्दै नेता कार्यकर्तालाई रुवाबासी नगर्न आग्रह गरे।

Tata
GBIME

२०८४ सालको निर्वाचनलाई लिएर कांग्रेसका नेता कार्यकर्ता चिन्तित भएको आफूले पाएको भन्दै उनले प्रश्न गरे, ‘अब केही दिनपछि हप्तापछि, नभए महिनापछि संघको प्रधानमन्त्री कांग्रेस। सबै प्रदेशको मुख्यमन्त्री कांग्रेस अनि ८४ मा चुनाव हारिन्छ भनेर रुवाबासी, रुवाबासी?,’ गगनले भने।

गएको निर्वाचनपछि कांग्रेस धेरै ठाउँमा सत्तामा पुगेको उल्लेख गर्दै गगनले २०८४ सालको निर्वाचन आउन अझै चार वर्ष बाँकी रहेको बताए। जताततै चुनाव जितेको कांग्रेस अहिले रुनुपर्ने अवस्था नरहेको गगनको भनाइ थियो।

‘मैले अहिले कांग्रेस रोएको भेट्छु चुनाव हारिन्छ चुनाव हारिन्छ भनेर। नेपाली कांग्रेस त्यो हैन,’ थापाले भने, ‘गण्डकीमा गए यही मुख्यमन्त्री। लुम्बिनीमा गए त्यही मुख्यमन्त्री। सुदुरपश्चिम गए त्यही मुख्यमन्त्री। यता ठोक्किए वडाध्यक्ष। उता ठोके उपमेयर। त्यता ठोके अध्यक्ष। ३३२ वटा पालिकाको अध्यक्ष मञ्चभरि अटाइनअटाई बस्छन्। चुनाव लड्छ जित्छ। अनि देशभरीको कार्यक्रममा गयो भने कांग्रेसमा रुवाबासी छ। रुवाबासी चै किन रे भने ८४ सालमा चुनाव हारिन्छ भनेर। ८० सालमा चुनाव जित्ने। चुनाव आउन ४ वर्ष बाँकी छ।’

गगनले कांग्रेस ठूलो पार्टी भएको भन्दै थप भने, ‘कांग्रेसले आफ्नो धर्म निर्वाह गरेन रे। फल के आउँछ चिन्ता गरेर बस्ने। आजको हाम्रो धर्म के हो। ७९ सालमा चुनाव भयो। जताततै चुनाव जितेको छ। संघमा चुनाव जितेको छ ठुलो पार्टी बनेको छ।’

गिरिजाले खोजेका पात्र नेम्वाङ

सो कार्यक्रममा महामन्त्री थापाले एमाले उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरे। गिरिजाप्रसाद कोइरालाले संविधानसभाको अध्यक्षता गर्ने उपयुक्त पात्रको खोजी गर्दा नेम्वाङ भेटिएको थापाको भनाइ थियो।

‘सरल संघर्षशील सहयात्री गुमाउँदै गर्दा नेपाली कांग्रेसका साथीहरु स्तब्ध भयौं। २०६२/६२ को आन्दोलन लगत्तै आन्दोलनका कमान्ड गिरिजाप्रसाद कोइरालाले एउटा यस्तो पात्र सभामुखका रुपमा चाहिएको थियो,’ थापाले भने, ‘जोसँग आन्दोलनको जोश पनि होस तर आन्दोलनको जोशसंगै भिन्न आकंक्षाहरुको बीचमा समन्जस्ता ल्याउन सक्ने होस पनि होस्। त्यस्तो पात्रको खोजीमा सुवास नेम्बाङ गिरिजाप्रसादले रोज्नुभयो। जुन पछि प्रमाणित पनि भयो।’

नेम्वाङकै कारण संविधान जारी गर्न सहज भएको उनले बताए।

‘पहिलो संविधानसभामा काम गर्न पाएँ। समन्यवकारी भूमिकामा उहाँ हुनुहुन्थ्यो। संविधानसभा भंग हुन लाग्दा तपाईं हस्तक्षेपकारी हुनुपर्थ्यो भनेर हामीले सुझाव दियौं,’ थापाले भने, ‘दोस्रो संविधान सभामा सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। संविधान घोषणा गरेको क्षणमा द्विविधा थिए। सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुहुन्थ्यो। उहाँको निर्णायक भूमिका रह्यो त्यतिबेला। उहाँको दृढताकै कारण संविधान सार्वजनिक गर्न सफल भयौं।’